PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सयवर्ष अघिका प्रहरी



पहिलोपोस्ट

सयवर्ष अघिका प्रहरी

  • निर्मलकुमार आचार्य-
आजभन्दा झन्डै सयवर्ष अघिको कुरो हो। जतिखेर नेपालमा आधुनिक भन्नमिल्ने प्रहरी व्यवस्था भर्खर, भर्खर बामे सर्नथालेको थियो, त्यतिखेरै प्रहरी सेवामा लागेका व्यक्तित्व हुन्– कृष्णप्रसाद आचार्य।
 
‘सुबेदार’का रूपमा प्रहरी सेवामा प्रवेश गरेका कृष्णप्रसाद आफ्नो कुशल कार्यक्षमता, अद्वितीय प्रतिभा तथा बिछट्ट साहसका कारण थोरै समयमै ‘थानेदार सब इन्स्पेक्टर’ बन्न पुगेका थिए।

कृष्णप्रसाद आचार्य प्रहरी सेवामा संलग्न हुन जानुका पछाडि उनका साथीको प्रोत्साहन रहेको पाइन्छ। साथी आत्माराम उप्रेती भारतमा प्रहरी काम, कारबाहीसम्बन्धी प्रशिक्षण लिई आएका थिए। उनलाई ‘बुटवल खजहनीमा पुलिस गोश्वारा खडा गरी थानाचौकी राखी बरबन्दोबस्त गर्नू, चोरडाकाले दुःख दिएका छन्, शान्ति गर्नू, पक्राउ गर्नू’ भनी खटाइएको थियो। इन्स्पेक्टर आत्माराम उपे्रतीले यी सब काम पूरा गर्न साथी कृष्णप्रसाद आचार्यको आवश्यकता अनुभव गरी उनलाई सुबेदार बनाई लगेका हुन्।

काठमाडौं, सिफलनिवासी दुर्गाप्रसाद दवाडीका अनुसार ‘मेरा जेठाबा वेदनाथ दवाडी, आत्माराम उप्रेती र कृष्णप्रसाद आचार्यबीच असाध्यै मिल्ती थियो। यसै कारण तीनै जना प्रहरीमा थिए।’

‘तौलिहवामा पुलिस गोश्वारा खडा गरी बस्यौँ। अमिनी तालुकका पुलिस थानाचौकी हाम्रो तालुक भयो। लायक मानिस राखी अरू नयाँ भर्ना गर्‍यौं। 

पूर्व बुटौलको टीको जङ्गल र पश्चिम दाङ, देउखुरी, मौरीसाल, कोइलाबास, खगरा मचक्याइ इत्यादिसम्म पचास नै कोशको इलाका भयो। बराबर गस्ती, दौडाहा गर्ने काम भयो।

कुवा, इनार, पोखरीमा डुबी मरेका जतिमा मलाई नै खटाई मौकाजाँच सरजमिनसमेत गर्नुपर्थ्यो । कर्तव्यका लाशसमेत जाँचमौका सरजमिन गर्न निज हाकिम आत्माराम साथै गई गर्नुपथ्र्यो। पक्राउ गर्नुपर्ने अपराधी फेहरिस्त लिई बराबर दौडाहा गरी सो चोर, डाका, खुनी पक्राउ गरी बुझाएँ। 

थप थानाचौकी खडा गर्ने र त्यसलाई चाहिने सवालसमेतको तर्जुमा गरी, गरेको जाहेरी सदर भई आयो। तौलिहवा थानामा म थानेदार सब इन्स्पेक्टर भएँ। धेरै चोर, डाका पक्राउ गरी राम्रो काम गरेको देखी हाकिम, बडाहाकिमलगायत ठूला जिमिदारहरूसमेत खुशी भएका थिए।’ 

सब इन्स्पेक्टर कृष्णप्रसादको उपर्युक्त भनाइ आफैमा छर्लङ्ग रहेकाले त्यसमा फूलबुट्टा भरी अतिरिक्त प्रकाश पार्नु जरुरी छैन। थप थानाचौकी खडा गर्नुपर्ने आवश्यकता देखी त्यसलाई चाहिने सवालसमेत तर्जुमा गरी सम्बन्धित निकायसमक्ष गरिएको जाहेरीलाई भने उल्लेख्य मान्नैपर्छ। 

वि.सं.१९७२/७३ सालताका उनी थानेदार सब इन्स्पेक्टर बनेका हुन्। घरायसी कारणले उनलाई त्यहाँ बढी समय काम गर्न दिएन। राजीनामा दिई काठमाडौँ फर्किए। 

केही वर्षपछि फेरि प्रहरी कार्यालयलाई उनले सघाउनुपर्ने स्थिति आइलाग्यो। सदर पुलिस गोश्वाराका इन्स्पेक्टर रामनाथले उनलाई सम्झिए।तौलिहवामा कृष्णप्रसादले गरेका काम, कारबाही स्मरण गरिएकाले हुनुपर्छ, इन्स्पेक्टर रामनाथले उनीबाट बाह्रमासे पक्रन मद्दत लिए। तिनताक चाडबाड आदिमा जुवा फुकुवा हुनेगरे पनि अन्य बेलामा जुवा प्रतिबन्धित थियो। बाह्रमासेलाई तह लगाउन कृष्णप्रसादलाई रु. पाँचसय दिई खटाइएको थियो। ठिमीमा बाह्रमासे जुवा हुनेरहेछ, त्यहाँ आफू पनि जुवाडे झैँ खेल खेले र सँगै लगिएको एक प्रहरीलाई पठाई बाँकी १४ जना प्रहरी झिकाएर जुवाडेहरूलाई ‘पुलिस गोश्वारा हनुमानढोका’ पठाउन उनी सफल भएका थिए। 

इन्स्पेक्टर रामनाथले यिनै कृष्णप्रसादमार्फत स्याम्पियन (विदेशी मदिरा) तथा बारुद बेच्नेहरू पनि पक्राउ गराएका थिए। 

कृष्णप्रसादको अनुभव र खुबी राम्ररी बुझेका इन्स्पेक्टर रामनाथले उनलाई बेथरी (भैरहवा) पनि लगे। बेथरीमा पुलिस अफिस खडा गरी थाना चौकीसमेतको बरबन्दोबस्त मिलाउने जिम्मा इन्स्पेक्टर रामनाथमाथि आएकाले कृष्णप्रसाद आचार्यलाई तहरिर मुखियामा भर्ना सदर गरी त्यता लगेका हुन्। पूर्वकोटी बुटवल त्रिपेरारी, दक्षिण भारत सीमाना, पश्चिम तौलिहवा पुलिसको साँधसम्ममा थानाचौकीको ठाउँसवाल सबै ठीक गरी, भइपरी आएको दाम, कामसमेत राम्रो तबरले चलाई बसेका थिए। 

यसबीच, घरमा बावु चूडामणि आचार्य बिरामी परेकाले उनी बिदा लिई फर्किए। भैरहवा जाने स्थिति नरहेका कारण ‘सदर पुलिस सुपरिटेन्डेन्ट अफिस, डिल्लीबजार’मा राजीनामा दिई स्वीकृतिसमेत गराई बसेका थिए। 

उता इन्स्पेक्टर रामनाथले रिसाएर ‘कागजपत्र केही नबुझाएकाले अड्डासारा पठाइदिनू’ भन्ने कागज थानामा पठाएछन्। पुलिस गोश्वाराबाट उनलाई डाकिएछ। कागजपत्र सबै बुझाई प्रमाण देखाउँदा ‘सोही जाहेर गरिदिन्छु, भोलि आउनू’ भनी सदर पुलिस गोश्वाराका हाकिम मे.क. नरनारायण शाहले भनेछन्। भोलिपल्ट जाँदा अड्डासारा पठाउन नपर्ने हुकुम प्रमाङ्गी भएकाले उनले भैरहवा जानुपरेन।

मे.क. नरनारायण शाह पनि उनको प्रहरी सेवाबाट प्रभावित थिए। एकदिन कृष्णप्रसाद आचार्यलाई बोलाएर ‘तिमी मकहाँ नै बसी लागे, लगाएको काम गर्नू’ भनेपछि सोबमोजिम उनले केही समय पुलिस गोश्वारामा पनि काम गरे। 

पछि, सो पुलिस गोश्वारामा थप ६ जना ‘अपे्रन्टिस’ भर्ना हुने भएकोले त्यसमा उनको पनि दरखास्त पर्‍यो। त्यतिखेरको प्रचलन अनुसार कम्यान्डर इन चिफ भीमशम्सेरकहाँ दर्शन गराउँदा ‘अङ्गे्रजी नपढ्नेका लागि हुँदैन’ भनिएछ। निज नरनारायण शाहले ‘पुलिसका धेरैसँग राय लिएको हो, लायक छ’ भनेपछि मात्र सदर भई सिंहदरबारमा दर्शन गर्न लगिएछ। ‘जागिर छाडी अन्त नजाने, जहाँ खटाए पनि जाने’ कबुलसमेत गराई किताबीसुब्बाले कृष्णप्रसादलाई श्री ३ चन्द्रकहाँ दर्शन गर्न लगेका हुन्। 

‘१६ जनामा चारजना मात्र चाहिने भएकाले कसलाई सदर गरौँ ?’ सोधिएपछि श्री ३ चन्द्रबाट ‘पश्चिमका चारजना’ भनिएछ। उनी पूर्वपट्टि बसेकाले जागिर लागेन। 

जागिरमा खारिंदै आएका कृष्णप्रसादले त्यसपछि प्रहरी सेवामा पटक्कै रूचि देखाएनन्। शासकको लहडीपनका कारण जागिर नपाउँदा दुःख लाग्नु स्वाभाविकै हो। उनले जागिर पाएका भए निश्चय नै प्रहरी सेवामा थप योगदान पुर्‍याउँथे। 

कृष्णप्रसाद आचार्य सानै उमेरदेखि प्रहरी सेवामा लागेका व्यक्ति हुन्। उनले प्राइभेट पुलिसमा पनि काम गरेका थिए भन्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ। यो वि.सं.१९६७ सालताकाको कुरो हो। त्यतिखेर उनको उमेर १६ वर्ष जति मात्र थियो। साथी फत्तेबहादुर पाँडेको सिफारिसमा उनी प्रतिमहिना रु.७।५० खानेगरी प्राइभेट पुलिसमा भर्ना भएका हुन्। 

कृष्णप्रसाद आचार्यले डिल्लीबजार अड्डाखानाको रोलवाला राणा, थापाकहाँको खबर बुझी बेलुकी वा राती प्राइभेट रिपोर्ट हाकिम पुलिसको लालध्वज सुनुवारलाई दिनुपथ्र्यो। उर्दीको पोसाक लगाउन नपर्ने र पजनीमा हाजिर समेत हुन नपर्ने व्यवस्था थियो। श्री तालुक ज. बबरशम्सेरको चाहिँ दर्शन मात्र हुन्थ्यो। खबर राम्रो दिएकाले ‘रु.१० दिने गर्नू’ भन्ने भई उनले सोही बमोजिमको रकमसमेत पाउन थालेका थिए। 

कृष्णप्रसादले प्राइभेट पुलिसको काम धेरै समय गरेनन्। कम समय काम गरेको भए पनि उनको संस्मरणले नेपालमा गुप्तचरी इतिहासको झझल्को भने गराएको छ नै।

बीच, बीचमा अन्यत्र लागे पनि कृष्णप्रसाद आचार्यले वि.सं.१९६७ सालदेखि १९७७ सालसम्मको एक दशक खासगरी प्रहरी सेवामा बिताएका छन्। उनले प्रहरी सेवाका विभिन्न क्षेत्र र तहमा रहेर गरेका ऐतिहासिक कार्यले प्रहरी सेवाको उन्नयनमा थोरै भए पनि योगदान पुर्‍याएको छ। 
प्रहरी सेवाको परम्पराका सम्बन्धमा यसो त अनेक इतिहास, दस्ताबेज, संस्मरण आदिमा केही न केही उल्लेख पाइन्छ नै तर विशेष जानकारीका लागि प्रहरी प्रधान कार्यालयले वि.सं. २०५२ सालमा प्रकाशनमा ल्याएको 

इतिहास’ महत्वपूर्ण कृति बनेको छ। इतिहासविद् तुलसीराम वैद्य, त्रिरत्न मानन्धर तथा भद्ररत्न वज्राचार्यद्वारा ठूलो मिहिनेतसाथ तयार पारिएको यस कृतिमा प्रहरी सेवाका अनेक पक्ष उजागर गरिएका छन्। कतिपय कमी, कमजोरी पनि नरहेका होइनन्। भएका त्रुटि सच्याउँदै र छुटपुट समेट्दै प्राचीन इतिहासको गौरवगाथा बढाउने जिम्मेबारी यतिखेर वर्तमान पुस्ताको काँधमा आइपरेको छ। 

पश्चिमा मुलुकमा झैँ नेपालमा प्रहरीको इतिहास लामो नरहे पनि प्रहरी सेवाको प्रारूप ठ्याम्मै नरहेको भने होइन। अहिले प्रहरीले गर्ने काम उहिल्यै सैनिक वा अन्य व्यक्तिविशेषबाट हुँदै आएका थिए। कोटवाल, उमराव, फौजदार, द्वारे, दरोगा, महान(माइन्या), नाइके, प्यादा, सिपाही होऊन् वा मिलिसिया, चौकिदार अथवा हबल्दार, अमलदार, मुन्सी, नौसिन्दा आदि, यी सबैले ऐतिहासिक कालमा प्रहरीको भूमिका निर्वाह गर्दै आएको इतिहाससाक्षी छ। 

‘नेपाल प्रहरीको इतिहास’ अनुसार श्री ३ जङ्गबहादुर राणाले छुट्टै प्रहरी व्यवस्था थाल्ने पहल गरे पनि व्यावहारिक धरातलमा यसको प्रारम्भचाहिँ श्री ३ चन्द्रशम्सेरको पालामा भएको हो। तत्कालीन प्रधानमन्त्री चन्द्रशम्सेरले बनाएको प्रहरी व्यवस्थामा जुद्धशम्सेरले आफू प्रधानमन्त्री हुँदा वि.सं.१९९५ तिर प्रहरी प्रमुख ‘डाइरेक्टर जनरल’को व्यवस्था गर्नुका साथै सेनाको ‘रामदल’लाई विधिवत् प्रहरी सेवामा लगाएका थिए। सवारी नियन्त्रण गर्ने उद्देश्य जनाइए तापनि ‘रामदल’लाई प्रहरी सेवामा ल्याउनुको कारण सरकारविरोधी गतिविधिमाथि रोक लगाउने अभीष्ट रहेको थियो। पद्मशम्सेरको प्रधानमन्त्रीत्वकालमा ‘डाइरेक्टर जनरल’को व्यवस्था खारेज भई वि.स.२००३ मा ‘सुपरिटेन्डेन्ट अफिस’ खडा गरियो। सातसालको क्रान्तिपछि क्रान्तियोद्धाको सङ्गठन ‘मुक्तिसेना’लाई पनि प्रहरी सेवामा लगाइयो। पहिलेका मिलिसिया, रामदल तथा मुक्तिसेनालाई मिलाई ‘रक्षादल’ बनाइएको उल्लेख पनि भेटिन्छ। 

वि.सं.२००८ सालमा प्रहरी प्रधान कार्यालय खडा भई सर्वप्रथमतः प्रहरी महानिरीक्षक (तोरणशमशेर ज.ब.रा.)को व्यवस्था भयो। परिवर्तित समय अनुसार प्रहरी सेवा सञ्चालनमा रहे पनि यसका आफ्नैखाले अप्ठेरा, कठिनाइ र चुनौती थिए भने प्रशासनिक व्यवस्था निर्बल थियो। वि.सं.२०१२ मा प्रहरी ऐन आएपछि मात्र प्रहरी सेवाले विधिसङ्गत ढङ्गमा आफ्नो सेवा प्रारम्भ गरेको हो। सरकार अन्तर्गत गृहमन्त्रालयको आदेश, निर्देशनमा रही प्रहरी सेवा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तरोत्तर प्रगतिका साथ निरन्तर क्रियाशील रहँदै आएको छ। 

नेपालमा विधिविधान अनुरूप प्रहरी सेवा थालिएको लामो समय नभए पनि यसको परम्परा, पृष्ठभूमि र ऐतिहासिक यात्रा अविस्मरणीय छ। त्यसैले आजको गौरवमय प्रहरी सेवाको इतिहासमा जे जस्ता चरण रहेका छन्, ती सबैको अध्ययन, अनुसन्धानको क्रम जारी राखिनुपर्नेमा दुईमत रहँदैन। 

नेपालमा आधुनिक प्रहरी व्यवस्था वि.सं.१९७१ मा श्रीगणेश गरिएको हो। ‘नेपाल प्रहरीको इतिहास’मा ‘शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ मा शुरु’ भएको प्रष्ट पारिएको छ। देश, विदेश घुमेका श्री ३ चन्द्रले आफ्नो मुलुकमा पनि सङ्गठित, सुव्यवस्थित प्रहरी सेवा कायम गर्न चाहेकाले उनको शासनकालमा परम्परागत प्रहरी सेवाले विशिष्ट दिशा पहिल्याउन मद्दत पाएको हो। उनले छु्ट्टै प्रहरी व्यवस्था लागु नगरून्जेल ‘हजुरिया जनरल’ले सदर अर्थात् काठमाडौँ उपत्यकाको शान्ति, सुरक्षाको दायित्व सम्हालेको थियो। श्री ३ रणोद्दीप सिंहको शासनकालमा थालिएको यो परिपाटी अनुसार हजुरिया जनरलको निर्देशनमा ‘सदरजङ्गी कोतवाली’ले शान्ति, सुरक्षासम्बन्धी काम गर्दै आएको थियो र यो कोतवाली इन्द्रचोकमा रहेको इतिहास पाइन्छ। 

‘नेपाल प्रहरीको इतिहास’मा ‘शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्न चन्द्र शमशेरले सन् १९१४ मा पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति–सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पिएको उल्लेख छ। 

उपर्युक्त सम्बन्धमा विद्वान् लेखक रेवतीरमण खनालले आफ्नो ‘नेपालको कानूनी इतिहासको रूपरेखा’मा तीव्र प्रतिक्रिया जनाएका छन्। सो कृतिको पृष्ठ ४७३ मा ‘आधुनिक प्रहरी सेवाको सुरु’ शीर्षक अन्तर्गत उनले लेखेका छन्– ‘नेपालमा पहिलो पटक १९७१ सालदेखि वीरगञ्ज, बुटवल र खजहनीमा पुलिस गोश्वारा अड्डा खडा भएका थिए। ‘त्यसबाट राम्रै काम भएको तथा शान्ति सुव्यवस्था भएको र डाँका चोरी अपराध पनि घटेकाले अब अरू जिल्लामा पनि पुलिस इन्स्पेक्टर अफिस खडा गरी राख्ने भन्ने भएकोले ती पुलिस अफिसले गर्नुपर्ने कामको सवाल र सदर पुलिस गोश्वारामा रहेका साविक सवाल खारेज गरी नयाँ सवाल जारी गर्ने १९७६ साल पौष ६ गते रोज १ मा खड्गनिशाना सदर भएकोले यो सनद जारी गरिएको छ’ भनी १९७७ सालमा एक सनद जारी भयो। 

सो सनदमा ‘ज्यानमारा, कैदी, विष खाए खुवाएको, जबर्जस्ती चोरी, रहजनी, डाँका र सरकारवादी भई ऐनले हेर्नुपर्ने, सनद, दस्तखत, पुर्जीबाट पक्राउ गर्नुपर्ने समेत पुलिसबाट गर्नु र इन्स्पेक्टर अफिस खडा भएका जिल्लामा त्यहीँ र सो अफिस खडा नभएका जिल्लामा अमिनी गोश्वारामा चलान गरी कारबाई गर्नुपर्ने’ गरियो। जिल्लामा पहिलो पटक आधुनिक किसिमको पुलिस इन्स्पेक्टर अफिस १९७१ सालदेखि खडा भएको थियो। 

‘नेपाल प्रहरीको इतिहास २०५२’ जस्तो ग्रन्थमा पनि सो सवाल र ती प्रहरी अफिसबारे कहीँ उल्लेख पाइएन। सरकारवादी हुने गहन अपराधको रोकथाममा प्रहरी इन्स्पेक्टर अड्डाको भूमिका सकारात्मक थियो। केन्द्रमा सदर पुलिस गोश्वारा नामको अड्डा थियो। त्यहाँबाट विभिन्न जिल्लाका पुलिस गोश्वारालाई सम्पर्क गरी निर्देशन दिने गरिएको थियो। नेपाल प्रहरीको इतिहासमा भने केन्द्रीय तहको प्रहरी संगठनको खास उल्लेख छैन तर जिल्ला, जिल्लाका प्रहरी कार्यालयको भने उल्लेख छ। 

‘नेपाल प्रहरीको इतिहास’मा रहेका कमी, कमजोरी औँल्याइनुलाई साधुवादको विषय मान्नुपर्छ, यस अर्थमा विद्वान् लेखक खनाल धन्यवादका पात्र बनेका छन् तर के पनि बिर्सनु हुँदैन भने इतिहासको अध्ययन, खोजी कार्य सुदीर्घ परम्परा भएकाले यो सदैव जारी रहने विषय हुन्छ। यसकारण पनि कतिपय अध्ययन, अनुसन्धानमा कमी, कमजोरी तथा अभाव रहनु आश्चर्यको विषय होइन। तत्कालीन परिवेशको वस्तुस्थिति खोतल्न त्यतिखेरैका सुबेदार वा सब इन्स्पेक्टर अथवा तहरिर मुखिया कृष्णप्रसाद आचार्यको जीवनी सहायक सामग्री हुनसक्छ। 

कमी, अभावका सन्दर्भ आफ्ना ठाउँमा छन् तर आधुनिक प्रहरी सेवाको थालनी वि.सं.१९७१ मा भएको ऐतिहासिक तथ्यप्रति चाहिँ कतै असहमति देखिँदैन। ‘नेपाल प्रहरीको इतिहास’मा सीमाना अपराध नियन्त्रण गर्न नेपाल–भारतको संयुक्त प्रहरी टोली सफल भएको यथार्थले उत्साहित हुँदै चन्द्रशमशेरले प्रहरी सेवामा योग्य जनशक्ति उत्पादन गर्न सन् १९११ मा भारतका विभिन्न ट्रेनिङ स्कूलमा नेपालीलाई अध्ययन गर्न पठाएको र चन्द्रशमशेरकै शासनकालमा पटनाको पुलिस ट्रेनिङ स्कुलबाट दुई जना नेपालीले सन् १९१९ मा तालिम प्राप्त गरी स्वदेश फर्केको उल्लेख छ। 

यहाँनिर स्मरणीय कुरो के छ भने तालिमबाट फर्किएको समय सन् १९१९ भन्नाले वि.सं.१९७६ देखिन आउँछ। जब कि आत्माराम उप्रेती भारतबाट प्रहरी तालिम लिई वि.सं.१९७१ तिरै नेपाल फर्किसकेको तथ्य उपर्युक्त सुबेदार कृष्णप्रसादको बेहोराबाटै प्रष्ट हुन्छ। 

‘सन् १९११ मा बङ्गालको हजारीवागस्थित पुलिस ट्रेनिङ स्कुलमा तालिम लिन तीनजना नेपाली पठाउने निधो भएको’ उल्लेख ‘नेपाल प्रहरीको इतिहास’मा छ तर कस, कसलाई पठाइएको थियो भन्ने जानकारी पाइँदैन। तालिम लिन जाने तीन जनामध्ये एक आत्माराम उप्रेती हुनसक्छन्। तालिमका निम्ति बङ्गालबाहेक अन्यत्र पठाइएका पनि हुनसक्छन्। यसबारे गहिरो अनुसन्धान आवश्यक छ। 

‘नेपाल प्रहरीको इतिहास’ मा तौलिहवा, भैरहवा (बेथरी) आदिमा भएका प्रहरी व्यवस्था तथा इन्स्पेक्टर आत्माराम उप्रेती र थानेदार सब इन्स्पेक्टर कृष्णप्रसादका सम्बन्धमा उल्लेख नपाइनुलाई खल्लो मान्नसकिए पनि सोही कृतिको परिशिष्ट अन्तर्गत दस्ताबेज खण्डमा इन्स्पेक्टर आत्माराम उपे्रती तथा सुबेदार कृष्णप्रसाद पाध्याको नाम देखिनुले केही हर्ष सञ्चार भने गराउँछ नै। उतिखेर ब्राह्मणको थरमा ‘पाध्या’ पनि लेख्ने चलन भएकाले कृष्णप्रसादका नामपछाडि ‘पाध्या’ रहनपुगेको सहजै अनुमान लगाउन सकिन्छ। 

‘नेपाल प्रहरीको इतिहास’ मा परिशिष्ट खण्ड अन्तर्गत ‘नेपाल प्रहरीका बारेमा पूर्वजहरूको अभिव्यक्ति’ शीर्षकीय बेहोराभित्र ‘अप्रेन्टिस’बारे उल्लेख छ। पूर्व प्र.उ. जितेन्द्रध्वज किरणको भनाइ उद्धृत गर्दै ‘अप्रेन्टिसमा भर्ना’ उपशीर्षक दिई ‘प्रहरी संगठनको पुनर्गठनपूर्व एकताका सदरमा ८/१० जनालाई अपे्रन्टिस (सुबेदारस्तर) मा भर्ना गरिएको थियो।’ आदि उल्लेख छ।

सोही बेहोराको मुन्तिर ‘अप्रेन्टिसबारे थप जानकारी’ उपशीर्षक दिई यसो भनिएको छ– ‘वि.सं.१९९८ मा अप्रेन्टिसमा टेकनारायण श्रेष्ठ, विष्णुप्रसाद उपाध्याय, देवेन्द्रबहादुर बस्नेत, जयन्द्रबहादुर, मनबल्लभ उपाध्याय, प्रतापप्रसाद पनि भर्ना भएको बताइन्छ। उनीहरूलाई भर्ना गर्दा मुचुल्का लेख्ने विधि, कानूनी ज्ञान, प्रहरीमा जागिर खानुको उद्देश्य आदिका विषयमा अन्तर्वार्ता लिइएको थियो। २००५ सालतिर यसको संख्या थप गरिएको थियो।

‘अप्रेन्टिस’का सम्बन्धमा यहाँ अलि पहिलेदेखि व्यवस्था रहेको उदाहरण सरोकारी स्वयं कृष्णप्रसाद आचार्यले दिएका छन्। प्रमुख मे.क. नरनारायण शाहको चाहना अनुसार ‘सदर पुलिस गोश्वारा’मा कार्यरत छँदा उनले ‘अप्रेन्टिस’ पदका लागि दरखास्त दिएको तर पूर्वतर्फ बसेकाले मात्रै ‘अप्रेन्टिस’ बन्न नपाएको माथिको प्रसङ्ग यतिखेर स्मरणीय बनेको छ। यो प्रसङ्गले अरू थोक नभए पनि नेपाल प्रहरी सेवामा ‘अप्रेन्टिस’को इतिहास झन्डै दुई दशक अघि लम्बिन पुगेको अनुभव गर्न सकिन्छ। 

अन्त्यमा, यत्ति निवेदन गरौँ ! अध्येता, अनुुसन्धाता तथा जिज्ञासुजनलाई नेपाल प्रहरीको इतिहास नियाल्ने क्रममा सयवर्ष अघिका प्रहरी कृष्णप्रसाद आचार्यसम्बन्धी यो प्रस्तुतिले थोरै मात्र सहयोग पुर्‍याउन सक्यो भने पनि लेखकको प्रयास सार्थक ठहरिनेछ।

(पत्रकार तथा लेखक आचार्यको नयाँ कृति ‘बिर्सनै नहुने कृष्णप्रसाद’को अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell