PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुत्केरी महिलाले दशैंमा के खाने र के नखाने?



पहिलोपोस्ट

सुत्केरी महिलाले दशैंमा के खाने र के नखाने?

यतिबेला हामी दशैं मनाइरहेका छौँ।  अहिले सबैको घरमा खानपानको 'रुटिन' मेनु पनि फेरिएको छ।  खानपानको 'डोज' पनि फेरिएको छ। त्यसैले सचेत नभए खानपानकै कारण मानिसहरु बिरामी पर्न सक्छन्। दशैंको बेला के खाने त? कसरी खाने त? एक पटक  सबैले सोच्नुपर्छ।  स्वास्थ्यलाई ख्याल राख्दै खानुपर्छ। 

सुत्केरी महिलाले के खाने, कसरी खाने त ? 

सुत्केरी अवस्थामा पोषणयुक्त खाना खानुपर्छ, यो आमधारणा हो। तर, के खाने र कसरी खाने? धेरैलाई जानकारी नहुन सक्छ।

सुत्करी महिलाले जाउलोमात्र खानुपर्छ भन्ने छैन। खाना खाँदैमा कुनै असर गर्दैन। भिटामिन, क्याल्सियम र जिंक सुत्केरीलाई आवश्यक पर्ने भएकाले त्यस्ता पौष्टिक तत्व भएका खानामा जोड दिनुपर्छ। चामल, गहुँमा कार्बोहाइड्रेट र भिटामिन बी दुवै पाइन्छ। दूध, दही, माछा, मासुमा प्रोटिन तथा खनिज (क्याल्सियम, जिंक) पाइन्छ। हरियो सागसब्जीमा पनि भिटामिन र खनिज पाइन्छ। दशैंको बेला मात्र हैन अन्य बेला पनि यस्तै खानामा जोड दिएमा सुत्केरी आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बन्छ।

सुत्केरी महिलाको लागि शक्ति सुरक्षा र शारीरिक वृद्धि गर्ने तीनै प्रकारको खानामा जोड दिनुपर्छ। चामल, गहुँ, मकै, मह, सखरखण्ड, आलु, केरा, तेल, बदाम र नौनीबाट कार्बोहाइड्रेट र  चिल्लो पदार्थ पाइने भएकाले यस्ता खानाले सुत्केरी महिलालाई शक्ति प्रदान गर्छ। शक्ति आर्जन गर्नकै लागि उनीहरुले यस्ता खानामा जोड दिनुपर्छ।

गेडागुडी, दाल, सिमी, बदाम, केराउ, दूध, दही, माछा, मासु र अण्डामा प्रोटिन पर्याप्त मात्रामा पाइन्छ। यस्ता खाने कुराले  शारिरिक वृद्धि गर्न सहयोग गर्छ। दशैंको बेला होस् या अन्य बेला सुत्करी महिलाले यस्ता खाने कुराहरुलाई वेवास्ता गर्नुहुन्न।

हरियो सागपात, फलफूल, टुसा, उमारेको गेडागुडी, कागती, सन्तुला, दूध, दही, माछा, मासु, अण्डाको पहेंलो भागमा खनिज पाइन्छ। यस्ता खाने कुराले सुरक्षा प्रदान गर्ने रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यसैले यी खाने कुरा पनि खानामा सामेल गर्नुपर्छ।

यी खाने कुरा छुटायो भने बच्चा तथा आमाकै स्वास्थ्य अवस्था नाजुक हुन्छ। किनकि, एउटा वयस्क महिलाका लागि सरदर दैनिक २३००–२५०० किलो क्यालोरी चाहिन्छ। कम काम गर्ने महिलाको हकमा १८ सयदेखि २ हजार क्यालोरीले पुग्छ। तर, सुत्केरीका लागि दैनिक थप ५ सय किलो क्यालोरी आवश्यक पर्छ। कुपोषित तथा एकभन्दा बढी शिशुलाई स्तनपान गराइरहेकी सुत्केरीको हकमा यो मात्रा बढ्न सक्छ। सुत्केरी भएको तर स्तनपान नगराएकी महिलाका लागि सामान्य अवस्थाकै अनुपातमा पोषणयुक्त खाना दिए पुग्छ।

त्यसैले दशैंको बेला होस या अन्य बेला खानपानमा यी पौष्टिक तत्वहरु समेट्नुपर्छ।

गर्भावस्थामा महिलाले खाएको खानाको आधारमा गर्भमा रहेको शिशुको वृद्धि विकास हुने गर्छ। त्यसरी नै सुत्केरी अवस्थामा पनि पहिलो ६ महिना शिशुको पूर्ण आहार आमाको दूधमात्र हुने भएकाले  ध्यान दिनुपर्छ। सुत्केरीले खाएको खाना नै दूधमा जाने भएकाले पोषणयुक्त खाना खानु जरुरी छ। सुत्केरी अवस्थामा आउने शारीरिक परिवर्तन अनि प्रसूति अवस्थामा भएको रक्तस्राव आपूर्तिका लागि पोषणयुक्त खानाको अत्यन्तै महत्व छ।

स्तनपान गराउँदा २५० देखि ३५० मिलिग्राम क्याल्सियम आमाको दूधबाट बच्चामा जान्छ। खानाबाट पर्याप्त क्याल्सियम आपूर्ति नहुने भएकाले थप क्याल्सियम चक्की खानुपर्छ। बच्चा तथा आमाको हड्डी बलियो बनाउनको लागि क्याल्सियम खानुको विकल्प हुन्न।  

कतिपय अवस्थामा खाएको खानाबाट मात्र आइरनको आपूर्ति हुन सक्दैन। त्यसैले आइरन चक्की पनि अनिवार्य रुपमा खानुपर्छ। आइरन चक्कीले दिसा कालो बनाउँछ। कहिलेकाहीँ वाकवाकी तथा बान्ता समेत हुन्छ। यस्तो भएमा कागती खानुपर्छ।  

त्यस्तै सुत्केरी महिलाको लागि आलु पनि फाइदाजनक नै हुन्छ। आलु तथा कालो दालले घाउ पाक्ने भन्ने कुरा भ्रम हो। आलुमा शरीरलाई आवश्यक पर्ने क्याल्सियम, आइरन, भिटामिन सी र फस्फोरस पाइन्छ। आलु बोक्रासँगै खाएमा कब्जियत पनि हुन दिँदैन। त्यस्तै, कालो दालले प्रोटिनको काम गर्छ। तेलमा धेरै तारेको मसलायुक्त खानेकुराबाट टाडै रहनुपर्छ।  सुत्करीको लागि खाना पकाउँदा मरमसला र चिल्लो कम गर्नुपर्छ। मासुको बोसोबाट टाडै रहनुपर्छ।

सुत्केरीमा देखिने ठूलो समस्या कब्जियत हो। यसको रोकथामका लागि रेसादार खानेकुरा, फलफूल र प्रशस्त मात्रामा पानी पिउनुपर्छ। ज्वानोको झोल सेवन पनि उपयुक्त छनौट हो। बच्चा बिरामी भएमा आमाले खाने कुरा बारिरहनु हुन्न। त्यसो गर्दा शिशुलाई पोषक तत्वको कमी हुनजान्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell