PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानसेनापतिले भने, 'विखण्डनकारी र हतियारधारी समूहको सेनाले सूक्ष्म जानकारी राखेको छ'



प्रधानसेनापतिले भने, 'विखण्डनकारी र हतियारधारी समूहको सेनाले सूक्ष्म जानकारी राखेको छ'

काठमाडौँ : सेनाले विखण्डनकारी र हतियारधारी समूहको सूक्ष्म जानकारी राखी राखेको बताएको छ। सरकारले चाहेको खण्डमा तयारी अवस्थामा रहेको सेनाले जानकारी दिएको छ।

बिहीबार नेपाली सेनाले सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापा र सञ्चारकर्मीहरुबीच सवाल जवाफ भएको थियो। 

देशभित्र विखण्डकारी र हतियारधारी समूह निस्तेज पार्न सरकार लागिरहेको छ, यस विषयमा सेनाको धारणा के छ? भन्ने पत्रकारको प्रश्नको जवाफमा सेनापति थापाले भने, 'विखण्डनकारी र हतियारधारी समूहबारे प्रहरी प्रशासनले हेरिरहेको छ। यो हाम्रो क्षेत्र परेको छैन। भोलि कस्तो किसिमको परिस्थिति निम्त्याउने हो भन्ने कुरामा भने सेना चनाखो छ। राज्यले सेना आवश्यक ठानेको अवस्थामा सेना तयारी अवस्थामा छ।'
थापाले समस्याहरू राजनीतिक तहबाट नै समाधान हुने कुरामा विश्वस्त रहेको समेत जानकारी दिए। सेना संविधानको रक्षाको लागि भएकाले संविधानले दिएको अधिकार र कार्यक्षेत्रमा रहेर काम गर्ने जानकारी दिए। 

थापाले भारतमा भएको बिम्स्टेक राष्ट्रको अभ्यासमा सरकारको धारण अनुसार नै सहभागिता नभएको दावी गरे। सेनापति थापाले भने,' नेपाल सरकारको धारणा अनुसार नै बिम्स्टेक राष्ट्रको संयुक्त अभ्यासमा भाग नलिएका हौँ।'

सेनापति थापाले सेनाभित्र  केही भ्रष्टाचार भइरहेको कुरालाई स्वीकार गर्दै आफू सङ्गठन भित्रको भ्रष्टाचार हटाउन समेत लागि परेको जानकारी दिए। 'सेनाको एक्लो प्रयासले मात्र भ्रष्टाचार हट्दैन। भ्रष्टाचार हटाउन समय लाग्छ। भ्रष्टाचारको जरैदेखि नै उपचार गर्न लागिरहेका छौँ, 'सेनापति थापाले भने। 

पत्रकार सम्मेलनमा सेनाले हस्पिटल, पेट्रोल पम्प लगायतका क्षेत्र सञ्चालन गरेर व्यापार गर्न नखोजेको बताए। यस्ता क्षेत्र नाफामुखी नभएको दावी उनको रह्यो। 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको विषयमा पनि अहिले सेनालाई शङ्काको घेराले हेरिरहेको छ। निर्मला प्रकरणमा सेनाको के धारण छ भन्ने पत्रकारको प्रश्नमा सेनापति थापाले भने, 'यो गृह मन्त्रालयभित्र पर्ने विषय हो।‘ 

तर, सेनाले महिला दुर्व्यवहारको विषयमा सून्य सहनशीलताको नीति लिने उनले बताए। 

‘नेपाली सेनाले देश र देश बाहिर यस्ता गतिविधि गरेका भए सैनिक ऐन अन्तर्गत कारबाही गर्छौँ र भएका उदाहरणहरू पनि छन्,' उनले भने। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell