PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

के गर्छन् नेपाली क्रिश्चियन दशैँमा? पास्टर श्रेष्ठ भन्छन् - टीका नलगाउँदैमा असली क्रिश्चियन भइन्न



रीना मोक्तान

के गर्छन् नेपाली क्रिश्चियन दशैँमा? पास्टर श्रेष्ठ भन्छन् - टीका नलगाउँदैमा असली क्रिश्चियन भइन्न

अनुप न्यौपानेको जन्म दोलखाको एक ब्राह्मण परिवारमा भयो। चाडहरुमा दशैं उनलाई विशेष लाग्थ्यो। हजुरबुबाको हातबाट भन्दा पनि मामामाइजूको हातबाट दशैंको टीका थाप्न एकदम रहर लाग्थ्यो। आखिर दक्षिणा धेरै पाइने ठाउँ त्यहीँ त हो। 

तर अहिले आठ वर्ष बढी भयो अनुपको निधार खाली भएको। उनी मात्र होइन उनका आमा, बुवा र दुई भाइहरुले पनि क्रिश्चियन भइसकेपछि टीका लगाउन छाडिसके। 

रातो टीका लगाउनमात्र छोडेको हो, दशैंको विदामा अरुले जस्तै रमाइलो गरेर मनाउने काम त उनी अझै पनि गरिहाल्छन्। हिन्दूहरु पनि त क्रिसमस मनाइरहेकै हुन्छन्। थियटर कलाकार समेत रहेका उनले दशैंलाई अब विदाका रुपमा मनाउँदै आएका छन्। 

सुनाए, ‘दशैँलाई चाडको रुपमा भन्दा पनि छुट्टीको रुपमा मनाउँछौं। दशैंमा घर जान्छौं। पिङ बनाउनमा साथ दिन्छौँ गाउँलेहरुलाई। साथीभाइसँग भेटघाट हुन्छ। रमाइलो गर्छौँ। तर दशैंमा टीका लगाउँदैनौं। त्यो कुरा खास पनि लाग्दैन। हाम्रो घरमा सबै क्रिश्चियन भइसक्नुभयो’। 

स्नातक दोश्रो वर्षको अध्ययन गर्दैगर्दा उनले क्रिश्चियन धर्म अंगाले। 

अहिले पनि कहिले काहिं  दशैंको छुट्टीमा अनुप मामाघर जान्छन्। मामाघरतिर सबैले टीका लगाउँछन्। अब त मामालाई पनि भान्जाले टीका लगाउँदैन भन्ने प्रष्ट भइसक्यो। क्रिश्चियन बनेपछि पहिलो दशैंमा मामाले टीका लगाउन कर गरेका थिए। तर अहिले गर्न छाडिसके। सानो छँदा दक्षिणाको आश हुन्थ्यो अहिले त्यो पनि छुटिसक्यो अनुपको। 

अब त अनुपलाई मामाघरतिर फोटोग्राफरको काम दिइन्छ। भने, ‘अहिले दशैंमा सबैको फोटो खिचिदिने काम मेरो हो। क्यामराको जिम्मा मलाई पर्छ’। 

एक समय सप्ताहमा वेद  पाठ गर्ने पण्डित समेत रहेका अनुप उनको परिवारमा क्रिश्चियन धर्म अवलम्बन गर्ने अन्तिम सदस्य हुन्। क्रिश्चियन भएको पहिलो वर्षको दशैंमा सबैको निधारमा टीका अनि आफ्नो खाली निधार हेरेर उनलाई असजिलो अनुभव भयो। अरुभन्दा आफू केही फरक रहेको महसूस पनि गरे। 

‘तर अहिले त्यो कुरा खास लाग्दैन’,  उनी भन्छन्, ‘टीका लगाउनेहरुको बीचमा म फरक छु भन्ने मात्र भान हुन्छ।‘

दशैं किन मनाउँदैनन्? 

चन्द्रकृष्ण श्रेष्ठ पनौतीका हुन्। अहिले उनी भक्तपुरमा बस्छन्। एक समय धर्मकर्म गर्थे। चतुर्मासको व्रत छुटाउँथेनन्। 

३९ वर्ष भयो उनी क्रिश्चियन भएको अनि दशैंमा टीका नलगाएको। उनका एक छोरा र एक छोरीले पनि दशैंमा टीका लगाउँदैनन्। 

‘कसैले छोड भनेर टीका लगाउन छोडेको होइन,‘ अहिले भक्तपुरको नेपाली सुसमाचारीय मण्डलीका पास्टरसमेत रहेका उनी भन्छन्। 

क्रिश्चियनहरुले दशैँमा टीका नलगाउनु र दशैँ नमनाउनुलाई दशैँको विरोध गरेको रुपमा नसोच्न उनले आग्रह गरे। भने, 'दशैँ नमनाउनुको अर्थ दशैं मनाउनेहरूको विरोध गर्नु भन्ने होइन। दशैंको विरोध पनि होइन। क्रिश्चियन हुनु भनेको एकमात्र जीवित प्रभु येशूलाई आफ्नो मुक्तिदाता, परमेश्वर हो भनी ग्रहण गर्नु हो।‘

पास्टर श्रेष्ठ टीका नलगाउँदैमा असली क्रिश्चियन नहुनेमा जोड दिन्छन्। ‘टीका नलगाउँदैमा ऊ सच्चा क्रिश्चियन हो भन्न मिल्दैन। प्रभू येशुको पथमा हिँड्नेमात्र असली क्रिश्चियन हुन्छन्।‘

अरुको धर्म र संस्कृतिलाई निन्दा गर्ने व्यक्ति सच्चा क्रिश्चियन हुनै नसक्ने उनको कथन छ। बाइबलमा समेत आफ्ना छिमेकीलाई प्रेम गर भन्ने आदेश रहेकाले क्रिश्चियनहरुले अन्य संस्कृतिको सम्मान गर्नुपर्ने सल्लाह दिँदै उनले भने, ‘बाइबलको मर्कुस १२ : ३३ मा लेखिएको छ,  ’उहाँलाई आफ्नो सारा हृदयले, सारा समझले र सारा बलले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेमगर्नु सबै होमबलि र बलिदान भन्दा उत्तम हो।‘

'दशैंको विदामा सरकारको लागि प्रार्थना गर्छौं' 

नेपाल क्रिश्चियन समाजका अध्यक्ष बर्नबास श्रेष्ठ  भन्छन्, 'हामीलाई कुनै पनि संस्कृतिका कुरा मनाउन समस्या छैन। तर जब संस्कृति धर्मसँग मिल्दैन, हामी मनाउँदैनौं।‘

दशैंमा बलिदान चढाउने भएकाले आफूहरुले दशैं नमनाउने गरेको तर्क उनले गरे। भने, ‘बलिदान चढाउने कुरा बाइबलले वर्जित गरेको छ। त्यसैले हामी त्यो गर्दैनौं। किनकि हाम्रो लागि येशू एकपटक बलि हुनु भयो। उहाँ मानव जातिको लागि बलि हुनु भयो।‘

उनले दशैंको विदा विभिन्न कार्यमूलक काममा प्रयोग गर्ने बताए।  'दशैंको विदामा हामी प्रयोगात्मक कृयाकलापमा सहभागी हुन्छौं',  उनले जानकारी दिए। दशैँमा समाज अन्तर्गत विभिन्न युथ क्याम्प र क्रिश्चियन लक्षित सेमिनारहरु हुने गर्छ। 

उनले थपे, 'यो विदामा हामी देश र जनताको हितमा काम होस् भनी सरकारका लागि प्रार्थना गर्छौं। छोराछोरीहरुलाई आमाबुवाको आदर गर्नुपर्ने कुराहरु सिकाउँछौं। छोराछोरीमाथि अभिभावकको दायित्व जस्ता कुराहरु सिकाउँछौं।'
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell