PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘वामदेवको चुनावी यात्राः आक्रमक कार्यकर्ता, रक्षात्मक बन्दै प्रस्तावक प्रचण्ड'



पहिलोपोस्ट

‘वामदेवको चुनावी यात्राः आक्रमक कार्यकर्ता, रक्षात्मक बन्दै प्रस्तावक प्रचण्ड'

काठमाडौँः नेपालको राजनीतिमा विभिन्न रूपमा चर्चामा आइरहने पात्र हुन वामदेव गौतम। पदमा रहँदा होस् वा नरहँदा, वामदेवका कतिपय 'मुभ' चर्चामा रहन्छन्। कहिले माओवादीसँगको निकटता, कहिले पार्टीभित्रै प्रधानमन्त्रीको दाबेदारिता उनको चर्चाको विषय बन्छ। पार्टीको विग्रह र संयोजन अली पुरानै घटना।

राजनीतिक रुपमा अस्थिर, आर्थिक मामलामा ‘उदारता’ सार्वजनिक रुपमा समेत गौतममाथि टिप्पणी बन्छन्। गौतमका कतिपय सामान्य हर्कत् अखबारका हेडलाइनमात्र बन्दैनन्, सामाजिक रुपमा आलोच्य घटना बन्छन्।

चर्चामा रहिरहने गौतम पूर्व आइजीपी अच्युतकृष्ण खरेलको आत्मकथाकै कारण पनि चर्चामा थिए।

गौतमले खरेलको आरोप चरित्रहीन भनेर खण्डन गर्न नपाउँदै फेरि उनी अखबारको हेडलाइन बने –यसपटक वामदेव चर्चामा आउने सूत्र थियो नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ ७ मा उपनिर्वाचन गराई उनलाई उम्मेदवार बनाउने प्रस्ताव।


निरन्तरको चर्चा, उम्मेदवारको प्रस्ताव

०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्ने तत्कालीन एमालेका वरिष्ठ मध्येका एक नेता थिए गौतम। हाइप्रोफाइलको पराजय चर्चाकै विषय बन्यो। वामदेव र निकट कार्यकर्ताको दबाबकै कारण चुनावमा अन्तर्घात भएको भन्दै छानबिन कमिटी नै बन्यो। कमिटी बने पनि उनको चर्चा सेलाएन।

निर्वाचनको केही महिनामै डोल्पा, बाँके लगायतका क्षेत्रबाट उनी उपनिर्वाचनमा भाग लिने चर्चा चलिरह्यो। उपनिर्वाचनका ती चर्चा सामान्य थिए। तर, अहिलेको चर्चा फरक छ। पार्टी सचिवालयले निर्णय गर्न सके गौतम काठमाडौँ ७ बाट उपनिर्वाचनका लागि उम्मेदवार बन्दैछन्।

०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भए। पराजित भएयता गौतमले तत्कालीन एमाले र नवगठित नेकपाका हरेक बैठकमा एउटा प्रश्न सोध्न कहिल्यै छाडेनन्।

शीर्ष नेतासँग वामदेवको प्रश्न हुन्छ ‘२४ हजार मतान्तर भएको बर्दियामा म आठ सय हाराहारीले हारेँ। यसको जवाफ कसले दिने हो? कहिले दिने हो?’

वामदेवले यी प्रश्नको जवाफ पाएका छैनन्। तर, घुमाउरो रूपमा आफूलाई संसदमा कुनै पनि प्रक्रियाबाट ल्याउन दबाव भने दिइरहेका छन्। दबावस्वरुप नै बहालवाला सांसदलाई राजीनामा गराएर वामदेवका लागि निर्वाचनको बाटो खोल्ने प्रयत्न जारी छ।

 

आक्रमक नेता/कार्यकर्ता

प्रस्ताव आएकै दिन रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलले उपनिर्वाचनको विरोध गरे। पोखरेलले खुलेरै उपनिर्वाचन र प्रस्तावको विरोध गरे।

भीम रावल लगायतका नेताहरू समेत बामदेवको विपक्षमा उभिएका छन्। उपनिर्वाचनको औचित्यमाथि उनीहरूले प्रश्न गरेका छन्।

०७० को दोस्रो संविधानसभा निर्वाचनका गौतमको चुनावी कमान्डर सूर्य थापाले तिखो टिप्पणी लेखेका छन्। थापा ०७० मा प्युठानमा गौतमका चुनावी कमान्डर थिए।

थापाले फेसबुकमा लेखेका छन् ‘हलेदो भनेर चिनेपछि किन बोक्रा कोट्याइरहनु? हलेदो आफैँ तरकारी हुने होइन, पहेँलो रङ्गका लागि अरूले मिसाउने न हो औचित्यबमोजिम। यसो हुनाले इच्छुकहरूले चाहे जसरी प्रयोग गरे भइहाल्यो। विकासको मूल फुटेर/फुटाएको हेर्न प्युठान र बर्दियाको भ्रमणमा जानेहरूले देखिहाल्छन्, धेरै झूठमूठ बकवास गर्न आवश्यक छैन। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।’

नेकपाका नेता कार्यकर्तामात्र हैनन् अन्य दलका नेताहरूले विरोध गरेका छन्। नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईले राजनीतिक अनिष्टको नै संज्ञा दिएका छन्। सामाजिक अभियान्ता, लेखक, तथा नागरिक स्तरबाट पनि तयारीको आलोचना भएको छ।

 

रक्षात्मक प्रचण्ड

वामदेवलाई काठमाडौँ ७ मा उम्मेदवार बनाउने प्रस्तावक हुन् –अध्यक्ष प्रचण्ड। तर, नेकपाको आन्तरिक छलफल बाहिर आएसँगै आएका टिका टिप्पणीले प्रचण्डले दुई दिनमै रक्षात्मक अवस्थामा पुगेका छन्। सचिवालयमा रहने शीर्ष नेतामध्ये बहुमत नेता उपनिर्वाचनको पक्षमा देखिँदैनन्। प्रचण्डको प्रस्तावमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै सकारात्मक छैनन्।

प्रस्ताव गरेको दुई दिनमै प्रचण्डले वामदेव हार्नेगरि चुनाव नहुने बताइसकेका छन्।
 

पढ्नुस्ः मानन्धरकाे राजीनाबारे प्रचण्डले भनेः वामदेव हार्ने गरी उपनिर्वाचन गरिँदैन ढुक्क हुनुस्

बुधबार दशैँको अवसर पारेर काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्ड रक्षात्मक देखिएका हुन्। प्रचण्डले काठमाडौँ क्षेत्र नम्बर ७ मा सिट गुम्ने गरी उपनिर्वाचन नहुने समेत बताए। प्रस्तावक प्रचण्ड रक्षात्मक बन्नु र अन्य शीर्ष नेता समेत विरोधमा उत्रनुले बामदेवको चुनावी यात्रा निश्चित भएको छैन। नेकपा सचिवालय बैठक समेत असोज २७ गतेसम्मका लागि स्थगित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell