
दमक : राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले राजा महेन्द्रले ल्याएको पुनर्वासको योजनाले मधेसको सम्पत्ति, सभ्यता र अधिकार खोसिएको बताएका छन्।
दमकस्थित युथ नेट्वर्कले आयोजना गर्दै आएको ‘बैसि दुडुब'को छैटौं श्रृङ्खलामा राजनीतिक विश्लेषकहरु चन्द्रकिशोर र खगेन्द्र संग्रौलाबीच भएको अन्तर्क्रियामा संग्रौलाले भने,'संविधान त तीनै खोसिएकाहरुमाथिको दमनमा बनाइयो। फास्टट्र्याकमा। जसले मधेसको समस्या झनै जटिल बनाएको छ।'
उनले मधेसलाई सभ्यताको रुपमा व्याख्या गरे। भने, ‘पहिले मधेस थियो तराई थिएन। अहिले तराई मात्र छ मधेस छैन भन्ने सुनिन्छ। तर, मधेस सभ्यता हो, तराई भूगोल मात्र।'
संविधान मधेसी, थारु सिमान्तकृत लगायतको पक्षमा नभएकाले यो 'रक्तरंजित संविधान' लागू गर्न कठिन भएको बताए।
कार्यक्रममा विश्लेषक तथा लेखक चन्द्रकिशोरले मधेस जनता, मधेशी दल र मधेस नेता फरक कुराहरु हुन् र अब मधेशी दलले वैकल्पिक राजनीतिको बाटो खोज्न पर्ने धारणा व्यक्त गरे। भने,'मधेसको पिधमा रहेका कुराहरु केन्द्रमा आउन सकेका छैनन्। यदि मधेशी नेताले अभिव्यक्तिमा मात्र मधेसी जनताको कुरा उठाउने हो भने त्यो अन्याय हुन्छ।'
उनले मधेसका अग्ला मुद्दालाई होंचा मधेसी नेताहरुले अवमूल्यन गरेको तर्क राखे।
कार्यक्रममा दमकमा रहेका विद्यार्थी, सामाजिक, राजनीतिक कार्यमा सक्रिय एवं विभिन्न पेशामा संलग्नहरुले दुई वक्तासँग अन्तर्क्रिया समेत गरे।