- उद्धव थापा -
तथ्यांक अनुसार, गत आर्थिक बर्षमा ह्वीस्कीको आयात बढेको देखिएको छ भने भोड्का र बियरको आयात घटेको छ। गत आर्थिक बर्ष ८१ करोड ५० लाख रुपैयाँ बराबरको ह्वीस्की आयात भएको केन्द्रको तथ्याङ्क छ। अघिल्लो आर्थिक बर्षमा ७९ करोड १५ हजार मूल्य बराबरको ह्वीस्की आयात भएको थियो। आर्थिक बर्ष २०७२/०७३ मा ६७ करोड ३८ लाख रुपैयाँ बराबरको ह्वीस्की आयात भएको केन्द्रको तथ्यांङ्कमा उल्लेख छ।
नेपालमा सबैभन्दा धेरै बेलायतबाट ह्वीस्की आयात हुने गरेको छ। गत आर्थिक बर्षमा मात्रै ६५ करोड ९८ लाख रुपैयाँ मूल्य बराबरको ३ लाख २७ हजार ८ सय १३ लिटर ह्वीस्की आयात भएको तथ्यांक छ। त्यसपछि भने अमेरिकाबाट ८ करोड ५७ लाख ३७ हजार मूल्य बराबरको ६७ हजार लिटर ह्वीस्की आयात भएको थियो। यस बाहेक नेपालमा फ्रान्स, स्वीडेन, जापन, आयरल्याण्ड, मेक्सिको र इरानबाट ह्वीस्की आयात हुने गरेका छन्।
भोड्का र बियरको आयात भने निकै घटेको छ। गत आर्थिक वर्षमा ५ करोड ४६ लाख २९ हजार मूल्य बराबरको बियर आयात भएको छ। अघिल्लो आर्थिक बर्ष २०७३/०७४ मा ७ करोड ११ लाख ८० हजार रुपैयाँ बराबरको बियर आयात भएको थियो। नेपालमा अमेरिका, बेल्जियम, मेक्सिको, फ्रान्स, जर्मनी लगायतका देशबाट धेरै बियर आयात हुने गरेका छन्।
गत आर्थिक वर्षमा भोड्काको आयात पनि घटेको तथ्याङ्क छ। अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा २ करोड ५० लाख रुपैयाँ बराबरको भोड्का आयात भएकोमा गत आर्थिक वर्षमा घटेर ५ करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको मात्रै भोड्का आयात भएको छ।
तर, स्पार्कलिंग वाइनको आयात भने दोब्बरले बढेको छ । गत आर्थिक वर्ष मात्रै ३५ करोड ९२ लाख रुपैयाँ बराबरको स्पार्कलिंग वाइन आयात भएको छ। अघिल्लो आर्थिक बर्ष २०७३/०७४ मा १७ करोड ९९ लाख रुपैयाँ बराबरको स्पार्कलिंग वाइनको आयात भएको थियो।
किन बढ्यो ह्वीस्की, कसरी घट्यो बियर र भोड्का ?
नेपाली बजारमा सबैभन्दा धेरै खपत हुने बियर र भोड्काको आयात घट्दा ह्वीस्कीको आयात निरन्तर बढ्नुमा भने सरकारको कर नीति मूख्य रहेको व्यवसायीहरुले बताएका छन्। सरकारले स्वदेशी र विदेशी मदिरामा समान दरको अन्तःशूल्क लगाउँदै आएको छ। यसको प्रभाव भने मदिराको आयातमा देखिएको छ।मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीका अनुसार मदिरामा समान दरले अन्तःशूल्क लगाउँदा नेपाली उत्पादनको मूल्य बढेको र त्यसको तुलनामा विदेशी मदिराको मूल्य थोरै मात्रै बढ्दा उपभोक्ताले विदेशी ब्राण्डका मदिरा रोज्ने गरेका छन्। यही कारण ह्वीस्कीको आयात बढेको हो। नेपाली कम्पनीले उत्पादन गरेको ह्वीस्की गुणस्तरीय हुँदाहुँदै पनि विदेशी उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको अध्यक्ष केसी बताउँछन्।
सरकारले अघिल्लो वर्ष मदिरामा ७ देखि १० प्रतिशत अन्तःशुल्क बढाएको थियो। ५० युपीका मदिरामा १४४ रुपैयाँ अन्तःशुल्क कायम गरेको थियो।
यस वर्षको बजेट वक्तव्य मार्फत पनि सरकारले मदिरामा उच्च दरले अन्तःशूल्क बढाएको छ। बजेटबाट ५० यूपीसम्मका मदिरालाई बढी कर लगाइएको छ। ५० यूपीका एक केश मदिरामा यसअघि १ हजार २ सय ४४ रुपैयाँ अन्तशूल्क तिर्नुपर्नेमा अहिले बढेर ३ हजार २ सय रुपैयाँसम्म पुगेको छ।
तर, बियर र भोड्का भने नेपाली उत्पादन नै बढी विक्री हुने गरेको केसी बताउँछन्। विदेशी गुणस्तरकै बियर र भोड्का नेपाली कम्पनीले उत्पादन गर्न थालेकाले यसको आयात निरन्तर घटिरहेको उनले बताए। ‘धेरै वटा कम्पनीले फरक–फरक ब्राण्डका उपभोक्ताका रोजाई अनुसारका बियर उत्पादन हुने गरेका छन्’, केसीले भने, ‘प्रतिस्पर्धि मूल्य र गुणस्तरका कारण पनि उपभोक्ताले स्वदेशी उत्पादन रुचाएका छन्।’ मुलुकभर ९० भन्दा बढी मदिरा उद्योग सञ्चालनमा छन्।