PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दशैंमा नयाँ नोटको गन्धमा लठ्ठिने नीता



रीना मोक्तान

दशैंमा नयाँ नोटको गन्धमा लठ्ठिने नीता

८ वर्षको उमेरमा फिल्म ‘मितिनी’ मार्फत् रजतपटमा प्रवेश गरेकी नीता ढुंङ्गानाको सपना नै अभिनेत्री बन्ने थियो। काठमाडौंमा एक्लै संघर्षरत् उनी वर्षमा एकपटक घर हेटौंडा जान्थिन्, दशैंमा। तर, यतिसम्म कि, एक वर्ष उनीसँग घर जाने पैसा नै भएन। र, ढाँटेर काठमाडौं नै बसिन्।

सुरुवातमा करियरले राम्रै पिकअप लिए पनि बीचमा उनीको भागमा फिल्म थियो न म्यूजिक भिडियो नै। काठमाडौंमा आए हरेक वर्ष परिवारका सबैका लागि लुगा किन्ने उनले त्यो दशैंमा पैसा नभएकै कारण घर गइनन्। ‘फिल्मको कार्यक्रम छ भनेर ढाँटे। खुशी हुन सकिनँ,‘ उनले भनिन्।

आफू कमाउने भएकै कारण परिवारको लागि केही गर्नुपर्छ भन्ने थियो उनलाई। तर, सधैं दिन एकनास हुँदैन भन्ने कुरा पनि त्यति नै बेलै महसुस गरिन् उनले। भनिन्, ’चाडवाड नआइदिए पनि हुन्थ्यो जस्तो लाग्यो।‘

त्यो दशैं साथीभाइ भेटेर र फेसबुकमा अरुको टिकाको फोटो हेरेरै बिताइन् उनले। ‘धन्न अहिले त्यो अवस्था छैन,’ उनले सुनाइन्।

दशैंमा उनलाई तास खेल्न मनपर्छ। तासका सबै खेल जान्ने उनी दशैं भन्नासाथ टिका, परिवारको जमघट र तास बुझ्छिन्। गएको वर्ष तासमा २० हजार जितेकी नीताले धेरै पैसा हारेको रेकर्ड छैन। ‘यो खेलमा म लक्की छु,’ उनले भनिन्। त्यसैले, विदेश जाँदा पनि उनी क्यासिनो छिरिहाल्छिन्।

यसपाली सबैआफन्त कहाँ दशैंको टिका थाप्नजाने उनको तयारी छ। जसको लागि नयाँ लुगा पनि किनिसकेकी छिन्।

‘सबैको लागि केही न केही किनेकी छु। मलाई यो जिम्मेवारी आफ्नै हो जस्तो लाग्छ,’ उनले भनिन्।

बाल्यकालकोजस्तो दशैं विशेष रौनक छैन। तर, पुराना दिनहरुको याद छन्। एकपटक पिङबाट खसेर टाउकोमा लागेको चोटले अझै तर्साउँछ उनलाई। ‘निधारबाट रगत धेरै बग्यो। अस्पताल नगइ ठीक भएन। त्यसैले आज पनि पिङ देख्दा सतर्क हुन्छु,’ उनले भनिन्।

५ वर्षयता नीतालाई दशैंमा मिस हुने उनकी आमा हुन्, जो ५२ वर्षको उमेरमा बितिन्। नीता भन्छिन्, ‘आमासँगको अन्तिम दशैंजस्तो अरु साल भएको छैन। २/३ वर्ष त दशैं मनाउन गाह्रो भयो। तर, अहिले आफैलाई सम्झाउने भएकी छु।‘

दशैंमा पाउने नयाँ नोटको बास्ना उनलाई खुब मनपर्छ। त्यसैले सकेसम्म जोगाएर राख्न बताउँछिन्। पहिले-पहिले आफू १० रुपैयाँ दक्षिणा पाउँदा रमाएको सम्छिन्छिन्। त्यसैले अहिले आफूले टिका लगाइदिन पर्नेलाई पनि खुशी हुनेगरी दक्षिणा दिने गरेकी छन्।

यसपटक घरमा नाचगानको माहोल बनाउने योजनामा रहेकी उनी पर्वलाई रमाइलोसँगै सद्भावको समय मान्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell