PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टिकाउनै गाह्रो थिएटर : नाटकघर भत्किँदा, भत्किन्छन् कलाकार



स्वेच्छा राउत

टिकाउनै गाह्रो थिएटर : नाटकघर भत्किँदा, भत्किन्छन् कलाकार

१६ वर्ष भयो सरिता गिरी नाट्यकर्ममा लागेको। जबजब उनी पुरानो बानेश्वरबाट मैतिदेवी आरोलो झर्छिन् उनको नजर आफसेआप दायाँतर्फको ढिस्कोतिर पुग्छ। सरिताले जीवनको १० वर्ष बिताएको आरोहण गुरुकुल अहिले त्यो ढिस्कोमा छैन। हरेक पटक देख्दा त्यही उकालोजस्तै उजाडिन्छ उनको मन।
  
'आफ्नो सपना भत्किएर छरिएको ठाउँ हेर्न नसकिने रहेछ,' उनको बोलीमा गुरुकुल भत्कँदाको पीडा सुनिन्छ। उनी ती दिन सम्झन्छिन् जब उनीहरु ४ जना दर्शक राखेर पनि नाटक देखाउँथे। नेपाली रङ्गमञ्चलाई उचाई दिने उत्साह थियो उनीहरुमा। कलाको महत्व बुझाउन विभिन्न विषय उठाएर बौद्धिक वर्गबीच बहस भइरहन्थ्यो त्यही ठाउँमा।



तर, पैसाकै लागि जग्गा भाडामा लगाउनेलाई कलाको के मतलब? व्यवसायिक प्रयोजनका लागि उक्त जग्गाको मोलतोल सुरु भयो। महङ्गो ठाउँमा थिएटर खोल्नुको मोल भारी पार्‍यो गुरुकुल टोलीलाई। अन्तत: नाटकघर भत्काइयो। भत्किनेमा थिएटरको भौतिक स्वरुपमात्र थिएन।

'नसोचेको कुरा भयो। हामी गुरुकुलमै केही गर्ने भनेर बसेकाहरु नाटकघरसँगै भत्कियौं,' सरिता गिरीले यस्तो भनिरहँदा उनका आँखामा उदास देखिए। गुरुकुलबाट निस्किनुभन्दा एकदिन अघि उनको कोठामा आगो लागेको थियो। ब्याचलर्सको सर्टिफिकेटदेखि मोबाइल, ल्यापटप सबै जल्यो। भन्छिन्, 'भारी दिल र शून्य दिमाग लिएर निस्किएँ। त्यसपछि कता जाने तय थिएन।'

नाटकघर भत्कँदा संरचना मात्र भत्किएन, नाटकघरसँग जोडिएका कलाकारको भविष्य, भावना र सपना पनि प्रभावित भयो।
              
२०५९ सालमा देशमा निजी नाटकघर बन्यो र २०६९ मा भत्क्यो। यसरी 'आरोहण गुरुकुल'ले एक दशकमै दुई फरक इतिहास बोक्यो। आज गुरुकुलसँगै रहेको अन्नपूर्ण पार्टी भेन्युमा रमझम र भिड देखिँदा, गुरुकुल भत्किएको त्यो डाँडा शून्य लाग्छ।
 
बिस्तारै गुरुकुलबाटै रङ्गकर्म सुरु गरेकाहरुले नाटकघर खोल्न थाले। नाटकघर बन्ने र भत्किने क्रम जारी छ। सरिता भन्छिन्, 'सँगैका साथी र दाइहरुले नयाँ नाटकघर खोले र हामीले नाटक गर्न पाइरह्यौंर। यसरी बन्दैन थियो भने?' उनीसँग त्यसको प्रश्नमात्र छ, जवाफ छैन।

***

नाट्यकर्मी केदार श्रेष्ठको नेतृत्वमा एउटा टिमले सुन्धारास्थित काठमाडौं मलको ७ औं तलामा नयाँ थिएटर स्थापना गरे। गारो लगाउने, ईंटा, बालुवा, रड, फल्याक, सिमेन्ट ओसार्नदेखि मसला घोल्ने अनि प्लास्टर गर्ने र पार्टेसनसम्मको काम आफैँले गरे। 

गारो उठ्दै गयो, खर्च पनि चुलियो। 'साथीहरुको श्रम लगानी हिसाब नगर्दा पनि २२/२३ लाख खर्च भयो। ऋणको भारीभन्दा आफ्नै थिएटर बन्दाको खुशीको ओजन बढी थियो,' केदार भन्छन्, 'लाग्यो, नाटक सुरु भएपछि ऋण तिर्दै गइन्छ।' 

सुरुवाती भाडा ५० हजार। करिब डेढ लाख 'अपरेटिङ कस्ट'। खाजा, खाना, आवश्यक सामाग्रीको हिसाब बेग्लै। आर्थिक पाटोलाई नियाल्ने हो भने थिएटर मल खडा गर्ने टोलीले साहस गरे। किनकि उनीहरुलाई थाहा थियो, नाटक देखाएरमात्र नाटकघर चल्दैन। ऋण लाग्छ भनेर काम नगर्ने पक्षमा रहेनन् उनीहरु।

'आखिर थिएटर चलाउन टिम वर्क, इच्छाशक्ति र पैसा नै त चाहिने रहेछ,' एकछिन मौन रहेर फेरि बोले, 'पैसा लास्टमा आउँछ तर सबैभन्दा महत्वपूर्ण त्यही रहेछ।' 



थिएटर मलको नाटक 'भोको घर'ले ३ लाख रुपैयाँ कमायो। टिकट बिक्रीबाट सर्वाधिक कमाएको रेकर्ड बन्यो 'भोको घर'। उक्त नाटकले थिएटर मलमा दर्शकको फ्लो पनि बढायो। यही नाटकबाट कलाकारहरुले सबैभन्दा बढी ९ हजार रुपैयाँ खर्च पाए। 
'तर पनि बन्द गर्नु पर्यो ।'

२०७३ सालको पुसमा केदारलाई मल छाड्नुपर्ने जानकारी दिइयो। तर, त्यो दु:खले बनाएको थिएटर भत्काउन नपर्ला भन्ने आशा थियो उनमा। तर, त्यसो भएन। 

'करिब ३/४ महिना म कोमामा झैं रहेँ। छोड्नैपर्ने भएपछि आफू बलियो बनेर उभिनुको विकल्प थिएन,' सुनाए। ३ वर्षपछि थिएटर तिनै हातले भत्कियो जुन हातले इटा र सिमेन्ट लगाउँदै गारो उठाएको थियो। 

भलै थिएटर मल भत्कियोस्, नाटकघर बनाउने महत्वकांक्षा उनको लक्ष्यबाट अझै भत्केको छैन। भन्छन् - 'अब हामी थिएटर नभत्कने गरी बनाउने योजनाका साथ आउँदैछौं।' 

थिएटर मल भत्कनुभन्दा ठीक एक वर्षअघि भत्किएको थियो थिएटर भिलेजको लाजिम्पाटस्थित ‘सत्यमोहन जोशी नाटकघर’। यहाँ पनि जग्गाधनीसँग सम्झौता नमिल्नु नै नाटकघर भत्कनुको कारण बन्यो। नाटकघर भत्किएपछि पनि यो टोलीले नाट्यकर्म भने छोडेन। युरोपका विभिन्न देशमा नेपाली नाटक लिएर उनीहरुको सक्रियता कायम रह्यो। 

'भौतिक संरचनाभन्दा बढी उद्देश्य र लक्ष्यले महत्व राख्यो। त्यसैले त नाटकघर नहुँदा पनि नाटक गर्न छोडेनौं। किनकि अडिटरियम भत्किएको हो, थिएटर भत्किएको होइन,' थिएटर भिलेजका संस्थापक विमल सुवेदीले भने। उनी नाटकघर चाहिँदैन भन्ने पक्षमा भने होइनन्। नाटकघर नहुनुले वा भत्कनुले दर्शकको माग/रोजाइ, नाट्यकर्मीलाई नै आवश्यक स्पेस, नाटक निर्माण लगायतका विषयमा प्रभाव पार्ने उनको पनि ठम्याइ छ। 

*** 

नाटकघरको सङ्ख्या थपिनुलाई नेपाली रङ्गमञ्चको 'प्याराडाइम सिफ्ट'को रुपमा व्याख्या गर्छन् रङ्गकर्मी अनुप बराल। तर, नाटकघर बढे पनि यसको स्थायित्व र नाट्यकर्मीको जिविकोपार्जन गाह्रो रहनु उनलाई चिन्ताको विषय लाग्छ। 

रङ्गमञ्चको भविष्य मात्र होइन वर्तमान पनि अनिश्चित देख्ने बराल अहिले थिएटरहरुले गर्दै आएको कामलाई ‘उत्सर्गको रङ्गकर्म’ भन्छन्। 

‘आर्थिक कारण नै नाटक लेखनमा प्रेरित गर्न सकिएन, कलाकारहरु लामो समय रहन सकेनन्, सबै थिएटरको आफ्नै हल बनेन र बनेका पनि सञ्चालनमा कठिनाइ छ,' बरालले यो अवस्थामा आफ्नै घर वा जग्गामा नाटकघर हुनेलाई केही राहत मिल्ने बताए। 

नाट्यकर्मी आकांक्षा कार्कीको आफ्नै घरमा थिएटर हल छ। उनले घरको खाली कौशीको सदुपयोग गर्दै ब्ल्याक बक्स थिएटर बनाइन्। तर, आफ्नो हुनुको मतलव ढुक्क नहुनु उनको अनुभव हो। छोटो समयमा आफ्नै जग्गा वा घरमा नाटकघर भए अप्ठ्याराहरु भोग्न नपर्ने बुझाइसँग ठोक्किइसकेकी छिन्।

'लोनको प्रेसर, बिग्रने, भत्कने डर छँदै छ। सँगै टेकन फर ग्रान्टेड सोच्नेहरुसँग मैले पनि ट्याकल गर्नु पर्छ,' उनको अनुभव बोल्यो। 

अहिले उनी अरु थिएटरको तुलनामा केही रकम कम भाडा तिर्छिन्। र, तत्काल भत्काउनपर्ने डर उनमा छैन। त्यसबाहेक अन्य समस्या अरु थिएटर भन्दा 'बीसको उन्नाइस' छैन। कथा घेराकै नाटक निर्माण र मञ्चन गर्दा बाहेकको समयमा यो टोलीले पनि हल भाडामा दिने गरेको छ। त्यसैबाट जुट्छ अपरेटिङ कस्ट। 'तर साथीहरु 'तिम्रै घर त हो नि अलि कम पैसा लिउ' भन्नुहुन्छ। बुझाउन गाह्रो छ, हामी सबैको अवस्थामा एउटै हो,‘ उनले भनिन्।



सर्वनाम थिएटरका निर्देशक एवं व्यवस्थापक राज शाह पनि आफ्नै जग्गा वा घरमा थिएटर हुनुलाई स्थायित्वको ग्यारेन्टी मान्दैनन्।
'दर्शक बढ्लान्, हामी पनि बिस्तार हुनुपर्ला, एकको ठाउँमा दुई हल चाहिएला। आफ्नै घर वा जग्गा हुनु तत्कालका लागि राम्रो हो। तर, जति छ त्यतिमा सीमित हुनु पुन: रङ्गमञ्चको लागि बेठीक ठहरिन्छ,‘ उनले भने।

रङ्ककर्मीलाई नाटक गरेरै जीवन चलाउन गाह्रो अवस्था रहनु, टेक्निकल पाटोमा आवश्यकता अनुसार साधन र प्राविधिक नहुनु, नाटकबारे छलफल गर्ने, समालोचना गर्ने जमातको विकास नहुनु पनि रङ्गमञ्च सञ्चालनसँग जोडिएका विषय भएको बताउँछन्। भन्छन्, ’यहाँ सोच्न पर्ने पक्ष धेरै छन्।' 

कसरी चलेका छन् त थिएटर? 

गुरुकुल भत्किएकै दिन अनामनगरस्थित मण्डला थिएटरको जग खनियो। त्यसअघि मण्डलाको कार्यालय एउटा कोठामा थियो। त्यो पनि आइएनजिओसँगको सहकार्यका लागि खोलिएको। रसियन कल्चर सेन्टर, वर्ल्ड ट्रेड सेन्टरमा नाटक देखाउने मण्डला टिमले बिस्तारै नाटक मञ्चनका लागि, रिहर्सलका लागि, छलफलका लागि ठाउँको आवश्यकता महसुस गर्‍यो।

 ‘नाटकमा गुणस्तरको प्रश्न उठ्नुले गुरुकुलमा हल पाउन मुस्किल पार्थ्यो,’ राजन खतिवडा समस्या सुनाउँछन्, ’ठाउँको अभाव थियो। त्यही अभावले
झोलामा रहेको मण्डलाका लागि नाटकघर बनाउन हौसायो।' 

नजिकै रहेका नाट्यकर्मी सोमनाथ खनाल थप्छन्, 'अभावसँगै हामी ‘राम्रो लोन’मा पर्‍यो। जसले गर्दा नाटकघर चाहिन्छ नै भन्ने बनायो।‘ 

सन् २०११ को डिसेम्बरमा मण्डला थिएटरले नाटक महोत्सव आयोजना गर्‍यो। देश विदेशका गरी १० नाटक मञ्चन हुने भए जसका लागि रसियन कल्चर सेन्टरमा हल लिइयो। कार्यालय समय अनुसार खुल्थ्यो, बन्द हुन्थ्यो। अझ गाह्रो के रह्यो भने- लाइट र सेटका लागि भर्यायङ सार्दा भुईं कोरिने डरले कार्पेट समेत नयाँ किन्नु परेको थियो। 

नाटक महोत्सव ऋण बोकाएर सक्कियो। ऋण तिर्न सबै एकजुट भए। एक भएपछि आफ्नै नाटकघर बनाउने योजना बनाए। त्यही अभावले खनाएको जगको माथि आज नियमित नाटक मञ्चन भइरहेको छ। यो निरन्तरता कसरी सम्भव रह्यो? 

हाल मण्डला थिएटरले आफ्नो प्रोडक्सनका लागि डेढ लाख रुपैयाँ बजेट छुट्ट्याउने गरेको छ। उक्त बजेटमा खाजा, खाना, हल भाडा र कलाकार पारिश्रमिक जोडिँदैन।



बाँकी सेट, कस्ट्ट्युम, नाटकको डिजाइन र प्रप्सहरु अनुसार नाटकको खर्च हुन्छ। तोकिएको रकमभन्दा माथिको खर्च निर्देशक स्वयंले जुटाउनुपर्छ।

'नियमित मञ्चनले प्रोडक्सन र अपरेटिङ खर्च मात्र जुट्छ। त्यो पनि हाम्रो आफ्नै हल भएकाले। नत्र आइएनजिओ, एनजिओ वा अन्य संस्थाको लागि गरिने कामले नाटकघर सञ्चालनमा सहयोग पुग्छ, ‘ राजन जानकारी दिन्छन्, 'हामीले राख्ने प्रपोजल अनुसार उनीहरुले सीमित बजेट दिन्छन्। त्यही अनुसार काम गर्ने हो।' 

मण्डला थिएटरसँग अन्तर्राष्ट्रिय गैर सरकारी संस्था जिआइजेडले साझेदारी गर्दै आएको छ। जससँगको आर्थिक सहकार्यमा मण्डलाले निर्देशकीय कार्यशाला, आर्ट म्यानेजमेन्ट वर्कसप लगायत नाट्य यात्रा गर्दै आएको छ। 

त्यस्तै शिल्पी थिएटरले 'एक्सन एड' लगायत संस्थाहरुका लागि काम गर्छ। यस्ता साझेदारीमा प्राय सडक नाटक हुन्छन्। त्यसैले नाटकघरभित्रका नाटक प्राय निर्देशककै खर्चमा हुन्छ। संस्थापक घिमिरे युवराजका अनुसार गत अप्रिलमा मञ्चन भएको नाटक 'तीन बहिनी'मा ७ लाख खर्च भयो। 'सेट महङ्गो थियो,' उनले भने।

नाटकघर सञ्चालनको चुनौतीको चर्चा भइरहँदा अहिले शिल्पीले नयाँ नाटकघर स्थापना गर्दैछ। अभी सुवेदीको नाम दिइएको ‘अभिमञ्च’ (चाइल्ड थिएटर) निर्माणको अन्तिम चरणमा छ। घिमिरे भन्छन्, ‘एउटै रफ्तारमा त कुनै पनि संस्था चल्दैन, यो नियम थिएटरको हकमा मात्र लागू हुँदैन।’ 

उनी नाटकघर स्थापनाको चुनौतीलाई बाहना बनाउँदैनन्। भन्छन्, 'थिएटरले सिकाउने भनेकै कला हो। यसले जीवन नै चलाउने फर्मुला सिकाउँदैन। तर, संघर्ष गर्ने कला सिकाउँछ। नाटकघरलाई त्यही संघर्षले टिकाउँछ।‘  



प्रायोजकको सहयोगमा छापिने टिकट, ब्रोसर वा अन्य सामाग्री, दिनभर रेडियो टिभी वा अन्य कार्यालयमा काम गरेर बेलुकी नाटक गर्न आउने कलाकारहरु। यस्तोमा नाटकघर बक्स अफिसकै भरमा टिक्ने गरी व्यवसायिक हुन नसक्ने उनको तर्क छ। त्यसैले नाट्य क्षेत्रमा रही आएको आर्थिक जटिलता समाधान गाह्रो भएको निचोड निकाल्छन् उनी। 

‘दर्शक आएका छन् तर बक्स अफिसको कमाइले पुग्दैन। संसारमा कतै पनि थिएटर बक्स अफिसले टिकेको छैन,’ उनले भने।

थिएटरले खोज्ने, प्रवर्द्धन र संरक्षण गर्ने कला संस्कृतिको पाटोलाई महत्व दिएर शैक्षिक पाठ्यक्रम वा सांस्कृतिक नीतिमार्फत् राज्यले आर्थिक सहयोग गर्नसक्ने तर्क उनको छ। 

उनले भनेजस्तै यो वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति प्रवर्द्धन कार्यक्रम अन्तर्गत केही नाटकघरहरुलाई अनुदान दियो। आरोहण गुरुकुल, सर्वनाम थिएटर, शिल्पी थिएटर, पोखरा थिएटरले पनि २०/२० लाख प्राप्त गरे। 

राज्यले सक्ने दिएको र आफ्नो इच्छाले रङ्गकर्ममा लागेकालाई सरकारले सहयोग गरेन भन्ने पक्षमा छैनन् नाट्यकर्मी सुलक्षण भारती।
शहरमा नयाँ नाटकघर ‘पुरानो घर’ बन्दै छ, जसको संस्थापक हुन् उनी। नाटकघरको स्थायित्व र सञ्चालनमा कठिनाइबीच उनी नाटकघर बनाउँदैछन्। जसलाई आफूले चाहेजस्तै काम गर्ने ठाउँको खोजीको रुपमा व्याख्या गर्छन्।
 
सुलक्षण काठमाडौंमा १९/२० वटा नाटकघरको आवश्यकता रहेको बताउँछन्। त्यसपछि दर्शकले नाटकको विषयवस्तु राम्रो नराम्रो छुट्याउन थाल्नेछन् र भेराइटी खोज्ने छन्। नाटकको आलोचना गर्नेछन् र नाट्यकर्मीले राम्रो नाटक कसरी बनाउने ध्यान दिन थाल्नेछन्। यसले समग्र नाटक क्षेत्रको उन्नती हुने उनको बुझाइ छ। नाटकघर चलाउनु कम चुनौती मान्दैनन् उनी। 

'नाटकघरको स्थायित्वमा चुनौती छ भन्दैमा 'डराएर रिस्क नै नलिने त?,' सँगै उनले प्रश्नमाथि प्रश्न गरे, 'हिँड्दा हिँड्दै लडेर मरिने डरले घरबाट ननिस्कने?'



उनका अनुसार भाडामा लिइएको जग्गा सम्झौता सकिएपछि छोड्नै पर्ने हुन्छ। केहीले सम्झौता अवधि बढाएर टिक्लान केही भत्किएलान्। उनले पनि आफ्नै जग्गा बैंक धितो राखेर नाटकघरको गारो उठाउँदैछन्। त्यहाँ बन्ने हल भाडामा दिएर थिएटरलाई पनि जिवित राख्ने उनको योजना छ। भन्छन्, 'थिएटरले वर्षमा ३ वटा नाटक निर्माण गर्ने हो भने ९ महिना चाहिँ हल भाडामा दिएरै टिक्नुपर्छ। नभए घाटामा गइन्छ।' 

उनको योजना पूरा भएन भने र, पुन: आरोहण गुरुकुलकै कथा दोहरिन्छ। त्यो गुरुकुल जहाँ नाटकमात्र होइन, काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)समेत आयोजना हुन्थ्यो। अग्रज साहित्यकारहरु भेला हुन्थे, दशैंमा टिकाटालो चल्थ्यो, भ्यालेन्टाइन डेमा प्रेम कविता गुञ्जन्थे। मानिसहरु पैसा तिरेर कविता सुन्न पुग्थे। 

त्यसैले नाट्यकर्मी सरिता गिरी भन्छिन्, 'व्यवसायिक बन्न सकेन भने नाटकघरमात्र होइन, कलाकारहरु पनि भत्किन्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell