PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


दशैंले काठमाडौंलाई सिकाउने पाठ  


पहिलोपोस्ट

दशैंले काठमाडौंलाई सिकाउने पाठ  

  • दिपेश घिमिरे -
हरेक वर्षको दशैँ झैँ यस वर्ष पनि काठमाडौँ सुनसान हुँदैछ। काठमाडौँका सडक खाली–खाली हुँदैछन्। सडकमा मानिसको चहलपहल बिस्तारै पातलिँदै छ। काठमाडौँका भव्य र अग्ला घरहरूमा मानिस नै बस्दैनन् कि भन्ने झैँ लाग्न थालिसकेको छ। केही दिन अगाडिसम्मको काठमाडौँको चहलपहल, चमक दमक र शान गायब हुँदैछ। अबको एक हप्ता काठमाडौँ उराठ लाग्दो र दिक्क लाग्दो दिन भोग्दैछ।

 
हेर्दा सामान्य कुरा छ। चाडपर्वका बेलामा मानिस गाउँ फर्किए। तर, हरेक वर्ष दोहोरिने यो यथार्थताले काठमाडौँको दम्भ र घमण्डमाथि निरन्तर प्रहार गरिरहेको छ। काठमाडौँको शान, सौकत कति अस्थायी हो भन्ने यसले प्रष्ट्याइरहेको छ। सम्पूर्ण देश भनेकै मै हुँ र मेरो आवाजले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्दछ भन्ने काठमाडौँको आत्मरति माथि हरेक वर्ष दशैँले बलियोसँग प्रश्न गरिरहन्छ। त्यसैले काठमाडौँ अर्थात् “केन्द्र”ले आफ्नो अहङ्कार र दम्भ रूपी व्यवहारलाई पुनरावलोकन गर्नु आवश्यक देखिन्छ। यसका केही खास कारण छन्।  

पहिलो कुरा काठमाडौँको शान, शौकत तथा हिजोआजको चर्चित शब्द समृद्धि दुर्गम गाउँको वैशाखीमा टिकेको छ। काठमाडौँमा व्यापार गर्नेदेखि सेवा दिने अधिकांश जनशक्ति काठमाडौँले सधैभरि हेप्ने त्यही दुर्गम गाउँघरले जन्माई दिएको छ। बच्चापनको रेखदेख तथा स्याहार सुसार त्यही दुर्गम गाउँघरले गरिदिएको छ। काठमाडौँमा सबैभन्दा महङ्गो बनेको शिक्षा गाउँघरले ती बालबालिकालाई दिएर काठमाडौँले खोजे अनुसारको सिर्जनशील तथा कर्मशील जनशक्ति बनाइदिएको छ। त्यही बच्चा युवा भएपछि अर्थात् उनीहरुको उत्पादनशील समय सुरु भएपछि काठमाडौँ आउँछ र तिनीहरुको सिर्जनशील दिमाग र बलियो पाखुराको भरमा काठमाडौँले आफ्नो रवाफ फैलाएको छ। काठमाडौँको आफ्नो खास उत्पादन त युरोप अमेरिकामा भासिएको छ।  

दोस्रो कुरा भनेको काठमाडौँको अर्थतन्त्र, राजनीति, व्यापार, समाज सबै गाउँको आडमा माथि उठेको हो। दशैँको अवधिमा काठमाडौँको अर्थतन्त्र पनि बन्द प्रायः हुन्छ। अझ भनौँ अर्थतन्त्र दशैसँगै काठमाडौँलाई छाडेर गाउँ छिर्छ। काठमाडौँमा व्यापार ठप्प हुन्छ गाउँका चोक, बजार तथा हाटमा ह्वात्तै बढ्छ। यहाँको राजनीति गाउँको चिया पसल तथा चोक तथा गल्लीमा पुगेको हुन्छ। नेतादेखि कार्यकर्तासम्म दशैँमा गाउँमै पुगेका हुन्छन्। तिनीहरुसँगै प्लेन वा गाडी चढेर राजनीति थोरै समयको लागि भए पनि ग्रामीण इलाकामा पुग्छ।


अर्को सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको काठमाडौँको सामाजिक भावना नै गाउँ जान्छ। दशैँको बेलामा काठमाडौँको समाज एक आपसमा अन्तर्क्रिया गर्दैन। काठमाडौँमा सामाजिक भावना तथा एकता कत्तिको छ भन्ने अध्ययन गर्ने हो भने दशैँको चार दिनले वास्तविक तस्बिर अगाडि ल्याउँछ। यहाँको समाज अन्तर्क्रियाविहीन प्रायः हुन्छ। आफ्नो कोठा वा आफ्नो  फ्ल्याट वा आफ्नो घरबाट बाहिर निस्किँदैन। यहाँको समाजलाई जीवन्तता दिने, अन्तर्क्रिया गर्ने, सामाजिक बन्नको लागि प्रेरित गर्ने भनेको त्यही गाउँबाट आएकाहरुले हो। जुन गाउँलेहरु दशैँ मनाउनको लागि गाउँमा फर्किँदा काठमाडौँले अन्तर्क्रिया तथा छलफल गर्न भुल्दैछ वा गर्न जान्दैन वा सक्दैन। 


तेस्रो पक्ष भनेको काठमाडौँले सधैभरि आफ्नो जनसंख्या धेरै भएको घमण्ड र दम्भ गर्दछ र त्यसै अनुसारको केन्द्रीय बजेटमा हिस्सा खोज्दछ। काठमाडौँले आफ्नो जनसंख्या करिब ५० लाख भएको दाबी गर्दै आएको छ। नेपालको जनसंख्या तथा बसाइसराईको परिभाषा अनुसार त्यो सही नै होला। किनकि यो परिभाषाले ६ महिनाभन्दा बढी समय कुनै स्थानमा बसोबास गर्‍यो भने त्यसलाई बसाइसराई मान्दछ। तर दशैँको समयमा हेर्दा काठमाडौँको खास जनसंख्या कति हो भन्ने स्पष्टसँग देखिन्छ। भौतिक रुपमा मानिस यहाँ बसे पनि अलिकति फुर्सद पायो भने त्यो मानिस गाउँमै पुग्न चाहन्छ। यसले स्पष्ट पार्दछ काठमाडौँको खास जनसंख्या यसले दाबी गरेको जस्तो संख्यामा छैन। भावनात्मक रूपमा बस्नेको संख्या त झनै कम छ। यसलाई भुल्न मिल्दैन । 


चौथो पक्ष भनेको अहिलेसम्म काठमाडौँले आफ्नो विकास भए देशकै विकास हुने दलिल पेस गरिरहेको छ। काठमाडौँ यति बेला केही मनोरेल वा मेट्रोरेल खोजी रहेछ। चौडा सडक र सुविधा सम्पन्नताको लागि सिंहदरबारलाई निरन्तर दबाव दिइरहेको छ। काठमाडौँको विकाससँगै देशकै विकास हुन्छ भन्ने दलिल आफैँमा सही होइन। दशैँको चार दिने बिदाले स्पष्ट पार्दछ काठमाडौँको विकासले मात्र समग्र देशलाई बोक्न सक्दैन। समग्र देशको रूपान्तरण र आर्थिक प्रगतिको सूचक बन्न सक्दैन।

केही वर्षअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँको सडक फराकिलो पारेर नयाँ नेपाल अभियानको सुरुवात गरेको भाषण गरेका थिए। काठमाडौँको दबाब वा प्रभावमा परेर उनले यो भाषण गरेका थिए शायद। काठमाडौँको सडक ठूलो पारेर दुर्गम गाउँघरका नागरिकलाई के फरक पर्‍यो? काठमाडौँको सडक सुविधा सम्पन्न पारेर के गाउँघरको सडक दुर्घटनालाई घटाउन सकियो र? काठमाडौँको सडक फराकिलो पारेर त्रिशुलीको साँघुरो सडकमा गाडी जुध्नबाट रोक्न सकियो र? सकिएन। त्यसो हो भने देशको विकास गर्ने सन्दर्भमा काठमाडौँको विकासलाई मात्र दिमागमा बनिरहेका योजना निर्माण प्रक्रियामा गम्भीर त्रुटि छ।

काठमाडौँ महानगरपालिकाको बजेट मात्रै सिङ्गो डोल्पाको भन्दा दोब्बर बढी छ। के यो मोडलको विकासले देश रूपान्तरण हुन सक्छ? यदि समग्र देशकै प्रतिनिधित्व गर्ने काठमाडौँको चाहना हो भने अब ठूलो मात्राको बजेट यही खर्च हुनुपर्दछ भन्ने हठ पनि उसले छोड्न सक्नु पर्दछ। कम्तीमा संघीयताले यही माग गर्दछ। 


पाँचौँ पक्ष भनेको नेपालको दुर्गम गाउँको विपन्नता काठमाडौँ अनि काठमाडौँ जस्ता शहरहरुको विभेदको उपज हो। समाजशास्त्री माइकल लिप्टन संसारभरको ग्रामीण विपन्नता शहरी विभेदले सिर्जना गरेको दुखद् परिणाम हो भन्दछन्। लिप्टनका अनुसार शहरले जहिले पनि ग्रामीण क्षेत्रलाई विभेद गर्दछ। शहरले गाउँलाई शोषण गर्दछ। यही शोषण र विभेदको ढाडमा टेकेर शहर समृद्धिको बाटोमा अगाडि बढ्दछ भने ग्रामीण क्षेत्र गरिबीको दुष्चक्रमा फस्दछ। नेपालको दुर्गम गाउँको विपन्नता र काठमाडौँको सम्पन्नतालाई यही दृष्टिकोणबाट हेर्न सकिन्छ।


शहर र गाउँमा उत्पादनको मूल्यमा हुने फरकपना, शहर र गाउँको ज्यालामा रहेको असमानता, स्रोत विनियोजनमा भएको विभेद तथा क्रमशः घट्दै गएको कृषि क्षेत्रको बजेट र अनुदान जस्ता कारणले गाउँमा विपन्नता बढेको छ भने शहरले दम्भ गर्ने ठाउँ पाएको हो। यो शहरी विभेदको मूल जरोलाई पहिचान गरेर यसको उन्मुलनमा काठमाडौँले नै गाउँलाई सहयोग गर्‍यो भने मात्र समग्र देशको प्रतिनिधित्व गर्न सक्ने यसले सामर्थ्य बोक्छ। 

यस वास्तविकतालाई आत्मसाथ गरेर काठमाडौँले आफूलाई केन्द्रमै राखिराख्न केही यथार्थता र वास्तविकता छिटो सम्बोधन गर्न तयार हुनुपर्दछ। पहिलो आफूसँग भएको अधिकार सकेसम्म धेरै र सकेसम्म छिटो विकेन्द्रीकरण गर्न तयार हुनुपर्दछ। अहिले संघीयता कार्यान्वयनको सन्दर्भमा देखिएका विरोधाभास र केन्द्रीकृत मानसिकता त्याग्नु जरुरी छ। संघीयतामा पनि अधिकार तल पठाउन काठमाडौँले रोकिराखेको वा अल्झाइरहेको हो भने यो उसको यसले भोलिको दिनमा काठमाडौँलाई नै हानी गर्दछ।

काठमाडौँले आफ्नो अधिकार तथा शक्ति दुर्गम गाउँबाट “नासो” लिएको हो। गाउँको नासो गाउँलाई नै छिटोभन्दा छिटो फिर्ता गर्दा उसको लागि राम्रो हुन्छ। यसै गरी काठमाडौँले अधिकार मात्र होइन आर्थिक विकेन्द्रीकरणको लागि पनि उदार हुनुपर्दछ। पैसा बिनाको शक्तिले गाउँलाई झनै धेरै आक्रोशित र आन्दोलित बनाउँदछ। यसले झनै थप समस्याहरू ल्याउने सम्भावना हुन्छ। त्यसैले काठमाडौँले आफ्नो दम्भ छाड्न तयार हुनुपर्दछ। किनकि अब समग्र देश काठमाडौँले मात्र बोक्न सक्दैन, प्रतिनिधित्व गर्न सक्दैन।  



दशैंले काठमाडौंलाई सिकाउने पाठ   को लागी ५ प्रतिक्रिया(हरु)

Purna Chandra Shakya [ 2018-10-17 12:44:41 ]
काठमांडूले मात्रै सिक्ने कि काठमांडूमा आएर २-४ बर्ष रमे पछि अनेक तिकदम गरेर घरघडेरी जोड्ने अनि गाउँमा गएर माकफुईगर्ने, अनि काठमांडूलाई सत्तो-सराप गर्नेले पनि सिक्ने, के आफ्नो गाउँ ठाउँ बनाउने कुनै मनुवा जन्माउन सक्यौ त ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sunil [ 2018-10-17 07:21:36 ]
हरेक काठमाण्डौ वाहिरकावासीको दम्भ र दरिद्र मानसिकता उपज हो यो लेख। काठमाण्डौलाई यो अवस्थामा पुर्याउन तपाईं जस्तो ठुला भनाउंदा नै हो। आफ्नो वृद्दि विकासमा गाउॅले अड्को थापे पछी गाउॅलाई तिलाञ्जली दिनु भयो र काठमाण्डौलाई अंगालो लगाउनु भयो। जसरी काठमाण्डौलाई उत्कृष्ट शहरबाट निकृष्टमा पुर्याउनु भयो सक्नुहुन्छ भने आफ्नो गाउंलाई स्वर्ग बनाउनुहोस्। यस्तालाई भन्छन् जुन थालमा खायो त्यही थालमा आची गर्ने ।पहिला आफ्नो गाउॅलाई अहिले काठमाण्डौलाई ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Kanchan Neupane [ 2018-10-15 14:18:56 ]
सरकारी अहाेदमा पुग्ने र भ्रष्टाचार गर्नेहरु पनि गाउँबाटै थुप्रिएकाहरु त हुन् । अाज भन्दा ३० वर्ष अघिकाे काठमाडाै‌ हेरेर चाँही जिल्लावासीले के सिक्ने ? फोहोर गर्ने र काठमाडौं बिगार्ने त मै रहेछु भनेर कहिले सिक्ने ? ठूला कुरा मात्र गरेर के गर्नु ? आफ्नै गाउँठाउँमा टिक्न नसक्ने त तपाईंहरु नै हो ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


पुरुषोत्तम श्रेष्ठ [ 2018-10-15 09:42:31 ]
स्तम्भकार महोदय काठमाडौं जन्मदै सम्पन्नता वैभवसाली अधिकार सम्पन्नता ले भरिएको होईन आज भन्दा ३० बर्ष अगाडि को तस्बिर आकडा हेर्नुस् हिजो का छोरी भोलि कसैत्को पत्नी र कसै को आमा हो जब आमा सम्पूर्ण समाज र जिवन पद्धति ले मान सम्मान गर्छन् भने तपाई बिरोधाभाष किन ? हिजो का रैथाने को के रहेछ अस्तित्व ? वैभव शक्ति धारा मा पानी छैन हिडने बाटो प्रदुषण फोहर कोलाहल नैतिकताहिन भ्रष्टाचार ब्यभिचार यो आफै बनेको होईन बनाईराख्नु कसको हात ? हाम्रो समाज कस्तो छ हर समस्या उठाई दिन्छ तर समाधान कहिल्यै दिदैन यो कटु सत्य हो हामी मा आलोचना र ईर्ष्या मात्रै भयो प्रेम र सदभाव कहिल्यै भएन ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bikram [ 2018-10-14 17:20:55 ]
— १ पटक सम्पादित
Com'n, Ghimire Baaje we Kathmaduties challenge you, you outer valley guys never come back again in ktm. We will want to repeat a golden era of our ancienter's Malla dynasty's development. We humbly request to government to take all facilities in your place so that you lazy people can stay in your place at least. Because we Kathmanduties are always capable to develop own community n city. You can see our history for your convenience.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट