PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल ८ विकेटले विजयी, सन्दीपको ४ विकेट



पहिलोपोस्ट

नेपाल ८ विकेटले विजयी, सन्दीपको ४ विकेट

काठमाडौँ : आइसीसी टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा बुधवारबाट सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हरायो।

म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। त्यसअघि सन्दीप लामिछानेले ४ र ललित नारायण राजवंशीको ३ विकेट लिएपछि नेपालले म्याने म्यानमारलाई १० ओभरभित्र २९ रनमा अलआउट गर्‍यो।

कमजोर म्यानमार विरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेपनि ब्याटिङमा भने नेपालले सुरुमै विकेट गुमाएको थियो। प्रदिप ऐरी पहिलो ओभरको दोस्रो बलमा खाता नखोली आउट भए। तेस्रो नम्बरमा ब्याटिङ गरेका अनिल शाहले ५ बल खेल्दै एक चौका र एक छक्काको मद्दतमा ११ रन बनाए।

ओपनर  विनोद भण्डारी एक रनमा नटआउट रहे। नेपालको जितमा करण केसीले नटआउट रहदै सर्वाधिक १४ रन बनाए। ८ बल खेलेका करणले एक चौका र एक छक्का प्रहार गरे। 

नेपालको बलिङ सामु टिक्न नसकेको म्यानमारका लागि कप्तान एच लिङ अङले मात्र दोहोरो अंक छुन सके। उनले १६ रन बनाए। म्यानमारका ६ खेलाडीले दोहोरो अंक छुन सकेनन्। 

सन्दीपले २ ओभरमा ३ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए। ३ ओभर बलिङ गरेका ललित राजवंशीले २ मेडन राख्दै ३ रन खर्चेर ३ विकेट लिए। ललित भण्डारी र करण केसीले १-१ विकेट लिए। म्यानमारका एस वाई र पिएङ दानुले एक-एक विकेट लिए।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell