PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्ड र रामचन्द्रले टीका नलगाउने, प्रमुख दलका कुन नेताले कसरी मनाउँदैछन् दशैँ?



पहिलोपोस्ट

प्रचण्ड र रामचन्द्रले टीका नलगाउने, प्रमुख दलका कुन नेताले कसरी मनाउँदैछन् दशैँ?

काठमाडौँ : आफन्तजन सबै एक ठाउँमा जम्मा भएर मिठो परिकारको स्वाद लिँदै मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद लिएर मनाइने दशैँ पर्वको छुट्टै महत्व छ। 
दशैँ हिन्दु नेपालीहरुको महान चाड भए पनि पछिल्लो समय क्रान्तिकारी नेताहरुलेसमेत सांस्कृतिक रुपमा अर्थ्याउँदै मनाउन थालेका छन्। 
कुन राजनीतिक दलका नेताहरु कसरी दशैँ मनाउँदै छन्? 

केपी शर्मा ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले दशैँमा प्रधानमन्त्री निवास बालुवाटारमा नै कार्यकर्ता,शुभेच्छुकलार्इ टीका लगाइ दिने कार्यक्रम रहेको छ। 
त्यसअघि ओली नवमीमा गृह जिल्ला जानेछन्। नेकपाको झापा जिल्ला कमिटिले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन्।

पुष्पकमल दाहाल 'प्रचण्ड'

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसपालिको दशैँ टीकारहितनेता कार्यकर्ताका बीच भेटघाटका साथै शुभकामना आदान प्रदान गर्दै  काठमाडौँमै मनाउने भएका छन्।
छोरा प्रकाश दाहाल बितेको वर्षदिन नपुगेकाले यसपालि उनले टीका नलगाउने भएका हुन्। पार्टीका विभिन्न भ्रातृ संगठनलगायतका संस्थाले आयोजना गरेका दशैँ तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् उनी। 

शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदा झै यसपालि पनि काठमाडौँको बुढानिलकण्ठस्थित निवासमा दशैँ मनाउने योजना बनाएका छन्। दशैँमा कार्यकर्ता र विभिन्न आफन्तजनलार्इ टीका लगाइदिने कार्यक्रम पनि रहेको छ। साथै दशैँ, तिहार र छठ पर्वको अवसरमा कात्तिक ७ गते पार्टीले आयोजना गर्ने भनिएको चियापान समारोह भने चक्र बास्तोलाको निधनका कारण कात्तिक १६ मा सारिएको छ। 

माधवकुमार नेपाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता नेपालले काठमाडौँमा परिवारजनबीच दशैँ मनाउने भएका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट तथा शुभकामना आदान प्रदान पनि गर्ने छन्। टाढा रहेका आफन्तजनलार्इ घरमा बोलाएर दशैँको टीका लगाइदिने भएका छन्।
साथै उनले विभिन्न कार्यक्रममा सहभागी भई शुभकामना आदान प्रदान गर्ने छन्।

झलनाथ खनाल

पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता खनालले यो दशैँ काठमाडौँमै मनाउने भएका छन्। आफन्तलार्इ घरमा बेलार टिका लगाइ दिने सोचमा छन् उनी। समय मिलेमा काठमाडौँ वरपरका डाँडाकाँडामा घुम्न जाने योजना बनाएका छन् नेता खनालले।

रामचन्द्र पौडेल 

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको यसपालिको दशैँ तीर्थस्थलको भ्रमणमा बित्ने भएको छ। उनका जेठा ज्वाइँ बितेकाले दशैँमा टीका लगाउने काम नहुने भएको छ जसकारण उनी भारतको बद्रीकेदार तीर्थस्थल जाने भएका छन्। पौडेल असोज ३० गते त्यसतर्फ प्रस्थान गर्नेछन्।

विष्णु पौडेल

नेकपाका महासचिव पौडेलले यसपालिको दशैँ पृथक तरिकाले मनाउने सोच बनाएका छन्। सपरिवार महासचिव पौडेल पश्चिमका जिल्लाको पोखरा र स्याङ्जामा घुमघाम गरेर दशैँ मनाउने योजनामा छन्। उनले त्यहाँका नेता कार्यकर्ताबीच शुभकामना आदान प्रदान तथा टीका ग्रहण गर्ने छन्।

शशांक कोइराला

कांग्रेस महामन्त्री कोइराला पूर्वका विभिन्न जिल्लामा कार्यकर्तासँगको शुभकामना आदान प्रदान कार्यक्रम सकेर असोज २७ गते काठमाडौँ आइसकेका छन्। अब उनी दशैँ बाँकी दिन काठमाडौँमै मनाउने तयारीमा छन्।
सदा झैँ उनी दाजु प्रकाश कोइराला कहाँ गएर टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ। साथै कोइराला परिवारका सबै जनाले त्यतै टीका ग्रहण गर्ने कार्यक्रममा रहेको छ। उनले त्यहाँ आउने कार्यकतालार्इ टीका लगाइदिने छन्। 

प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिंहको दशैँ सदाका वर्ष झैँ यसपालि पनि राजनीतिक भेटघाट र आफन्तसँगको भलाकुसारीमा बित्दैछ। उनी घटस्थापनाको दिनदेखि नै नेता कार्यकर्तासँग दशैँको शुभकामना आदान प्रदानमा जुटेका छन्। उनले दशैँको दिन विभिन्न मठ मन्दिरमा गएर पूजा गर्नेछन्। 

नारायणकाजी श्रेष्ठ 

नेकपाका प्रवक्ता श्रेष्ठले पनि यसपलिको दशैँ विभिन्न जिल्लाका नेता कार्यकर्ताका माझ मनाउने योजना बनाएका छन्।
उनी चितवन, गोरखा र बर्दिवासमा नेता कार्यकर्तासँग दशैँको शुभकामना आदानप्रदानका क्रममा छन्। चितवनबाट शुरु भएको दशैँ टीकाका दिन काठमाडौँमा आएर आफ्ना दाजुका हातबाट टीका ग्रहण गरेर यसपालिको दशैँलार्इ बिदार्इ गर्ने योजनाका छन् उनी।

विश्वप्रकाश शर्मा

कांग्रेस प्रवक्ता शर्माले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग शुभकामना आदान प्रदानका साथै एक दिने निःशुल्क स्वास्थ्य शिविर राखेर दशैँलार्इ सामाजिक कार्यमा जोडने प्रयास गरेका छन्। यसपालिको दशैँलार्इ उनले त्यहाँका नेता कार्यकर्ताका बीच शुभकामना आदान प्रदान तथा टीका ग्रहण गरेर बिदार्इ गर्ने सोच बनाएका छन्। 

राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महतो घटस्थापना शुरु भएसँगै जनकपुरतिर लागेका छन्। उनले यसपालिको दशैँ जनकपुरतिर नेता कार्यकर्ताका बीच मनाउने सोच बनाएका छन्।
सर्लाही निवासी महतोको प्रदेश २ का विभिन्न जिल्लामा राजनितिक भेटघाट र मठ मन्दरमा गएर विशेष आजापूजा गरी दशैँ मनाउने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell