PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुबईमा समातिएर नेपाल ल्याइएका श्रेष्ठ भन्छन् : ३३ किलोमा मेरो सुन थिएन



सविन ढकाल

दुबईमा समातिएर नेपाल ल्याइएका श्रेष्ठ भन्छन् : ३३ किलोमा मेरो सुन थिएन
प्रतीकात्मक फाइल फोटो

काठमाडौं : सनम शाक्य हत्या र सुन प्रकरणमा प्रहरीले आइतबार संयुक्त अरब इमिरेट्समाबाट प्रकाउ गरी काठमाडौँ ल्याइएका ३२ वर्षीय बेनु श्रेष्ठको प्रहरीले बयान लिएको छ। 

सोमवार बिहान श्रेष्ठसँग सरकारले सुन प्रकरण बारे छानबिन गर्ने गठित उच्चस्तरीय छानबिन समितिका केही सदस्यले बयान लिएका हुन्। बयानमा श्रेष्ठले आफ्नो सुन तस्करीमा संलग्नता रहेको स्वीकार गरेको एक प्रहरीले जानकारी दिए। 'सुरुमा त गोरे लगायत कसैलाई चिन्दिन भन्दै थिए। पछि हामीले सबुत प्रमाण देखाएपछि उनले स्वीकार गरे,' एक प्रहरी अधिकृतले भने।

सुनसरी इटहरी उपमहानगरपालिका घर भएका श्रेष्ठ दुई वर्षदेखि दुबईमा बसेर सुन तस्करी गरिरहेको खुलेको हो। इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ परेका श्रेष्ठलाई आइतबार करिब दिउँसो ३ बजे काठमाडौँ ल्याइएको हो। श्रेष्ठविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर छ। बयानमा श्रेष्ठले माघ ९ गते विमानस्थलबाट बाहिरिएपछि हराएको ३३ किलो सुनमा आफ्नो लगानी नभएको समेत खुलाएका छन्। एक प्रहरी अधिकृतले भने, 'पछिल्लो ३३ किलो सुनमा उसको लगानी नभएको देखिएको छ। उनले त्यो कुरा स्वीकार समेत गरेका छन्। तर, दुई वर्ष अगाडि केन्द्रीय अनुसन्धान व्यूरोले बरामद गरेको ३४ किलो सुनमा भने २ किलो श्रेष्ठको भएको खुलेको हो।'

सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपित चुरामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठ विरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो। श्रेष्ठले दुबईमा एक आइटी कम्पनीमा समेत काम गर्ने गरेका छन्।

श्रेष्ठको सुरुमा सुन व्यापारी हुन्। भोजपुर, इटहरी, काठमाडौँमा उनको सुन पसल थियो। सुनको कारोबार गर्ने क्रममामा चुडामणि उप्रेती गोरेसँग भेटभएपछि उनी सुन तस्करीमा छिरेको प्रहरीको दाबी छ। 

गोरेका भाइ रमेश उप्रेती पनि दुबईमा पक्राउ परिसकेका छन्। उप्रेतीलाई नेपाल झिकाउने कानुनी प्रक्रिया भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell