PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालको आफ्नै रेल चलाउन आवश्यक तयारी गर्न सरकारको निर्देशन



पहिलोपोस्ट

नेपालको आफ्नै रेल चलाउन आवश्यक तयारी गर्न सरकारको निर्देशन
जनकपुरबाट जयनगर चल्ने नेपाल रेल्वेको पुरानो डब्बा। फाइल फोटो

काठमाडौँ : सरकारले जनकपुर-जयनगर रेलमार्गमा नेपालको आफ्नै रेल चलाउने निर्णय गरेको छ। 

भारतको सहयोगमा रेलको लिक बिछ्याउने काम सकिन लागेपछि आफ्नै रेल संचालनका लागि आवश्यक कानुनी तथा संरचनागत तयारीको काम गर्न आज बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म निर्माणाधीन रेलमार्गमा आगामी पुसदेखि रेल संचालनमा आउने तयारी छ। 

सरकारले आर्थिक बर्ष २०७५/०७६ मा रेल खरिद गर्नका लागि ५० करोड रुपैया छुट्याएको छ। तर रेल किन्नका लागि करिव २ अर्ब रुपैयाँ आवश्यक पर्छ। त्यसैले हाललाई भाडामा लिने प्रक्रिया अघि बढाएको विभागले जनाएको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले पुससम्ममा रेलमार्गको आवश्यक पूर्वाधार, सिग्नलिङ, स्टेशन निर्माण लगायतका सबै तयारी सकेर संचालन गर्ने गरी काम भइरहेको जानकारी दिए। रेलमार्ग निर्माण सम्पन्न हुने पक्कापक्कीजस्तै भएकाले पुससम्म रेलमार्ग उद्घाटन गरेर संचालनमा ल्याउने विभागको योजना छ।

हालका लागि रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले भारतीय पक्षसँग रेल भाडामा ल्याएर संचालन गर्नका लागि छलफल भैरहेको महानिर्देशक मिश्रले जानकारी दिए। नेपालमा अहिले रेल नभएकाले किन्न भन्दा भाडामा लिएर चलाउन उपयुक्त हुने उनको तर्क छ। 

महानिर्देशक मिश्रका अनुसार भारतीय रेल भाडामा ल्याएर संचालन गर्ने एक खालको सहमती बनिसकेको छ। 'हामी भारतीय पक्षसँग निरन्तर छलफलमा छौं, भारतीय पक्षले केहि दिनभित्रै लिजको ड्राफ्ट पठाउदैछन्। द्विपक्षीय छलफल हुन्छ त्यसपछि एमओयु गरेर रेल भाडामा लिने विषय टुङग्याउछौं' उनले भने। मंसिरसम्ममा रेल लिजमा लिने प्रक्रिया सक्ने बताइएको छ। त्यतिबेलासम्म रेलमार्गको परिक्षण गरेर तयारी अवस्थामा राखिने रेल विभागको भनार्इ छ। अहिले करिब १८ किमी रेलमार्गको परिक्षण भैसकेको छ।

रेल विभागका अनुसार भारतमा बढी जसो ठाउमा अहिले व्रोडगेज संचालनमा रहेको छ। अहिले निर्माणाधीन जयनगर-जनकपुर रेलमार्गमा पनि व्रोड गेज रेलमार्ग निर्माण भैरहेको छ। त्यसैले नेपालमा भारतीय रेल संचालन गर्न सहज हुने नेपालको अपेक्षा छ।

१० वटा डिब्बा तान्न सक्ने इन्जिनसहितको रेल लिजमा लिन लागिएको हो। यस्तो मोडलमा रेल लिजमा लिएर संचालन गर्दा एक वा दुर्इ बर्षका लागि लिइन्छ। यो अवधिमा नेपाली प्राविधिकहरुलार्इ रेल संचालन गर्न सक्ने बनाइन्छ। त्यसबीचमा नेपाल आफैले रेल किनेर तयार गर्ने छ। त्यसपछि नेपालको आफ्नै रेल संचालन हुने छ।

नेपाल भारत क्रस वोर्डर रेलसेवा संचालनसम्वन्धि परियोजना स्टेरिङ कमिटी (पिएससी) को बैठक करिव तीन महिनाअघि काठमाडौंमा भएको थियो। बैठकमा भारतीय रेल 'वेट लिज' मार्फत भाडामा लिनेदिनेमा दुवैपक्ष सकारात्मक थिए।

छलफल भएको केहि समयपछि रेल विभागका तत्कालीन महानिर्देशक अनन्त आचार्यको नेतृत्वमा एउटा टोली भारत गएको थियो। जयनगर-जनकपुर रेलमार्ग संचालनका लागि भारतीय सरकारी अधिकारीहरुसँग छलफल भएको थियो।

छलफलको क्रममा भारतीय पक्षले नेपाललार्इ रेल भाडामा दिने चाहाना व्यक्त गरेका थिए। तर नेपाली टोली र भारतका वीचमा भाडामा लिनेदिने कुरामा सहमत जस्तै भएपनि कुनै ठोस निर्णय भने गरेनन्। त्यसपछि भारतीय पक्षसँग छलफल हुन सकेको थिएन। रेल विभागका अनुसार पछिल्लो समय फेरि भारतीय पक्षसँग रेल भाडामा लिने विषयमा छलफल हुने भएको छ।

जयननगर-जनकपुर रेलमार्ग भारत सरकारको १० अर्ब रुपैया अनुदान सहयोगमा निर्माण भैरहेको छ। जयनगर-बर्दिवाससम्मको ६९ किलोमिटरमा रेलमार्ग निर्माण गर्ने लागिएको छ। केही वर्ष अघिसम्म जनकपुरसम्म रेलसेवा संचालनमा थियो। बन्द रेलमार्गलार्इ बढाएर बर्दिवाससम्म रेलसेवा संचालन गर्ने तयारी छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell