PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टी-२० वर्ल्डकप क्वालिफायर : नेपालको लगातार दोस्रो जित, सन्दीपको ५ विकेट, पारसको अर्धशतक



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायर : नेपालको लगातार दोस्रो जित, सन्दीपको ५ विकेट, पारसको अर्धशतक
फोटो : रमन शिवाकोटी

काठमाडौँ : सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा मलेसियालाई ८ विकेटले पराजित गरेको छ।

मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।

क्वालिफायरमा नेपाललाई लगातार दोस्रो जित दिलाउन बलिङमा सन्दीप लामिछानले ५ विकेट लिँदा ब्याटिङमा कप्तान पारसले नटआउट ५२ रन बनाए। पारसले ३५ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पुरा गरेका थिए। उनले ३७ बल खेल्दै नटआउट ५२ रन बनाए। यस्तै ज्ञानेन्द्र मल्लले २४ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा नटआउट २७ रन जोडे। ज्ञानेन्द्रले १३औँ ओभरको चौथो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए।

तेस्रो नम्बरमा ब्याटिङ गरेका पारसले तेस्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग अर्धशतकिय साझेदारी गरे। यी दुईले ३५ बलमा नटआउट ६९ रनको साझेदारी गरे।

नेपालका ओपनर अनिल शाह (१) दोस्रो ओभरमै आउट भएका थिए। अर्का ओपनर विनोद भण्डारीले १२ बल खेलेर १२ रन बनाए। मलेसियाका सायद अजिज र पभवदिप सिंहले १-१ विकेट लिए।

त्यसअघि क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९.३ ओभरमा १०० रनमा अलआउट भएको थियो।

मलेसियालाई अलआउट गर्न नेपालका सन्दीपल लामिछानेले सर्वाधिक ५ विकेट लिए भने सोमपाल कामीले ३ विकेट झारे।

मलेसियाका लागि विकेटकिपर ब्याट्सम्यान सफिक सरिफले सर्वाधिक ४९ रन बनाए। मलेसियाले राम्रो सुरुवात गर्दै पहिलो विकेटको लागि ३० रनको साझेदारी गरेपनि सन्दीपले सैइद अजिज र सफिक सरिफको साझेदारी तोडेका थिए। उनले पाँचौ ओभरमा अजिजलाई १३ रनमा आउट गर्दै नेपाललाई पहिलो विकेट दिलाएका थिए।

सन्दीपले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिएका हुन्। उनले सर्वाधिक ४९ रन बनाएका सरिफसहित सुहान अलागारतनम (५) भिरनदिप सिंह र स्याज्रुल इद्रुस (०) को विकेट लिए। मलेसियाका लागि सरिफ र अजिजबाहेक बाँकी ९ खेलाडीले दोहोरो अंक छुन सकेनन्। सन्दीपले म्यानमार विरुद्ध पहिलो खेलमा ४ विकेट लिएका थिए।

यस्तै सोमपाल कामीले ३.३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने कप्तान पारसले १ विकेट लिए। मलेसियाका एक खेलाडी रनआउट भए।

लगातार दुई खेल जितेपछि ४ अंक सहित नेपाल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। ३ खेलबाट मलेसियाको भने ३ अंक छ।

यस्तै आजै भएको खेलमा चीनलाई १० विकेटले पराजित गरेको सिंगापुरले २ खेलबाट ४ अंक नै जोडेको र रनरेटमा अगाडी रहँदै शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell