PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय: रौहानी, विश्वमा आज



आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय: रौहानी, विश्वमा आज

इरानको भनाइ

इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय भएको इरानका प्रधानमन्त्री हसन रौहानीले बताएका छन्।

अमेरिकासहितका विश्वका ६ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु इस्लामिक गणतन्त्र इरानको अमेरिकासँगको ‘नैतिक एवम् वौद्धिक’ जीत भएको रौहानीले बताए।

वासिङटनले सन् २०१५ को आणविक सम्झौताबाट गत मे महिनामा पछि हट्नु र इरानविरुद्धको आर्थिक नाकावन्दी पुनः घोषणा गर्नुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उचित निर्णय’ बताएका छन्।

अमेरिकाले इरानविरुद्धको पेट्रोलियम क्षेत्र र केन्द्रीय बैंकलाई लक्षित गरी लगाउने प्रतिबन्धलाई आगामी नोभेम्बर ५ सम्ममा सम्पन्न गर्ने बताउँदै आएको छ।


उडान नगर्ने चेतावनी

सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको जनाइएको छ। एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई पत्र लेख्दै विश्वभर रहेका आफ्ना कार्यालयमा सुरक्षा गार्डको व्यवस्थालाई निरन्तरता दिने कुरामा विदेश मन्त्रालयले कुनै चासो नदिएपछि सबै उडानहरू अवरूद्ध गर्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। 

टर्कीमा आप्रवासीको मृत्यु

टर्कीमा सडक दुर्घटनामा परी २२ जना आप्रवासीको मृत्यु भएको छ। मृत्युहरुमा अधिकांश बालबालिका रहेका छन्। आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त इज्मीरमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा अरु ११ जना घाइते भएका छन्। घाइतेहरुलाई नजिकको अस्पतालमा उपचार भइरहेको छ। 

म्याटिसको विदाइ ? 

अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रीपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो। आफुले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उनलाई बिदा दिने बिषयमा कुनै कुराकानी नभएको ट्रम्पले बताए। ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजिनामापछि आफ्नो मन्त्रीमण्डलमा केही परिवर्तन गर्न चाहेको बताउँदै आएका छन्। 

इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग

विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। हालैमात्र सुलावेसी द्वीपको पालु शहरमा भूकम्प र सुनामीबाट २ हजारभन्दा बढी मानिसको मृत्यु हुनुका साथै हजारौं व्यक्ति बेपत्ता भएका थिए। इन्डोनेसियाको बालीमा हाल अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको संयुक्त वार्षिक बैठक चलिरहेको छ।बैंकले उपलब्ध गराउने ऋण पुनर्निर्माणका लागि प्रयोग गर्न सकिने छ।

तस्विर: CBS NEWS/ AP/AFP/GETTY IMAGE/ NBC NEWS/BBC



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell