PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लुटमा महिलाको गुट : गृहिणीको भेषमा 'लेडिज पकेटमार ग्याङ'



सविन ढकाल

लुटमा महिलाको गुट : गृहिणीको भेषमा 'लेडिज पकेटमार ग्याङ'
सांकेतिक फोटो: mytenerifereport.com

काठमाडौँ : काठमाडौंको मच्छिन्द्र* बहाल चोक नजिकै ३५ वर्षीया सिर्जना विकलाई पछाडिबाट कसैले च्याप्प समाउँछ। उनी झस्किन्छिन्।
 
सिम्पल कुर्ता सुरुवाल लगाएकी, चिटिक्क कोरेको केश। भलादमी देखिने सिर्जनामाथि कसले शंका गर्ला - उनी लुटेर होलिन् भनेर।

तर, लुटेर भाग्दै गरेको अवस्थामा सिर्जनालाई सिभिलमा खटिएको प्रहरीले नै पक्र्यो।  रूप र पहिरनले उनको अपराध के छोपिन्थ्यो। 

'अपराधी जस्तो भेषमा पनि हुन सक्छन्' भन्ने भनाइलाई सिर्जनाको हर्कतले पुष्टि  गर्‍यो।

बिहीवार दिउँसो करिब ५ बजेतिर मच्छिन्द्र बहाल चोकमा दशैंको किनमेलले भिडभाड थियो। यही भिडभाड सिर्जनाको लुटको लागि उपयुक्त वातावरण बन्यो।
 
एक महिलाको ब्यागमा भएको ५५ हजार रुपैयाँ लुटेर भाग्दै गर्दा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको सिभिल टोलीले उनलाई पक्रेको वृत्तका प्रमुख डिएसपी टेकुनन्द लिम्बुले जानकारी दिए। डिएसपी लिम्बुले भने, 'लुटेर भाग्दै गर्दा सिभिल प्रहरीले सिर्जनालाई नियन्त्रणमा लिएको हो।'

लुटमा महिलाको गुट 

सामान्यत: अपराधमा समूह बनाएर लाग्ने पुरुष हुन्छन् भन्ने मान्यता छ। तर, महिलाको पनि आपराधिक समूह हुन्छ भन्ने कुरा सिर्जनाको हर्कतबाट खुल्छ। सिन्धुपाल्चोक घर भएकी सिर्जना पट्के लुटेरा भएको प्रहरीको दाबी छ। 

सिर्जना केही महिना अगाडि मात्र गौशाला क्षेत्रमा लुट्दै गर्दा पक्राउ परेकी थिइन्। आफू मात्र होइन उनले समूह नै बनाएर लुट्ने गरेको प्रहरीको दाबी छ। डिएसपी लिम्बु भन्छन्,' उनी पट्के लुटेरा हुन्। उनी मात्र होइन उनको पाँचदेखि सात जनाको महिला लुटेरा समूह रहेको छ। चाडपर्व नजिकिए सँगै प्रहरी राजधानीमा हुने चोरी, लुटपाट नियन्त्रण गर्न सिभिल प्रहरी खटाएको छ।'

सिर्जनाले आफूलाई लुटेरा जस्तो नदेखिन बेलाबेला पहिरन परिवर्तन गर्छिन्। भलादमी देखाउन कुर्ता सुरुवाल लगाएर सिम्पल भएर हिँड्ने र भीडमा मौका छोपी लुटपाटदेखि चोरीसम्म गर्न भ्याउँछिन्। डिएसपी लिम्बुले भने, 'कसैले अघिपछि हिँड्दा शंका नहोस् भनेर उनले आफ्नो पहिरनसमेत सिम्पल देखाउने गरेको पाइयो।'

सिर्जनाको लुटेरा समूहले राजधानीका गौशाला, बसपार्क, चाबहिललगायतका क्षेत्रमा चोरी तथा लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरूले ठाउँ फेरि फेरि लुट्ने गरेको डिएसपी लिम्बुले बताए। जनसेवा वृतले एक दिन अघि मात्र एक युवतीलाई लुटेको अभियोगमा नियन्त्रणमा लिएको थियो।

एक सातामा ४० पकेटमार प्रहरी नियन्त्रणमा 

एक साताको अवधिमा प्रहरीले राजधानीमाबाट मात्र पकेटमार्ने ४० जनालाई नियन्त्रणमा लिएको छ। राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बसपार्कलगायत क्षेत्रमा पाकेटमारहरु सक्रिय रहेको प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले जानकारी दिए।

बढी आर्थिक कारोबार हुने र भिडभाड भएकाले यस क्षेत्रमा भिआइपी पकेटमार सक्रिय हुने गरेको छन्। 'हामीले पकेटमारको निगरानी गरेका छौँ। सिभिल प्रहरीसमेत परिचाल भएको छ। भटाभट पकेटमारहरू नियन्त्रणमा आइरहेका छन्,' एसएसपी लामाले भने।
 
परिसरको टोलीले दिनको समयमा मात्र सयको हाराहारीमा सिभिल प्रहरी परिचालन गरेको छ। त्यस्तै रातिको समयमा १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको परिसरका एसएसपी लामाले जानकारी दिए।

काठमाडौंमा ३ सयदेखि ५  जना पकेटमार रहेको प्रहरीको भनाई छ जसमा आधाभन्दा धेरै पटके पकेटमारहरू रहेका छन्। ५० जना भिआइपी पकेटमार समेत  छन्। उनीहरूले वर्षोदेखि पकेटमार गरेर नै राजधानीमा घर र महँगो गाडी जोडेका छन्।

(*यसअघि मच्छिन्द्रबहाल हुनुपर्नेमा महेन्द्रबहाल भएकोले सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell