PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाढीपीडितको बस्तीमा दशैँ दशा जस्तोः भन्छन्, ‘बासै गतिलो छैन, के दशैँ मनाउने’



पी बी खड्का

बाढीपीडितको बस्तीमा दशैँ दशा जस्तोः भन्छन्, ‘बासै गतिलो छैन, के दशैँ मनाउने’

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको व्यस्त सडक। सडकको छेउमै धुजा–धुजा परेका पालको अस्थायी शिविर। सोही शिविरमा ४ वर्षअघिदेखि च्यातिएका पालको बास बस्दै आएका बाढीपीडित। चाडपर्व नजिकिँदै गर्दा र बिस्तारै चिसो मौसम सुरु हुँदा बाढीपीडितलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता छ।

नेपालीलाई दशैँको रौनकले छोइरहँदा बाढीपीडितको बस्तीमा खाने लाउने र बासकै पिरलो छ। दिनभरि अर्काको मजदुरी गरेर बिहान बेलुका छाक टार्ने पीडित बस्तीलाई साँच्चिकै दशैँ दशा आए जस्तो भएको छ।

वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी बाढीपीडित जैकला विकलाई पनि यस्तै पिरलो छ। चाडपर्व मनाउने मान्छेको चहलपल र खुसीयाली छाइरहँदा जैकला भने निराश बनेकी छन्।

‘जुन दिन दशा लाग्यो, त्यही दिनदेखि दशैँ कस्तो हुन्छ थाहा छैन।’ निराश हुँदै जैसराले भनिन्, ‘चार वर्ष पूरा भइसक्यो हाम्रा झुप्रामा दशैँ आउन सकेन।’

दशैँ तिहारसँगै आएको चिसो मौसमले झनै पिरोलेको छ उनलाई।

‘चिसो मौसममा लगाउने न तातो कपडा छ, न त्रिपालले शीत छेक्छ। पाल पनि च्यातिएर धुजा-धुजा भयो’ उनले भनिन्, ‘चार वर्ष बित्दा पनि सरकारले कुनै चासो देखाएको छैन। बेला–बेला आउँछन् को–को आउँछन् आश्वासन मात्रै दिएर जान्छन्।’

भेरीगंगा नगरपालिका–९ को पाडुलेमा बस्दै आएका बाढीपीडितको अवस्था पनि उस्तै छ। चाडपर्व नजिकिएसँगै उनीहरुलाई कुनै रौनकले छोएको छैन। दिनभभरि गिट्टी, बालुवा विक्री गरेर खाने पीडित बस्तीलाई अहिले दशैँको कुनै महत्त्व छैन। खोलाको गिट्टी र बालुवामा व्यस्त छिन लीला बैगार।

बालुवा देखाउँदै बैगारले भनिन् ‘हाम्रा यी नभएसम्म खान बस्न केही छैन। दिनभरि यिनैसँग लडीबुडी नखेलेसम्म बिहान बेलुका हातमुख जोर्न धौधौ हुन्छ’ उनले भनिन्, ‘हामीले के दशैँ मान्ने के तिहार मान्ने। केही छैन। चाडपर्व आए भो नआए पनि भो केही मतलब हुँदैन।’

सुर्खेतका ९७१ परिवारका बाढीपीडितको त्रिपालमा दशैँ आएको छैन। २०७१ साल साउन २९, ३० र ३१ गते सुर्खेतका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडित घाटगाउँ, लेखपराजुल, गिरीघाट, झुप्राखोला, मसिना, भूतेलिताल लगायतका क्षेत्रमा बस्दै आएका छन्।

 

समितिको काम फितलो

बाढीपीडितको समस्या समाधान गर्न प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय समितिको काम निकै फितलो देखिएको छ। सरकारले समिति गठन गरेको करिब पाँच महिना बितिसक्दा पनि कुनै काम गर्न सकेको छैन। समितिले स्थानीय तहका जनप्रतिनिधहरुसँगको समन्वयमा शिविरमै पुगेर लगत संकलन कार्य बाहेक अहिलेसम्म केही गर्न सकेको छैन्।

समितिका सदस्य यज्ञ ढकालका अनुसार समितिले अहिले लगत संकलन गर्ने काम मात्रै गरेको बताए। ‘प्रदेश सरकारले यो समितिले बाढीपीडितको समस्या समाधान गर्न लागि परिरहेको छ’ उनले भने, ‘हामीले पहिलो काम भनेको अहिले बाढीपीडित शिविरमै पुगेर लगत संकलन गर्ने काम भइरहेको छ। तिहारपछि मात्रै हामी पुनस्र्थापनाका लागि काम थाल्ने छौँ।’

उनीहरुको लगत संकलन गरेपछि पुनःस्थापनाका लागि दुई वटा अप्सन भएको बताउँछन्। ‘पीडितलाई अहिले बसेकै शिविरमा बसाउने वा पुरानै स्थानमा पुनस्र्थापना गर्ने भन्ने छ’ उनले भने।

यता आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाढीपीडितको पुनःस्थापना गर्न करिब सात करोड बजेट स्वीकृत गरेको बताए।

‘हामीले भर्खर तथ्याङ्क संकलनको कामलाई तीव्रता दिएका छौँ’ उनले भने, ‘थप काम अब प्रक्रियागत तरिकाले अघि बढाउँदैछौँ। पीडितको बसोबास व्यवस्थापनका लागि सात करोड बजेट प्रदेश सरकारले छुट्टाएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell