PahiloPost

Dec 19, 2018 | ४ पुष २०७५


झोक्किएर प्रम निवास पुगेका राजपाका नेता भन्छन् : उहाँ नै पीडितजस्तो देखिनुभयो


बीपी साह

झोक्किएर प्रम निवास पुगेका राजपाका नेता भन्छन् : उहाँ नै पीडितजस्तो देखिनुभयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेकै दलले मुलुकमा 'सरकारको प्रत्याभूति नभएको' भन्दै प्रधानमन्त्रीसामु राेष प्रकट गरेकाे छ।

सरकारलाई समर्थन गरेको संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्रीलाई भेटेरै सरकारको आलोचना गरेको हो। सोमबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेर राजपा अध्यक्ष मण्डलका नेताहरुले सरकारको आलोचना गर्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै त्यसका लागि डेडलाइनसमेत दिएका छन्।

आफूहरुसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पाँचौं पटक ज्ञापनपत्र बुझाउन गएका राजपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई छठसम्म संविधान संशोधन र रेशम चौधरीको रिहाइको प्रक्रिया अगाडि नबढे समर्थन फिर्ता लिने समय तोकेका छन्।

‘छठ पर्वसम्म संविधान संशोधन र सांसद रेशम चौधरीको रिहाइको प्रक्रिया अगाडि नबढे हामीले दिएको समर्थन फिर्ता लिने समय सीमा तोकेको जानकारी प्रधानमन्त्रीलाई दिएका छौं,’ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पहिलोपोस्टसँग भने, ‘यस पटक हाम्रो माग सम्बोधन भएन भने हामी समर्थन फिर्ता लिनुको विकल्प रहने छैन। सोही जानकारी प्रधानमन्त्रीलाई दिएका छौं।’

‘देशमा बलात्कार, हत्या हिंसाको घटना बढ्दैछ। चिनीमा भ्रष्टाचार हुँदैछ। निजगढ विमान स्थल बनाउने नाममा चलखेल हुँदैछ,’ प्रधानमन्त्रीसँग आफूले राखेको विषय बारे जानकारी दिँदै यादवले भने,‘यो देशमा सरकार छ कि छैन भन्ने कुरा हामीलाई नै थाहा भएन।’
यादवको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले अपेक्षा गरे बमोजिमको सहयोग नपाएको बताए।

‘हामीसँग दुई तिहाइको सरकार छ तर अपेक्षित सहयोग पाएका छैनौं। कर्मचारीहरुले पनि सहयोग गरेका छैन। राम्रो काम गर्ने प्रयास गरे पनि प्रतिफल देखिएको छैन,’ राजपाका नेतासामु ओलीले दिएको प्रतिक्रिया यही थियो।

संविधान संशोधनको विषयमा छलफल अगाडि बढाउने आश्वासन दिँदै राजपाका नेतारुलाई ओलीले भने, ‘२७–२८ गते तिर फेरि हामी बसौं। निष्कर्षमा पुगौं।’

प्रधानमन्त्री ओली मधेशको मागका विषयमा यसअघिको भन्दा बढी लचक देखिएको प्रतिक्रिया राजपाका नेताहरुले दिए।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवका अनुसार प्रधानमन्त्री ओली यस पटक सहज ढंगले प्रस्तुत हुँदै रेशम चौधरीको रिहाइ र संविधान संशोधनको कुरा अगाडि बढाउने आश्वासन दिएका छन्।

‘हामीले ज्ञापन पत्र बुझायौं। आफ्नो कुरा राख्यौं तर प्रधानमन्त्री ज्यूले आफ्नो समस्याहरु सुनाउनु भयो,’ यादवले भने, ‘उहाँ आफै पीडित भएको जस्तो देखिनुभयो।’

राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई भेट्न दुई दिनदेखि समय माग गरिरहेका थिए। तर, उपलब्ध गराइएको थिएन।
सोमबार विभिन्न जिल्लामार्फत् सरकारलाई समर्थन फिर्ता लिने सहितको ज्ञापनपत्रको जानकारी पाएपछि प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे राजपाका नेताको विषयप्रति ध्यान केन्द्रित गरी साँझ ६ बजेका लागि समय उपलब्ध गराएका थिए।



झोक्किएर प्रम निवास पुगेका राजपाका नेता भन्छन् : उहाँ नै पीडितजस्तो देखिनुभयो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट