PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सायनको दोस्रो पुस्तक विमोचनमा दुई 'सरप्राइज'



पहिलोपोस्ट

सायनको दोस्रो पुस्तक विमोचनमा दुई 'सरप्राइज'

कवि नवराज पराजुली एक्लै मञ्चमा देखिन्छन्। उनी आफ्नो कुरा सुनाउन थाल्छन्, एकोहोरो। 

'फ्याट्ट एसएलसी फेल भएँ। मेरो पठ्ठो बुद्धिले सोच्यो, अब जिन्दगी सक्कियो। उड्नु थियो आकाश-आकाश, पखेटा भाँचियो। बग्नु थियो नदीझैँ, किनारा भत्कियो। बढ्नु थियो जंगली झारझैँ, जरा काटियो।'
 
कवि बोल्दा लाग्छ उनी कुनै कविता सुनाउँदै छन्। बोल्दै जाँदा घटनाक्रम लम्बिन्छ र लाग्छ उनी कविता होइन कथा सुनाइरहेका छन्।
एसएलसी फेल भएको एक किशोरको कथा। एसएलसीमा फेल हुन्छ, फेल हुनुले उसमा परेको मानसिक असर पार्छ। लगत्तै अर्को घटना घट्छ जसले उसलाई फेल हुनुले दिएको पीडा बिर्साइ दिन्छ। तर सँगै उसको दिमागमा गम्भीर प्रश्न खडा गराउँछ। प्रश्न- जनकारबाहीमा परेकी युवतीलाई रंगे हात समात्दा किन केटीको मात्र हात समातियो? केटाको किन समातिएन?
 
नाट्यशैलीमा भएको न्यारेसन सक्किँदा लाग्छ- पराजुलीले कुनै कथा सुनाए। धेरैको कौतुहलता मेट्दै भने 'अब म मञ्चमा बोलाउन चाहन्छु यस निबन्धका लेखक रमेश सायनलाई'। 

उनले वाचन गरेको निबन्ध थियो। लेखक रमेश सायनले लेखेको 'फेल' जसलाई उनले सायनका लागि 'सरप्राइज' भन्दै कण्ठस्थ पारेका थिए। र लेखिएकै शब्द-शब्द हुबहु सुनाएका थिए।
 
सायनको दोस्रो पुस्तक 'छुटेका अनुहार' विमोचन समारोह उक्त सरप्राइजबाट सुरु भयो। त्यसपछि पुस्तक संवाद भयो। पराजुलीले प्रश्न सोधे सायनले जवाफ दिए। कार्यक्रममा सायनका लागि अर्को सरप्राइज रह्यो भिडियो प्रस्तुति जसमा उनका लागि क्यानडामा रहेका कवि नविन प्राचिन र साउथ कोरियामा रहेका साथीहरुले पठाएको शुभकामना सन्देश थियो।

कार्यक्रममा उनले भने 'मैले लेख्नुसँग बाँच्नुको स्वार्थ छ। मलाई मान्छेसँग समाजसँग एकदम धेरै रिस उठ्छ तर केही गर्न सक्दिन। केही गर्न नसक्दा आफैलाई शान्त बनाउन लेख्छु।' 

त्यसरीनै लेखिएका निबन्धहरुको संग्रहमा फरक शैली अपनाएको बताए। भने,'मैले आफ्नो कुरा बुझाउन सक्ने प्रयास गरेको छु।' 

पुस्तक रमेश सायन र उनकी पत्नी दीपा दाहालले मिलेर लोकार्पण गरे। लिपि बुक्सले प्रकाशन गरेको गैर आख्यान 'छुटेका अनुहारमा' १९ निबन्ध संग्रहित छन्। पुस्तकको बजार मूल्य ३४५ रहेको छ। लेखकको यसअघि 'भागेर भूगोलभरि' कविता संग्रह प्रकाशित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell