PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टी-२० वर्ल्डकप क्वालिफायर : भुटान ३३ रनमा अलआउट, नेपाल ११७ रनले विजयी



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायर : भुटान ३३ रनमा अलआउट, नेपाल ११७ रनले विजयी
फोटो : रमन शिवाकोटी

काठमाडौँ : नेपाली बलरहरुले किफायती बलिङ गरेपछि आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायरको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको फराकिलो जित हात पारेको छ।

१५१ रनको लक्ष्य पछ्याएको भुटानलाई नेपालले ३३ रनमै अलआउट गर्‍यो। नेपालको धारिलो बलिङ सामु खुलेर खेल्न नसकेको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर ३३ रन मात्र बनाउन सक्यो। १६ रन हुँदा ९ विकेट गुमाएको भुटानले दशौँ विकेटका लागि १७ रनको साझेदारी गरेको थियो।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले ३-३ विकेट लिए। दुवै खेलाडीले ४ ओभर बलिङ गर्दा २/२ मेडन फाले। ललितले ४ र सन्दीपले ६ रन दिए।  बसन्त रेग्मीले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए। दीपेन्द्र सिंह ऐरी र शरद भेषावकरले १ विकेट लिए।
 

भुटानका लागि तेन्जिङ वाङछुक जुनियरले सर्वाधिक ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो। नेपालका लागि ओपनर प्रदिप ऐरीले सर्वाधिक ७५ रन बनाए। अनिल शाहले २७ रन जोडे।

लगातार चार खेल जित्दै ८ अंक जोडेको नेपाल एसिया रिजनल क्वालिफायरको दोस्रो चरणमा पुग्ने पक्का भएको छ। अब नेपाल समूह बी को क्वालिफायरमा चीन र सिंगापुरसँग खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell