PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अघोरीमाथि लेखकहरुको समीक्षात्मक टिप्पणी कस्तो? लेखक के भन्छन्?



पहिलोपोस्ट

अघोरीमाथि लेखकहरुको समीक्षात्मक टिप्पणी कस्तो? लेखक के भन्छन्?

काठमाडौं : नेपाली कथा लेखन घटिरहेको अवस्थामा राजेन्द्र पराजुलीको भर्खरै प्रकाशित पुस्तक ‘अघोरी’ ले नयाँ उर्जा थपेको साहित्यकारहरुले बताएका छन्। मार्टिन चौतारीमा सोमबार आयोजित अन्तर्संवादमा सहभागीहरुले यस्तो धारणा राखेका हुन्। 

‘यो संग्रहमा विविध खालका पात्र छन्, विविध खालका कथा छन्। यसमा राजनीतिक विषयवस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगती र यथार्थ पनि प्रतिविम्बित भएका छन्,’ लेखक नयनराज पाण्डेले भने, ‘वर्तमानमा जे भइरहेको छ, हामीले त्यही लेख्ने हो। राजेन्द्रजी र म साथी पनि हौं। हामी दुवैका कतिपय कथामा उस्तै भावना, उस्तै हेराई पाउँछु म।’

साहित्यकार अर्चना थापाले ‘अघोरी’का धेरैवटा कथा पत्रकारिताको हेराइबाट, पत्रकारको बुझाइबाट आएजस्तो लाग्ने टिप्पणी गरिन्। ‘सायद जुन कुरा पत्रकारितामा लेख्न सम्भव छैन, त्यो कथाका रुपमा आएको होला,’ थापाले भनिन्, ‘कतिपय कथाले मलाई निकै तान्यो, तर कतिपयमा चाहिँ इन्डिङ ट्रिकी भएन जस्तो लाग्यो।'

लेखक पाण्डेले चाहिँ अघोरीका कतिपय कथालाई ‘ओपन इन्ड’ छाडिदिने शैली आफूलाई मन परेको उल्लेख गरे। ‘त्यसलाई पाठकहरुले आफैं बुझुन् भन्ने लेखकको मनसाय होला,’ उनले भने। 

छलफलको सञ्चालक यज्ञशले र अन्य सहभागीले गरेका प्रश्नहरुको जवाफ दिने क्रममा कथाकार पराजुलीले आफूलाई जे कुराले छोयो, त्यही लेखेको बताए। ‘म काँठको कथा लेख्छु, किनभने म काँठे हुँ। पत्रकारिताको कुरा लेख्छु, किनभने म पत्रकार पनि हुँ। मैले जे देखेँ, त्यो लेखेँ,’ उनले भने, ‘कसरी लेखेँ, किन लेखेँ, त्यसबारे बताइरहन मलाई त्यति रुची लाग्दैन। कथा आफैँले उत्तर दिन सकोस् भन्ने लाग्छ।’

किताब पब्लिसर्सद्वारा प्रकाशित ‘अघोरी’ कथाकार पराजुलीको सातौं कृति हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell