PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यसरी तयार भयो बन्दूक बोक्नेले गाएको दशैँ गीत, जसले नसोचेको सफलता पायो 



स्वेच्छा राउत

यसरी तयार भयो बन्दूक बोक्नेले गाएको दशैँ गीत, जसले नसोचेको सफलता पायो 

माओवादी द्वन्द्व उत्कर्षमा थियो। २०५८  सालमा सशस्त्र प्रहरी बलको गठन भएपछि जागिरको धुनमा रहेका धेरै युवाको ध्यान खिचियो। र, भर्ती भए, माओवादीविरुद्ध लड्न। यसरी सशस्त्रमा छिर्नेमध्येका एक हुन् धापासीका कपिन्द्र थापा। उनको दरबन्दी पर्यो सशस्त्र प्रहरी बलको श्रव्यदृष्य शाखामा। 

'बन्दुक बोक्न आएको थिएँ क्यामेरा बोक्नेमा परेँ। प्रविधिमा रुचि भएकाले सक्दिन भन्ने लागेन। जिम्मेवारी पूरा गर्नका लागि काम गर्दै सिक्छु भन्ने सोचेँ,' हाल सशस्त्र प्रहरी नायव निरीक्षक रहेका थापाले सुनाए। 

त्यही क्यामरा बोक्दाबोक्दै उनलाई पर्दापछाडिमात्र होइन, अगाडि पनि देखिने रहर पलायो। दशैँको चर्चित गीत धानको बाला झुलाउँला… मा उनी पनि फिचर्ड भए बाँसुरीवादकका रुपमा। 



'सधैं पछाडि बसेर यो मिलेन त्यसरी भएन भन्नुपर्ने। आफू त कुनै फ्रेममा नअट्ने। रहर नै बन्थ्यो भिडियोमा देखिनु,' पुरानो कुरा हाँस्दै सुनाउँछन् कपिन्द्र। 

यही गीतबाट उनको रहर पूरा भयो। रौसिँदै भन्छन्, 'फौजीले नाच्ने भनेकै कि बन्दुक उठाएर घुम्ने हो कि बस्ने र उठ्ने हो। नआउने काम गर्नुभन्दा बाँसुरी बजाउने सिनमा आफूलाई रोजेँ।' 

२०६२ सालयता दशैँमा यो गीत सधैं बज्दै आएको छ। म्युजिक भिडियो कपिन्द्रले नै खिचेका हुन्। गीत चर्चामा आउनु र आजसम्म दर्शकले रुचाउनु चाहिँ आश्चर्यजनक लाग्छ उनलाई। किनकि गीत योजनावद्ध थिएन। टिभी कार्यक्रम अन्तर्गत प्रसारण हुने टेलिश्रृङ्खलाको अंशमात्र थियो, त्यो। 

गीत राख्ने प्रस्ताव गरेका थिए, टेलिश्रृङ्खलाका कथा लेखक सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले। तत्कालीन सशस्त्र प्रहरी नायक उपरीक्षक राघवसिंह थापाले उनको प्रस्ताव स्वीकारे, तुरुन्त गीत तयार गर्नुपर्ने जानकारीसहित। 

'तत्काल गीत लेख्नका लागि मैले पुरानो लोकभाकाको लय प्रयोग गर्नुपर्‍यो,' कथा लेखक दीपक कोइरालाले 'धानकै बाला झुलाउँला…' को लेख्दाको अनुभव सुनाए, 'म चाहन्थेँ, शब्दले सबै फौजीको कथा बोकोस्।' 

सशस्त्र प्रहरीको श्रव्य दृश्य शाखाका सबै एक भए। गीतमा केही शब्द थप्नु पर्‍यो, केही हटाउन। गीत बन्यो:

'वर्षमा दिनको यो बडा दशैं कमेरो लाइएन
देश र जनता भन्दामा भन्दै घर जान पाइएन
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला' 



गीत सशस्त्र प्रहरी बलको लागि नयाँ काम थियो। राम्रो बनाउनुपर्छ भन्ने थियो। तर, गीत कसले गाउने, संगीत कसरी दिने, कसरी रेकर्ड गराउने तयारी थिएन।

अन्तत: सशस्त्र प्रहरीको सांगीतिक ब्यान्डले सहयोग गर्ने भयो। वाद्यवादन र एक गायक ब्यान्डबाटै। स्वरमा साथ दिए गीतकार दीपक स्वयंले। सशस्त्र प्रहरी दिवस मनाउँदा होस् वा अन्य कार्यक्रम खुला चौरमा नाच्ने, गाउने, रमाउने सशस्त्र प्रहरी टोलीले पहिलो गीत पनि त्यसैगरी गाउने भयो। 

'सीमित वाद्यवादन र प्रविधिको प्रयोग गर्‍यौं। गीत खिचेको अनुभव थिएन तर पनि आँटेपछि हुने रहेछ,' छायांकार थापाले भने।

कसैले हार्मोनियम, कसैले गितार, कसैले मादल र कसैले बाँसुरी समाए। भुईंभरी छरिएर बसे। प्रहरी भित्रको पदीय मर्यादाले यहाँ कसैलाई रोकेन। को जवान, को हवल्दार, को निरीक्षक वा उपरीक्षक, सबै एक ठाउँमा। दुई गायकले गाउने, अरुले साथ दिने। 

एक टेकमा गीत र भिडियो रेकर्ड भयो। अभिनयको पाटो भने टेलिश्रृङ्खलाकै प्रयोग गरियो। र, पहिलो पटक टिकाको दिन बज्यो गीत। नेपाल टेलिभिजनमा गीत बजेपछि आएको प्रतिक्रियाले टोलीलाई अचम्मित तुल्यायो। कपिन्द्र भन्छन्, ’कहिले काहीँ नसोचेको हुन्छ। भावनात्मक शब्दहरु भएर होला धेरैले रुचाए।' 

गीत बजेको भोलिपल्ट गीतकार कोइरालालाई कान्तिपुर टेलिभिजनबाट पत्रकार सुरजसिंह ठकुरीले फोन गरे। उनले टेलिश्रृङ्खलामा बजाइएको गीतको भिडियो उपलब्‍ध गराउन भने। गीत कल कान्तिपुर नामक कार्यक्रममा बजेपछि थप चर्चा चुलियो। त्यसपछिका कुनै पनि वर्ष यो गीत टिभी, रेडियोमा बज्न छोडेन।

'यी दाइले यो पालि पनि दशैं बिदा पाएका छैनन्'

आजभोलि दशैं आएसँगै दीपक कोइरालाको फोटोमा 'यी दाइले यसपाली बिदा पाए कि पाएनन् होला' लेखेर बनाइएको ट्रोल सामाजिक सञ्जालमा देखिन्छ। दीपक आफ्नै ट्रोल हेरेर दङ्ग पर्छन्।

यसपाली दशैंमा पनि उनी परिवारसँग छैनन्। सर्लाहीको हरिवनमा खटिएका उनको भागमा यसापाला दशैंको बिदा परेन। चाडपर्वको बेलामा राजमार्गमा हुने चोरी तस्करी, दुर्घटना र झैझगडा नियन्त्रणका लागि उनलाई भ्याइनभ्याइ हुन्छ। फुर्सदमा फेसबुक खोल्दा ट्याग वा मेन्सन भएर आउने ट्रोल हेरेर हाँस्छन्। तर, प्रतिक्रिया जनाउँदैनन्। 

भने, 'मैले १३ वर्षअघि लेखेको हो गीतको चर्चा आज पनि छ। खुशी हुन ठूलो बहाना नचाहिँदो रहेछ।' 

परिवारबाट अलगिँदा दीपकले हरेक दर्जाका प्रहरीमा उदासिनताको महसुस गर्थे। तालिमले दिने शारीरिक थकानबाहेक दशैंमा समेतपरिवारसँग टाढा हुनुको पीडा आफैँले पनि भोगिरहेकै थिए। उनी चाहन्थे दशैंमा घर जान नपाएका हरेक तह र तप्काका सशस्त्र प्रहरीले बिदा नपाउनुलाई सामान्य रुपमा लिउन्। 

ब्यारेकका कथा बोल्ने गीतहरु लगातार एकपछि अर्को सार्वजनिक भए। दोस्रो पटक दीपकले लेखे : 

चाहिँदैन सुन चाँदी हिरा नि
सुख दु:ख राइफलको सिरानी 


यसपटक गीतमा एपिएफको ब्यान्डसँगै संगीतकार सुरेश अधिकारीले संगीत दिए। गायनमा रहे दीपक कोइरालासँगै देव कोइमी र आशा लामा। गीतको भिडियो निर्देशन गरे अहिले उपरीक्षक रहेका राघवसिंह थापाले। 

श्रव्य दृष्य शाखाका लागि गीत निर्माण जिम्मेवारी बन्यो। ‘३७ हजारभन्दा बढी सशस्त्र प्रहरीको आवाज गीतमार्फत् उठाउनु थियो। सबैको परिवार, आफन्त वा आम मान्छेलाई हामी सबैको कथा बुझाउनु थियो,’ हरेक गीत निर्माण प्रक्रियामा जोडिएका आत्मदेव भट्टले भने। 



२०६३ सालमा दीपक पोखरामा थिए, इन्स्पेक्टर तालिमका लागि। छुट्टीमा काठमाडौं आएका उनलाई तत्कालीन शाखा प्रमुखले नयाँ गीत बनाउन भने। 

यस पटक लेखे: 

फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार?



संगीत दिए सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले। र, स्वर गायक जगदीश समालको। कोइराला आफ्नो अनुभव साटे, ’तालिमका लागि यताउता गरिरहँदा मैले धेरै साथीहरु भेटेँ। फरक तह र तप्काकासँग संगत गरेँ। उहाँहरुको दबिएको भावना महसुस गर्थेँ।‘ 

उनले देखिएका, भेटिएका तिनै सशस्त्र प्रहरीहरुको कथालाई शब्दमा उतारे।

सशस्त्र प्रहरी बलका अन्य गीत घरदेश परदेश…, कान्छो आउँछ यसपाली आमा… लगायत पनि युट्युबमा रुचाइएका छन्। कान्छो आउँछ यसपाली… आमामा डाक्टर कृष्णहरि बरालको शब्द रहेको छ। त्यस्तै घरदेश परदेश... बोलको गीतमा शब्द दीपक कोईरालाको रहेको छ भने स्वर दिएका छन्, राजेश पायल राई र माण्डवी त्रिपाठीले।



‘टेक्निकल्ली फाइन बनाउनका लागि हामीले व्यवसायिक बाटो अपनायौं। प्याकेजमा गीति भिडियो निर्माण गर्दा सुरुवाती गीतहरुभन्दा अझ राम्रो बन्दै गयो,’ कपिन्द्रले भने।

निरीक्षक उत्तम तिमिल्सिना आफ्नो शाखाले निर्माण गरेका गीतहरुलाई संदेश मान्छन्। 'यहाँभित्र दु:ख छ। दु:खसँगै रमाइलो पनि छ भन्ने बुझाउने कोसिस केही हदमा सफल भएको छ,' तिमिल्सिना थपे, 'त्याग र पीडाको कथा यसरी रमाइलो ढङ्गमा प्रस्तुत गर्न गाह्रो छ। हामीले त्यो गर्‍यौं। त्यसैले पनि हाम्रो गीत फरक बन्यो। फरक बन्यो र त रुचाइयो।‘ 


उनले अब सशस्त्र प्रहरी बलले सार्वजनिक गर्ने गीत फरक ढाँचाको हुने दाबी गरे। 

गीतहरु निर्माण हुँदा सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटा पनि नयाँ गीतको पर्खाइमा छन्। त्यतिबेला धेरैलाई गीत सुनेर रोएको देखेका थिए उनले। केही बिदा नपाएर उदास हुन्थे। केही आमाबुवा, श्रीमती सम्झेर।

‘मनमा दबेर रहेका कुराहरु गीतले भनिदिएको थियो। हुन पनि देशभर छरिएका सशस्त्र प्रहरीहरुको भावनाको सुगठित रुप हुन् ती गीतहरु। तर, अब चाहिँ पीडा, दु:ख र रुवाइबाहेक पनि केही आउनुपर्छ सायद,' केदार रहर सुनाए। 

‘हो यताको गीतहरु त हाम्रो बर्दियामा पनि धेरैले सुन्छन्। ती गीतले त वर्षौ पुग्ने कुरा भनिसके। अब नयाँ गाउनु पर्छ, ’ कुराकानी सुनेर बसेका हवलदार जादुवंशी थारुले थपे, 'हामी पनि भिडियोमा आउनु पर्‍यो नि।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell