PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टी-२० वर्ल्डकप एसिया क्वालिफायर : नेपाल डीएल मेथडमा १४० रनले विजयी



पहिलोपोस्ट

टी-२० वर्ल्डकप एसिया क्वालिफायर : नेपाल डीएल मेथडमा १४० रनले विजयी
फोटो : रमन शिवाकोटी

काठमाडौँ : सन्दीप लामिछानेले लगातार दोस्रो पटक ५ विकेट लिएपछि मलेसियामा भइरहेको आइसीसी टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनल ग्रुप बी को खेलमा नेपालले थाइल्याण्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको छ।

नेपाली बलरले घाकम बलिङ गरेपछि १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले खराब ब्याटिङ गरेको थियो। वर्षाले खेल रोकिएपछि नेपाललाई विजयी घोषणा गरेको हो। 

लगातार तेस्रो जितपछि ३ खेलबाट ६ अंक जोडेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। यस्तै मलेसियालाई ४० रनले पराजित गर्दै लगातार ३ खेल नै जितेको सिंगापुरको पनि ६ अंक छ। रनरेटमा सिंगापुर नेपाल भन्दा पछि छ।

थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रन बनाउँदा खेल रोकिएको थियो। त्यसअघि सन्दीपले ३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिए। यस्तै ब्याटिङमा शानदार प्रदर्शन गरेका करण केसीले ३ विकेट लिए।

थाइल्याण्डका कुनै पनि खेलांडीले दोहोरो अंक छुन सकेनन्। वान्चना विइसक र जिअउल होकले बनाएको ७-७ नै थाइ इनिङ्सको व्यक्तिगत उच्च स्कोर बन्यो।

क्वालालम्पुरस्थि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। नेपालको लागी करण केसीले नटआउट ४० रन बनाए। आठौँ नम्बरमा ब्याटिङ गरेको करणले आक्रमक ब्याटिङ गर्दै १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि अनिल शाह र विनोद भण्डारीले २८ रनको साझेदारी गरेपनि विनोद ८ बलमा १५ रन बनाएर आउट भएपछि नेपालले नियमित विकेट गुमाएको थियो।

अन्तिम ओभरमा करण र सोमपाल मिलेर नेपालका लागि २४ रन जोडे। जसमा करणले लगातार तीन छक्का सहित २१ तथा सोमपालले ३ रन बनाए।

यस्तै शरद भेषावकरले ३४, दीपेन्द्र सिंह ऐरीले ३० तथा अनिल शाहले २५ रन जोडे। विनोद भण्डारीले १५ रन बनाए। आरिफ शेख ८, कप्तान पारस खड्का ५ र उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भए। थाइल्याण्डका लागि पी सनगार्डले ४ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell