PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डा. केसी भर्सेज शिक्षामन्त्री पोखरेल: जुहारी कहिलेसम्म?



सागर बुढाथोकी

डा. केसी भर्सेज शिक्षामन्त्री पोखरेल: जुहारी कहिलेसम्म?

'शिक्षामन्त्री गिरिराजमणि पोखरेल रहुन्जेल चिकित्सा शिक्षा विधेयक पारित हुन्न। उनी माफियाका मतियार हुन' -  डा गोविन्द केसी।

'डा केसीकै कारण विधेयक पारित नभएको हो। छलफलका लागि उनी आएनन्'- शिक्षामन्त्री पोखरेल।

डा. गोविन्द केसी र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पछिल्लो समयको अभिव्यक्ति हो यो। उनीहरू बीचमा यसरी नै जुहारी चलिरहेको छ। डा.केसी आक्रोशित छन्। उनको आक्रोश देख्दा दशैँको मुखमा अनशन नबस्लान् भन्न सकिन्न। उनको अनशन इतिहासले पनि त्यस्तै देखाउँछ। पत्रकार सम्मेलन गरेर उनले भनिसकेका छन्, 'म जुनसुकै बेला जहाँ गएर पनि अनशन बस्न सक्छु। बिना जानकारी नै।'

तीन महिनाअघि २७ दिन लामो अनशन तोड्दा भएको सम्झौता कार्यन्वयनमा ढिलाई केसी आक्रोशित हुनुको कारण हो। सम्झौता कार्यन्वयनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले 'भिलेन'को रोल खेलेको आरोप छ उनको। शिक्षामन्त्री पोखरेलले नर्सिङ र अरू प्राविधिक विषयलाई सम्बन्धन दिन चलखेल गर्नकै लागि संसद्को दोस्रो अधिवेशनबाट विधेयक पारित नगराएको उनी बताउँछन्। केसीले पत्रकार सम्मेलनमार्फत शिक्षामन्त्री पोखरेल पदमा बस्न उपयुक्त नभएको भन्दै राजीनामाको माग गरिसकेका छन्।

शिक्षामन्त्री पोखरेलको विरुद्धमा डा. केसी पहिलोपटक दिएको अभिव्यक्ति हैन यो। उनले १५ औँ अनशन बस्नुअघि पनि शिक्षामन्त्री पोखरेलविरुद्ध यस्तो अभिव्यक्ति दिइसकेका छन्। डा. केसी र गिरीराजमणि पोखरेलबीच १५औँ अनशनदेखि नै जुहारी चलेको छ। डा. केसीको अभिव्यक्ति आउने बित्तिकै शिक्षामन्त्री पोखरेल पनि 'रियाक्सन' जनाइहाल्छन्।

चार दिनअघि डा. केसीले पत्रकार सम्मेलन गरेर चेतावनी दिए, ' यही अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए म अनशन बस्छु।'

त्यसको भोलिपल्ट संसद्को दोस्रो अधिवेशन सकियो। चिकित्सा शिक्षा विधेयक पारित भएन। डा. केसीले फेरि भने, 'शिक्षा मन्त्री पोखरेलले नर्सिङ र अन्य प्राविधिक विषय पढाउने कलेजलाई मागी खाने भाँडो बनाएका छन्। उनकै घृणित स्वार्थका कारण सम्झौता कार्यान्वयन भएन।'

केसी त्यति बोलेर चुप भएनन्। संसद्को दोस्रो अधिवेशन सकिने बिहान शिक्षामन्त्रीको तर्फबाट 'ब्ल्याकमेल' गर्न टेलिफोन आएको समेत बताए। शिक्षा मन्त्रालयबाट नर्सिङ कलेजहरूलाई सम्बन्धन दिने व्यवस्था गरे सोही दिन विधेयक पारित हुने भनेर ब्लायकमेल गरेको केसीको आरोप छ।


पढ्नुस्ः शिक्षामन्त्रीको तर्फबाट डा. केसीलाई आएको त्यो कल जसका कारण चिकित्सा शिक्षा विधेयक पारित भएन

केसी आक्रोशित हुँदै शिक्षामन्त्रीको राजीनामा माग गरेको भोलिपल्टै शिक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्‍यो। डा.केसी र सम्बद्ध पक्षहरूसँग सम्पर्क र छलफल गर्ने प्रयत्न भएको भए पनि केसी पक्षले सम्पर्क गर्न नचाहेको विज्ञप्तिमा उल्लेख थियो। डा केसी पक्षको कारण विधेयक पारित हुन ढिला भएको आशय विज्ञप्तिमा व्यक्त थियो।

यसरी शिक्षामन्त्रीले डा. केसीसँग जुहारी खेले। यसअघि पनि यस्तै जुहारी उनीहरुबीच भइरहेको थियो। जुहारीको 'चुरो' भने चिकित्सा शिक्षा विधेयक हो।

चिकित्सा शिक्षा विधेयकमा विवाद भएको लामो समय बितिसकेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारबाट हट्दै गर्दा डा. केसीले भने बमोजिम नै अध्यादेश जारी गरेको थियो। अध्यादेश प्रतिस्थापन नभएपछि वर्तमान सरकारले पुनः वैशाख १३ मा त्यसैको निरन्तरताका लागि अध्यादेश नै जारी गरेको थियो। तर, प्रतिस्थापन विधेयक भने सरकारले फरक गरी ल्यायो। अध्यादेशका धेरै व्यवस्था प्रतिस्थापन विधेयकमा अटेनन्।

त्यसपछि केसी आक्रोशित हुँदै शिक्षामन्त्री पोखरेल माफियाको मतियार भएकाले अध्यादेशमा आफ्नो माग हटाएको बताएका थिए। डा केसीले  त्यति बेला पनि भनेका थिए, 'चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सहज र सुलभ बनाउनेभन्दा पनि कलेज सञ्चालकलाई फाइदा पुग्नेगरि विधेयक ल्याइयो। यसमा गिरिराजमणि पोखरेलको ठूलो स्वार्थ छ। उनी मेडिकल माफियाका मतियार हुन्।'
 

पढ्नुस‍्ः स्वास्थ्य र शिक्षा मन्त्रालयले निर्णय नसच्याए डा केसी कडा आन्दोलनमा जाने

त्यसको लगत्तै शिक्षामन्त्री पोखरेलले 'डा केसीले भने अनुसार हुने हो भने संसद् किन चाहियो ?' भनेर प्रश्न गरेका थिए। संसदमा गइसकेको विधेयक कांग्रेसले असयोग गरे पनि अघि बढ्ने उनको तर्क थियो। दुई तिहाइको बलले विधेयक पारित गर्ने अभिव्यक्ति दिएका थिए उनले।


पढ्नुस्ः शिक्षामन्त्रीको प्रश्न : केसीको कुरामात्रै मानेर जाने भए संसदको औचित्य के?  

लगत्तै निजी मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने व्यवस्था राखिएको विधेयक संसदमा दर्ता भयो। डा.केसी अनशन बस्न जुम्ला हिँडे। केसी जुम्लामा अनशन बसिरहँदा 'कोही अनशन बस्दैमा सरकार डराउँदैन, मेडिकल कलेज खोल्न रोकिन्न'  भन्ने अभिव्यक्ति दिँदै शिक्षामन्त्री पोखरेल हिँडिरहे।

तर, केसीको अनशनको अगाडि सरकार झुक्यो। अनशनको २७ दिनपछि उनकै माग अनुसार सरकारले सम्झौता गर्‍यो। केसी सम्झौता कार्यान्वयन हुने आशामा बसे।

प्रधानमन्त्रीसँग भेट गर्दै सम्झौता चाँडै कार्यान्वयन गर्न आग्रह गरे। तर, अहिले आएर चिकित्सा शिक्षा विधेयक पारित भएन। डा केसीले शिक्षामन्त्री पोखरेललाई पहिलेको झैँ आरोप लगाए, 'शिक्षामन्त्री पोखरेल माफियाको मतियार हुन्। उनी शिक्षामन्त्री रहुन्जेल चिकित्सा शिक्षा विधेयक पास हुन्न।'

शिक्षामन्त्री पोखरेल  सधैँ नै आफू माफियाको मतियार र कसैको ट्रयापमा परेर काम नगरेको भन्दै खण्डन गर्छन्। यसपालि पनि उनले त्यस्तै  प्रतिक्रिया दिँदै केसीलाई चुनौती दिए,  'अनशन बसेर यो भएन र त्यो भएन भन्नेले नेतृत्व लिएर काम गर्न सक्नुपर्छ।'

यसरी नै उनीहरुबीच जुहारी लम्बिँदै गएको छ।

सरकारले केसीसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा केसीले भनेझैँ शिक्षामन्त्री पोखरेल माफियाको मतियार भएको प्रचार भइरहेको छ। पोखरेलले सम्झौता अनुसार काम नगरी केसीका अभिव्यक्तिमा रियाक्शन जनाउनुले पनि उनको छवि धुमिल्याइरहेको छ।

डा.केसी यति बेला अनशन बस्ने तयारी गरिरहेका छन् भने मन्त्री पोखरेल आफूलाई बचाउ गर्दै डा. केसीसँग जुहारी खेलिरहेका छन्। यसो हुँदा न डा केसीको माग पूरा भएका छन् न त पोखरेलको छवि सुध्रिएको नै। आखिर यो जुहारी के का लागि र कहिलेसम्म?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell