PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

३३ किलो सुन प्रकरणः एक अभियुक्त पक्राउ गरी काठमाडौं ल्याइयो



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणः एक अभियुक्त पक्राउ गरी काठमाडौं ल्याइयो

काठमाडौः  सनम शाक्य हत्या र सुन प्रकरणमा प्रहरीले खोजी गरिरहेका एक अभियुक्त पक्राउ परेका छन्। 

सुनसरी इटहरी उपमहानगरपालिका  घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठलाई संयुक्त अरब इमिरेट्समा पक्राउ गरिएको हो। इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ भएका श्रेष्ठलाई आइतबार करिब दिउँसो ३ बजे काठमाडौँ ल्याइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए। 

श्रेष्ठ विरुद्ध जिल्ला अदालत मोरङमा फरार अभियुक्तका रूपमा मुद्दा दायर छ। श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठ विरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो। श्रेष्ठ सुन तस्करीसँगै हुन्डीको कारोबारी समेत रहेको खुल्न आएको छ।

३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती अरू पनि प्रहरीको रेड कर्नर नोटिसमा छन्। उप्रेती पक्राउ परे पनि नेपाल ल्याउने प्रकृया चलिरहेको प्रहरीले जनाएको छ। सुन प्रकरणमा जिल्ला अदालत मोरङको आदेश अनुसार थुनामा रहेका केही केही प्रहरीलाई भने उच्च अदालत विराटनगरले थुनामुक्त गर्न आदेश दिइसकेको छ। एसएसपी दिवेश लोहनी,एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, पूर्वडिआइजी गोविन्द निरौला थुना मुक्त भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell