PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रहरीभित्र आर्थिक चलखेलः १२ भन्दा बढी प्रहरी अनुसन्धानको घेरामा, शङ्कास्पद प्रहरी निगरानीमा



सविन ढकाल

प्रहरीभित्र आर्थिक चलखेलः १२ भन्दा बढी प्रहरी अनुसन्धानको घेरामा, शङ्कास्पद प्रहरी निगरानीमा

काठमाडौँ : 'प्रहरीभित्र लेनदेनको कुरा सुनिरहेको छु। आजबाट सुन्न नपरोस्,' प्रहरीले आर्थिक लेनदेन गरिरहेको सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही दिनअघि आफू मातहतका कर्मचारीलाई चेतावनी दिए, 'अब म सहन सक्दिनँ।' 

उनी यति मै रोकिएनन्। केही दिनअघि महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्याम राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको घटना ताजै थियो। उनले थपे, 'पैसा कमाउने भए सङ्गठन छोडेर गए हुन्छ। विदेश गए हुन्छ वा व्यापार गर्दा हुन्छ।'

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

अख्तियारको टोलीले चार साताभित्रै १ डिएसपीसहित १० जना प्रहरीलाई घुससहित पक्राउ गरिसकेको छ। गत भदौ ३० गते अख्तियारले एकै दिन ९ जना प्रहरीलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको थियो। मनहरा खोलाको बालुवा निकाल्नको लागि ठेकेदारहरूसँग घुस लिइरहेको अवस्थामा दुई जना असई, तीन जना हवल्दार र चार जना जवानलाई पक्राउ गरिएको थियो। 

निर्मला प्रकरणले प्रहरीप्रति विश्वास गुम्दै गएको बेला घुसमा समेत प्रहरी मुछिँदा यसअघि जुनियर तहमा रहँदा मिडियामा सेलिब्रिटी छवि बनाएका प्रहरी प्रमुख ‘टेन्सन’मा छन्। त्यसमाथि काठमाडौँका वृत्तहरुको प्रमुख हुन पनि डिएसपीहरुले ठूलै लगानी गरेर आउँछन् भन्ने आरोप छँदैछ।
 
महानिरीक्षक खनालले ब्रिफिङमा थपे, 'एक वर्षलाई वृत्त प्रमुख भएँ भनेर ढुक्क भएर नबस्नुस्, तपाईँको क्षमता र काम देखिएन भने एक वर्ष त के ३/४ महिनामा नै फेरिदिन्छु। चाँडै केही वृत्तका प्रमुख फेरिँदै छन्। नागरिक मैत्री भएर काम गर्नुभयो भने एक वर्ष होइन १४/१८ महिनासम्म लम्बिन सक्छ।'

एक हप्ताअघि मात्रै बौद्ध,  थानकोट र सातदोबाटो वृत्तका डिएसपी फेरिएका थिए। 

काठमाडौँ प्रहरी प्रमुख वसन्त लामा। 

महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मेवारी अहिले एसएसपी वसन्त लामाले सम्हालेका छन्। महानिरीक्षक खनालको ब्रिफ्रिङ लगत्तै एसएसपी लामाले आफ्ना केही वृत्त प्रमुखलाई त्यही ब्रिफ्रिङ स्थलको एउटा कुनामा डाके। उनले पनि महानिरीक्षककै शैलीमा सम्झाएको एक प्रहरीले जानकारी दिए।

भदौमा लामा काठमाडौँ प्रहरी प्रमुख भएर आए लगत्तै यहाँका प्रहरीहरुको आर्थिक लेनदेन सतहमा आएको हो। आफ्नो नेतृत्वमा रहेका प्रहरीहरुले लेनदेन गरेको खुल्न थालेपछि अहिले उनी कर्मचारीको शुद्धिकरण भन्दै प्रहरीको छड्के जाँच गरिरहेका छन्।

१२ प्रहरी अनुसन्धानको दायरामा

महानगरीय प्रहरी परिसर काठमाडौँले अहिले लेनदेन गर्ने प्रहरीको निगरानी गर्न छुट्टै टोली गठन गरेको छ। टोलीले लेनदेन गर्ने, सेवाग्राहीलाई दुःख दिने प्रहरीमाथि गोप्य अनुसन्धान तथा निगरानी गर्ने एसएसपी वसन्त लामाले जानकारी दिए। 

उनले भने, 'यो प्रहरीले प्रहरीमाथि नै गर्ने अनुसन्धान हो। कसैले आर्थिक चलखेल गरी कुनै काम गरेको भए हामी कारबाही गर्छौँ।' 

परिसरले अहिले कमलपोखरी, थानकोट, साँखु लगायतका वृत्तका प्रहरीमाथि अनुसन्धान गरिरहेको छ। एसएसपी लामाले १२ जनाभन्दा बढी प्रहरीहरूमाथि लेनदेनको विषयमा अनुसन्धान भइरहेको पुष्टि गरे। उनी भन्छन्, 'केही हाम्रो निगरानीमा समेत छन्।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell