PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


महिषासुररुपी राँगोलाई शहरमा दौडाउँदै वध : भक्तपुरको एउटा फरक जात्रा खम्ये


सहयोग रञ्जित

महिषासुररुपी राँगोलाई शहरमा दौडाउँदै वध : भक्तपुरको एउटा फरक जात्रा खम्ये

काठमाडौँ : नवरात्रीको अन्तिम दिन महानवमी। बिहानैदेखि देशभरका शक्तिपिठहरुमा दर्शनार्थीहरुको बाक्लो घुइँचो थियो। भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पनि बिहानैदेखि पूजा गर्न आउनेहरुको लाम थियो। साँझ परेसँगै शक्तिपीठहरुमा मानिसहरुको संख्या पातलिँदै गर्दा नवदुर्गा मन्दिरदेखि ब्रम्हायणीसम्म भने हजारौं मानिस जम्मा भएका थिए। दानव महिषासुरको रुपमा रहेको 'खम्ये' हेर्न। 'खम्ये' अर्थात 'राँगो'। 

दर्शनार्थीहरु नवदुर्गा मन्दिरमा ओहोरदोहोर गर्दैगर्दा केहीले भने मन्दिर परिसर भित्र डोरी बाँध्दै जात्राका लागि बाटो बनाउँदै थिए। 

मन्दिर छिर्ने बित्तिकै सबैको आँखा पर्थ्यो एउटा राँगोमा। तर धेरैलार्इ त्यसबारे केही थाहै थिएन। सबै राँगाबारे जिज्ञासु देखिन्थे। सोध्दा उनीहरु सबैले एउटै उत्तर पाए,  'व ला खम्ये' अर्थात 'त्यो हो खम्ये'। 

भक्तपुरमै बस्ने केही व्यक्ति नै यस जात्राका बारे अनभिज्ञ देखिए, पहिलो पटक जात्रा हेर्न आउँदै थिए।


बिहीबार भक्तपुरमा खम्ये जात्रा (राँगो दौडाउने जात्रा) को रौनक थियो। बाटोको छेउमा जसोतसो मान्छेहरु स्थान बनाउँदै थिए, आनन्दले खम्ये हेर्न। तर सोचे जस्तो कहाँ हुन्छ र।

मानिसहरुबीच ठेलमठेल र आवतजावत चलिरहँदा एक स्थानमा रहेका मानिसहरु धकेलिँदै अर्कै स्थान पुगे। फोटो र भिडियो लिनेहरुको जमात बेग्लै थियो।

यसैबीच मन्दिर परिसर बाहिर रहेका वृद्धवृद्धाहरु भने आफू अघि रहेकाहरुलार्इ ठेलिरहेको र मोबाइलले गर्दा केही नदेखेको गुनासो गर्दै थिए। धिमे, भुस्या, धा: बाजाको तालमा उनीहरुको आवाजलार्इ मान्छेको हुलले वास्ता गरेन।

नवदुर्गा मन्दिरभित्र भने पुजा चल्दै थियो। नवदुर्गा गणहरु खम्ये बाहिर निकाल्नुअघि मन्दिर परिसरमा विशेष पूजा गर्दै थिए। मन्दिरको ढोकाबाट मान्छेहरु भित्र-बाहिर गरिरहँदा मन्दिर बाहिर  जात्रा हेर्न आएका मानिसहरुबीच धेरै पटक 'वल वल' (आयो आयो) भन्ने शब्द सुनिन्थ्यो। त्यहाँ रहेकाहरुमा एक किसिमको आतंक मच्चिन्थ्यो। तर खम्ये बाहिर आएन। 

धेरै पटक 'वल वल' सुनियो। मानिसहरु तितरबितर भए। तर खम्ये आएन। बाजाको आवाज ठूलो हुँदै गर्दा हरियो सर्ट लगाएका युवाले भीड मिलाउन लागे। मन्दिरको ढोकामा रहेका व्यक्तिहरुले भने बाहिर रहेका मानिसहरुलार्इ अलि पछाडि जान भनिरहे। 

मन्दिरबाट खैरो रंगका सर्ट लगाएका केही व्यक्ति बाहिरिए। लगत्तै पहिला भन्दा चर्को आवाजमा मनिसहरु 'खम्ये वल वल' भनेर कराउन थाले र मन्दिरको ढोकाबाट अबिरले पोतिएको खम्येलार्इ ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर बाहिर निकालियो। 

सबैका क्यामरा खम्ये तिर मोडियो। धेरैले क्लासिक सट खिचे होलान्। तर, हामी भने हुलमै हरायौं। 

खम्येलार्इ बाहिर निकाली सकेपछि दायाँबायाँ बसेका मान्छेहरुबीच ठेलमठेल भयो। हरिया सर्ट लगाएका स्वयमसेवकहरु मानिसरुलार्इ पछाडि ढकेल्दै थिए। खैरो सर्ट लगाएकाहरु खम्येलार्इ समाएर नियन्त्रणमा राख्ने प्रयास गर्दै थिए। 

बिस्तारै खम्येलार्इ मन्दिर अघिबाट दत्तात्रय, सूर्यमढी, च्यामासिंह हुँदै ब्रम्हायणी पुर्‍याइयो। बाटोभरी खम्ये हेर्ने मान्छेहरुको बाक्लो भिड थियो। 
'खम्ये वल वल' भन्दा सडक अघि बसेका मान्छेहरु हत्तपत्त पछाडी जाँदै गरेको दृश्य कम रोचक थिएन। खम्येलार्इ एक टोलबाट अर्को टोल लगिँदै गर्दा मान्छेहरु पनि ब्रम्हायणीतर्फ आफ्ना पाइला चाल्दै थिए। 

ब्रम्हायणी नदीमा खम्येलार्इ स्नान गराइएको थियो। नदीको दुर्इ किनारमा खम्ये हेर्ने र फोटो लिनेको भीड थियो। 

ब्रम्हायणीमा खम्येको पर्खाइमा थिए नवदुर्गा गणहरु। विशेष तान्त्रिक पूजा पश्चात खम्येको श्वासनली पत्ता लगाएर नवदुर्गा गणहरुले खम्येको वध गरे। 

खम्येको मासुका टुक्राहरु भने स्थानीयहरुलार्इ प्रसादका रुपमा दिइन्छ। खम्येको मासुले औषधीको काम गर्ने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन्। 

खम्येको इतिहास

खम्ये वध, महिषासुर वधसँग सम्बन्धित रहेको बताउँछन् श्री नवदुर्गा भवानी खम्ये जात्रा व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र प्रधान। 

नवमीका दिन त्रिपुरासुन्दरी देवीले महिषासुरको वध गरेकी थिइन्। महिषासुरले देवीबाट बच्न खम्ये अर्थात् राँगोमा प्रवेश गरे। देवीले त्यसको पत्तो पाएर महिषासुरलार्इ लेखेट्दै ब्रम्हायणीमा वध गरेको खुशीयालीमा हरेक वर्ष महानवमीका दिन एउटा खम्येलार्इ सिङमा ब्रह्मपास बाँधेर नवदुर्गा मन्दिरबाट ब्रम्हायणीसम्म लगेर त्यहाँ नवदुर्गागणले महिषासुरको प्रतिक खम्येको वध गर्ने गरेको प्रधानले बताए। 

खम्ये जात्रालार्इ स्थानीयहरुले 'असत्यमाथि सत्यको जित'का रुपमा मनाउँदै आएका छन्। 

खम्ये जात्रा कहिले देखि सुरु भयो भन्ने यकिन जानकारी नभएपनि लिच्छवीकालमा अमृतदेवको पालामा बनेको एक शिलालेखमा 'खण्ड म्ये' भन्ने शब्द उल्लेख रहेको र त्यसैको अपभ्रंस भएर हाल 'खम्ये' भएको हुनसक्ने प्रधानले बताए।   

परिवर्तन हुँदै संस्कृति

केही वर्ष अघिसम्म खम्येलार्इ जाँड रक्सी खुवाएर नगर परिक्रमा गराइ ब्रम्हायणी पुर्‍याउने चलन थियो। त्यसबेला खम्येलार्इ बाटोमा धेरै दुःख दिने काम हुन्थ्यो। 

खम्ये भाग्नेदेखि मानिसहरु खम्येको आक्रमणमा सम्म परेका थिए। दानव महिषासुरको रुपमा रहेको खम्येको पुच्छर तान्न देखि अण्डकोष फुटाउनेसम्मका कार्य भएकोले त्यस्ता कार्यलार्इ निरुत्साहित गर्न श्री नवदुर्गा भवानी खम्ये जात्रा व्यवस्थापन समिति गठन गरिएको प्रधान बताउँछन्। 

गत सालदेखि खम्येलार्इ जाँड रक्सी नखुवाइ , स्वयंसेवकको घेरामा जात्रा गरिएको थियो। तर त्यसबेला पनि थुप्रै कमीकमजोरीहरु भएको उल्लेख गर्दै यसपटक भने ती कमजोरी हुन नदिएको उनले बताए। 

पहिलापहिला देवगणहरुले नै खम्येको व्यवस्था गर्ने गर्दथे। विगत २५ वर्षदेखि भने विभिन्न दाताहरुले नवदुर्गा भवानीलार्इ खम्ये चढाउने गरेका छन्। तर हालसम्म कुनै पनि सरकारले यस जात्राका लागि भनी आर्थिक सहयोग नगरेको र सबै टोलवासीहरुको सहयोगमा यो जात्रा संचालन भइरहेको प्रधानले बताए।  

२०७० सालमा नवदुर्गा मन्दिरमा खम्ये चढाएका राजकुमार प्रजापतिले केही वर्षदेखि जात्रामा खम्ये समाउने कार्यको नेतृत्व गर्दै आएका छन्। परापूर्वकालदेखि चलि आएको यो जात्रालार्इ व्यवस्थित गर्न यसपटक करिब तीन सय स्वयमसेवक र  २० जना खम्ये समाउने मान्छेको व्यवस्था गरेको उनले बताए। 

उनी भन्छन् 'खम्येलार्इ समाएर नियन्त्रणमा राख्नु सानो कुरा होइन। विभिन्न जटिल परिस्थितीमा पनि खम्येलार्इ नियन्त्रणमा राख्दै जात्रा संचालन गर्न टेक्निक चाहिन्छ। तबमात्र हाम्रो जात्रा सभ्य र भव्य हुन्छ। हामीमा रहेको असुर प्रवृत्तिमाथि सत्यको जीत हुन्छ।'

नवदुर्गा नाचको तयारी

महिषासुरको रुपमा खम्येमा लुकेको असुरको वधसँगै असत्यमाथि सत्यको जीत भएको खुशीयालीमा भक्तपुरमा नवदुर्गा नाचको चटारो सुरु भएको छ। 

खम्ये जात्राको तयारी चलिरहकैबेला नवदुर्गा मन्दिर पछाडि रहेको स्थानमा नवदुर्गा नाचका लागि ख्वापा (मुकुण्डो) का लागि आवश्यक सामानहरु मिलाउने कार्यको तयारी हुँदै थियो। नवदुर्गागणका सदस्य नारायणप्रसाद बनमाला महाकालीले लगाउने ख्वापामा लगाइने विशेष मूर्तिमा साजसज्जा गर्न व्यस्त थिए। 

नवदुर्गा गणले खम्येको वधगरेसँगै विजया दशमीका दिन उनीहरु भक्तपुरको याँछीमा नवदुर्गा नाचका लागि बनाइएको ख्वापा लिन जाने उनले बताए। (नवदुर्गा नाचका लागि हरेक वर्ष नयाँ ख्वापा बनाइने गरिन्छ। एक पटक नृत्य सकेपछि त्यो ख्वापा जलाइन्छ।) 

याँछीबाट ख्वापालार्इ ब्रम्हायणीमा लगिन्छ। त्यहाँ कर्मचार्य थरका पूजारीहरुले ख्वापामा प्राण प्रतिस्थापन गर्ने गर्दछन्। त्यहाँबाट ख्वापालार्इ भक्तपुरको तलेजु भवानी मन्दिरमा लगेर पुजा गरि नवदुर्गा भवानी मन्दिरमा भित्राइन्छ। एकादशीको दिनदेखि नेपालकै लामो समयसम्म चल्ने जात्रामा पर्ने नवदुर्गा नाच सुरु हुने वनमालाले बताए। 

नवदुर्गा नाच करिब आठ महिनासम्म देशका विभिन्न स्थानमा प्रदर्शन गरिन्छ। 
 



महिषासुररुपी राँगोलाई शहरमा दौडाउँदै वध : भक्तपुरको एउटा फरक जात्रा खम्ये को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट