PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भ्लादिमिर पुटिनको विरोध गर्दा जेल पुगेका विपक्षी नेता नाभाल्नी रिहा



भ्लादिमिर पुटिनको विरोध गर्दा जेल पुगेका विपक्षी नेता नाभाल्नी रिहा
फोटो : एपी

मस्को : रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी थुनामुक्त गरिएको छ।  

मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आज बिहानै मुक्त गरिएका ४२ वर्षीय नाभाल्नीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै विगत ५० दिनदेखि कारागारमा थुनिएको घटनाले राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता पूर्णरुपमा पतनको स्थितिमा पुगेको प्रमाणित भएको बताएका छन्। 

नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको तथा स्वदेशमै पनि रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको दृष्टान्त दिएका थिए। 

'कसै कसैले गिरफ्तार गरेर हामीलाई तर्साउन वा रोक्न सकिन्छ भन्ने सोचेका होलान् त्यो कदापी सम्भव छैन,' आफूलाई सहयोग गर्नेहरुप्रति धन्यवाद दिँदै उनले भने। 

रसियामा पुटिन सत्ताको विरोधमा प्रदर्शन गरेकाले सेप्टेम्बरमा नाभाल्नीलाई ३० दिन थुनामा राखिएको थियो। तर थुनामुक्त भएलगत्तै प्रहरीले उनलाई अर्को प्रदर्शनको अभियोगमा पक्राउ गरेको थियो। अवकाश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो। 

रुसी राष्ट्रपतिका पछिल्ला कार्यक्रम र नीतिहरुप्रति आमजनतामा व्यापक असन्तुष्टी रहनुका साथै उनको लोकप्रियता समेत खस्किएको विपक्षीहरूले तर्क गर्दै आएका छन्। गत महिना रुसमा सम्पन्न दुईवटा क्षेत्रीय चुनावमा समेत सत्तारुढ युनाइटेड रसिया पार्टी पराजित भएको थियो। 

रसियाका अधिकारीहरुले नाभाल्नीमाथि फौजदारी मुद्दा लगाउन सक्ने उनका समर्थकहरुले आंशका गरेका छन्। यस्तो अवस्थामा नाभाल्नीमाथि लामो काराबास सजाय हुन सक्नेछ। 

नाभाल्नी सन् २०११ र २०१२ मा पुटिनको विरोधमा धेरै विरोध प्रदर्शन आयोजना गरेर चर्चामा आएका थिए। संसदीय निर्वाचनमा धाँधली भएको आरोप लगाएका नाभाल्नीले रसियामा भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाउँदै आएका छन्। यो अभियानमा युवाको सक्रिय र व्यापक समर्थन रहेको बताइएको छ। 

मार्चमा भएको राष्ट्रपतीय निर्वाचनमा पुटिनका विरुद्धमा उठ्न नाभाल्नीलाई रोकिएको थियो। चौथो कार्यकालका लागि पुटिनको सपथग्रहण हुँदा विरोध प्रदर्शन आयोजना गरेको भन्दै नाभाल्नीलाई एक महिना थुनामा राखिएको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell