PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्मलाको हत्यारा कसरी खोज्ने? प्रहरीलाई विज्ञको सुझाव : पहिले विश्वास जित अनि भएको गल्ती स्वीकार 



पहिलोपोस्ट

निर्मलाको हत्यारा कसरी खोज्ने? प्रहरीलाई विज्ञको सुझाव : पहिले विश्वास जित अनि भएको गल्ती स्वीकार 

कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाले देशभर आक्रोश बढाउँदैछ तर प्रहरी अनुसन्धान गोलचक्कर घुमिरहेको छ।  अहिलेसम्म प्रहरीले अभियुक्त पहिचान गर्न सकेको छैन। पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी यो प्रकरणलाई नजिकबाट नियालिरहेका छन्। प्रहरीप्रति नै विश्वास गुम्दै गएको यो अवस्थालाई उनले ‘लामो समयपछि सङ्गठनभित्र आएको ठूलो सङ्कट’ का रुपमा विश्लेषण गरेका छन्। ठकुरी नेतृत्वको केन्द्रीय अनुसन्धान ब्युरोले २०५९ सालमा काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको खुकुरी प्रहार गरी हत्या भएको घटनाको १२ वर्षपछि अभियुक्त पक्राउ गर्न सफल भएको थियो। निर्मलाको हत्यारा पत्ता लगाउन सकिने गरी कसरी अनुसन्धान गर्न सकिन्छ, उनले सुझावसमेत दिएका छन्। 

  • हेमन्त मल्ल ठकुरी
निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा अहिले प्रहरीले गरेको अनुसन्धान नै नपत्याउने अवस्था सृजना भएको छ। कुन सत्य, कुन गलत तथ्य पत्याउनै गाह्रो भइरहेको छ। 

प्रहरीको अनुसन्धान माथि अविश्वास भए पनि अनुसन्धान गर्ने अन्तिम निकाय भनेको प्रहरी नै हो। न गृह मन्त्रालयले बनाउने समिति वा टोलीले यो गर्न सक्छ न त मानवअधिकार आयोगले। उनीहरुले प्रहरीलाई अनुसन्धानका लागि सहयोगसम्म गर्न सक्छन्। तर अहिले प्रहरीको अनुसन्धानलाई सर्वसाधारणले पत्याउने अवस्थामा नै छैनन्। प्रहरी नैतिक सङ्कटमा परेको छ। केही प्रहरी कसरी अनुसन्धान गर्ने भन्नेमा आत्तिएकासमेत छन्। 

तर उपाय नै नभएको भने हैन। नेपाल प्रहरीले अनुसन्धानको ट्रयाक समाउन सक्छ। प्रहरीसँग अनुसन्धान गर्न सक्ने क्षमता पनि छ। यसका लागि प्रहरीले सबैभन्दा पहिला प्रेस, सरकार र त्योसँगै सबैभन्दा महत्त्वपूर्ण सर्वसाधारणको विश्वास जित्न सक्नुपर्छ। 

सर्वसाधारणको विश्वास जित्न प्रेस र सरकार नै गतिलो सारथी हुनसक्छन्। सरकारले गठन गरेको समितिको प्रतिवेदनमा प्रहरीका गल्ती देखिएका छन्। यदि प्रहरीको गल्ती भए गल्तीहरु स्वीकार गर्न सक्नुपर्छ। अब विश्वास दिलाउन प्रहरीले यथार्थ खुलाउन सक्नुपर्छ। गल्तीहरू ढाकछोप गरेर विश्वास जित्न सकिँदैन। एउटा गल्ती छोप्न अर्को गल्ती गर्नु हुँदैन।

निर्मला प्रकरणमा मात्र होइन, अब थप पछिका घटनामा हुने अनुसन्धानमा पनि प्रहरी सधैँ शङ्काको घेरामा नै रहने अवस्था बनेको छ। त्यसैले प्रहरीको अनुसन्धानमा विश्वास गर्ने वातावरण बनाउन प्रहरीसामु चुनौति देख्दैछु। यो घटनाले प्रहरीले अनुसन्धान गरेका घटना कसरी पत्याउने भन्ने प्रश्न सर्वसाधारणले गर्ने प्रशस्त बाटो खोलिदिएको छ। 

विश्वासकै संकट

आगामी दिनमा हुने अनुसन्धान र प्रहरी सङ्गठनप्रति गुमेको विश्वास दिलाउनको लागि अब प्रहरी चुक्नु हुँदैन। जे भयो, भयो। तर अबको अनुसन्धान पनि शङ्कैशङ्का राखेर गर्ने हो भने भोलिका अनुसन्धानमा झनै नैतिक सङ्कट आउँछ।

निर्मला प्रकरणमा प्रहरी सङ्गठन प्रमुखमाथि नै विश्वास नभएको देखिएको छ। प्रहरी शङ्काको घेरामा छ। यो घेराबाट बाहिर निस्कने कसरी? यो जिम्मेवारी सबै तहका प्रहरीको हो। लामो समयपछि सङ्गठनभित्र यति ठूलो सङ्कट आएको छ। 

समय लम्बिँदै जाँदा एकपछि अर्को गर्दै अनुसन्धानमा खटिएका प्रहरीहरू कारबाहीमा परेका छन्।  अनुसन्धान गर्दै जाँदा प्रहरीबाट गल्ती हुनसक्छ। राम्रो नियतले गरेका काममा प्रहरीका गल्ती भएका उदाहरण पनि छन्। यस्तोमा गल्ती नियोजित हो वा होइन छुट्याउन सक्नुपर्छ। 
प्रहरीको युनिफर्म लगाउने सबै अनुसन्धानकर्ता हुँदैनन्। आ-आफ्नो क्षेत्रमा विशेष दख्खल हुन्छ। जटिल घटनामा अनुसन्धानमा काम गर्ने प्रहरी हामीसँग एकदमै सीमितमात्र छन्। नियोजित हो कि हैन भन्ने विश्लेषणै नगरी त्यस्तालाई पनि लाञ्छना लगाउने र कारबाही गर्न थालियो भने अवस्था अझ जटिल हुन्छ। 

राम्रो नियतले काम गर्दा गल्ती भयो भने त्यो जिम्मेवारी विभागको हो। विभाग प्रमुख, कमान्ड प्रमुखले जिम्मेवारी लिने कि नलिने? तर अहिले केही प्रहरी तर्सिएका छन्। विभाग प्रमुखले तल्लो तहका प्रहरीको संरक्षण र जिम्मेवारी नलिए भोलि प्रहरीले अनुसन्धानै गर्न छाड्ने अवस्था आउन सक्छ। प्रहरीले जागिर मात्र गर्न थाल्यो भने त भोलिका दिनमा समस्या झनै डरलाग्दो बन्छ। 

प्रहरीको अनुसन्धानमा लापरबाही भयो वा नियोजित गल्ती नै भयो भने पनि कारबाही एकै तरिकाले गर्नु हुँदैन। आदेश दिने र आदेश पालन गर्ने प्रहरीमा फरक हुन्छ। चेन अफ कमान्ड हुने संस्था हो प्रहरी। त्यसैले कसले गल्ती गर्‍यो, त्यो विचार गर्नुपर्छ। तर यहाँ सबै प्रहरीलाई एकै किसिमको कारबाही गर्न खोजिएको छ। यो गलत हो।

२०५९ सालमा भएको रानीबारी हत्याकाण्डमा पनि १८ वटा समिति बनेका थिए। १२ वर्षपछि प्रहरी घटनाको निष्कर्षमा पुगेको थियो। कुरा सबैका सुन्यौँ। शङ्का गरेका व्यक्तिलाई निगरानी पनि गर्‍यौँ। हामीले समितिका सबै प्रतिवेदन हेरेका थियौँ। उनीहरुको राय पनि लियौँ। कुनै समितिका ३ प्रतिशत कुरा, कुनैका ५ प्रतिशत कुनैका कति सुझाव शङ्का काम पनि लागे तर अनुसन्धान आफ्नै शैलीमा गर्‍यो। उनीहरूका सुझाव, अनुसन्धान मनन् गरेका थियो। प्रहरीले स्थानीय, आयोग, समिति सबैका कुरा सुन्नुपर्छ तर पूर्णरुपमा उनीहरूमा नै आश्रित भएर अनुसन्धान गर्ने, कारबाही थाल्ने गर्नुभएन।

निर्मला प्रकरणमा अहिलेसम्म अभियुक्त खुलेको छैन। शङ्कास्पद व्यक्तिको रूपमा अलग-अलग मानिसका नाम बाहिर आएका छन्। तर यथेष्ट प्रमाण छैन। प्रहरीले अभियुक्त पहिचान गरेपछि मात्र थप प्रश्न जन्मिने हो। 

प्रहरीले किन नक्कली अभियुक्त खडा गर्‍यो? कसलाई संरक्षण गरेको हो? प्रहरीले अनुसन्धान ट्रयाक किन बिगार्‍यो? अहिले यी प्रश्न अनुत्तरित छन्। अभियुक्त को भन्ने खुलेकै छैन। त्यसैले धेरै अनुमान पनि गर्नु हुँदैन।

नयाँ शिराबाट अनुसन्धान

प्रहरीले १२ वर्ष पुरानो घटनाको पनि अनुसन्धान गर्न सफल भएका उदाहरण छन्। निर्मला हत्या भएको ३ महिना पनि भएको छैन। अझै नयाँ शिराबाट अनुसन्धान गरे प्रहरी हत्यारासम्म अवश्य पुग्न सक्छ। तर प्रहरीले अब गरेको अनुसन्धान सबैले पत्याउने वातावरण बन्नुपर्छ। सर्वसाधारण मात्रले होइन, सरकार र प्रहरी विभागभित्रकै कर्मचारीले समेत पत्याउने र चित्त बुझाउने गरी प्रहरीले काम गर्न सक्नुपर्छ। 

अहिले निर्मला प्रकरणमा विभिन्न व्यक्तिमाथि शंका गरिएका छन्। भोलि अनुसन्धान गर्दै जाँदा माछो-माछो भ्यागुतो पनि हुनसक्छ। तर प्रहरीको अनुसन्धान नपत्याउने हो भने जोसुकै अभियुक्त भए पनि फरक पर्नेवाला छैन। एक जनाले एउटा अभियुक्त, अर्कोले अर्को अभियुक्त भन्दै हिँड्ने अवस्था आउनु हुँदैन।

निर्मला प्रकरण २०३८ सालको नमिता सुनीता प्रकरण जस्तै हुँदैछ। पोखरामा भएको बलात्कार र हत्याको यो घटनामा सबै सङ्केत दरबारतिर नै थियो। सबैमा एउटै छाप बनाएको थियो। निर्मला प्रकरणमा पनि झन्डै-झन्डै त्यस्तै हुँदैछ। यो छाप चिर्नसक्नुपर्छ। प्रहरी अब पनि अनुसन्धानमा चुके साँच्चै नालायक साबित हुनेछ। अनुसन्धानमा पोख्त प्रहरीलाई अनुसन्धानको जिम्मेवारी सुम्पिनु पर्छ। सरकार र अन्य निकायले पनि प्रहरीलाई दबाब नदिई स्वतन्त्र ढंगले अनुसन्धान गर्न दिए निर्मलाको हत्यारा पत्ता लाग्छ।

(ठकुरीसित सविन ढकालले गरेको कुराकानीमा आधारित)



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell