PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


टीका लगाउन मनै नपर्ने दुर्गालालले बिर्सन नसकेको तामाङ गाउँको त्यो झिलिमिली टीका 


उमेश श्रेष्ठ

टीका लगाउन मनै नपर्ने दुर्गालालले बिर्सन नसकेको तामाङ गाउँको त्यो झिलिमिली टीका 

"मैले कसैको हातको टीका पनि थापिनँ, आफू पनि कसैकोमा गइएन बा… आजसम्म!"

आफ्नो मातृभाषामा मात्र हैन, नेपालीमा पनि मन छुने कविता र गीतहरु लेख्ने जनकवि दुर्गालाल श्रेष्ठले दशैँ अनुभव सुन्न गएका हामीलाई सुरुमै अचम्ममा पारिदिए।

कालो रातमा टहटह जून देख्ने, सुख्खा पातमा जीवन संगीत सुन्ने र फूलको आँखामा फूलै संसार देख्ने दुर्गालाल किन यस्तो गर्छन् त?

'त्यो टीका लगाउनमा कुनै आत्मीयता छ जस्तो नलाग्ने। ठूला र सानाबीचको भेद छ जस्तो लाग्ने। मलाई भित्रदेखि स्वीकार हुँदैन त्यस्तो कुरा', उनले भित्री मनका कुरा हामीसित पोखे। 

कहिल्यै टीका नै लगाउनु भएन त?

'हैन, निधारमा रातो टीका त लगाइन्थ्यो। तर अरुहरुको घरघरमा टीका लगाउन भनेर चाहिँ गइनँ बा..!'

तर नेपालीहरुको चलन न हो। अहिले पनि उनको घरमा टीका थाप्न आउँछन्। तर श्रीमतीले मात्रै लगाइदिन्छन्। 'मलाई त लगाइ दिन पनि मन छैन,' उनी भन्छन्। आफूले थाहा पाएदेखि आफू यस्तै रहेको कुरा बताउँदै गर्दा उनलाई एउटा टीकाको क्षण भने झट्ट याद आइहाल्यो। 

'पालुङको तामाङ गाउँमा एक पटक म दशैँकै दिन पुगेको थिएँ', हियरिङ एडबाट हाम्रो आवाज पहिल्याइरहेका उनको मुहारमा मोहक हाँसो झुल्कियो। उनको हाउभाउले नै त्यो क्षण रमाइलो भएको प्रष्ट्याइरहेको थियो। शब्दका जादूगर यी कविले शब्दमा पनि त्यसलाई उतार्दै सुनाए, 'ओहोहोहोहोहो….! मैले साँच्चकै दशैँ, बडो जीवन्त दशैँ पालुङमा तामाङहरुको गाउँमा देखेँ।'

के थियो त खास त्यो दशैँमा?

'कति रङको यो लाउँदो रहेछ (उनी टीका भन्न खोज्दै थिए)। उनीहरुको सत्कार गर्ने तरिकै बेग्लै। अरुहरुको भन्दा फरक लाग्यो।'

सहकर्मी नेत्र तामाङका अनुसार तामाङहरुले निधारभर टीका लगाउँछन्। धेरै ठाउँमा सेतो टीका नै लगाउने हुन्। तर कुनै- कुनै तामाङ गाउँमा घरैपिच्छे फरकफरक रंगको टीका बनाउँछन्। ती फरक-फरक घरमा गएर टीका लगाउँदा निधार रंगीचंगी भएको देखेका हुनसक्छन् दुर्गालालले। 
'त्यो बेला मैले पनि लगाएको थिएँ', मनैदेखि हाँसेको झल्को दिने गरी उनले सुनाए, 'त्यस्तो झिलिमिली (टीका)। अरु बेला यहाँ (काठमाडौँमा) बस्दा मैले त्यस्तो कहिल्यै लगाइनँ।'

टीकाको प्रथामा नै ठूला र सानाको भेद छ जस्तो महसूस गरेर आत्मादेखि नै स्वीकार गर्न नसकेका दुर्गालालको जन्म काठमाडौँको विपन्न वर्गको परिवारमा भएको थियो। 

त्यो ताकाको दशैँका बेला पनि यो विभेद देखिन्थ्यो। असनको पश्चिमतिरको न्हैकंटोल भित्र एउटा सानो चोक छ- दशननी। 'त्यहाँको सबभन्दा होचो र थोत्रो घर मेरो जन्मघर हो', उनले सुनाए, 'घर यत्तिको होचो कि छानामा गएर दशैँताका चङ्गा उडाउन जान सक्दैन थियौँ। छानामा गएर चङ्गा उडाउने ठाउँ नै थिएन। छानामा गएर मनाउने दशैँ मैले आफ्नो छानामा मनाउन पाइनँ। मेरै छानामा बसेर चङ्गा उडाउन पाइनँ।'

'विपन्नता यस्तो कि टालेको सुरुवाल लगाइन्थ्यो। थरले ठूलो भए पनि विपन्नताको कारण कोही साथीले मलाई छानामा लग्न पनि घिनाउँथे,' शासकको हैन गरिबको राष्ट्रगान लेखेका उनले पुराना कुरा सम्झँदै सुनाए।  ्

दुर्गालाललाई त्यतिबेला पनि उनीहरुले आफूलाई अपमान गरेको अनुभव भएन। 

किन?

'किनभने हामी बाहिर बसेर चङ्गा समात्ने, धागो समात्न जाने गर्थ्यौँ। यस्तो कार्यमा लाग्दा तल बसेर जुन किसिमको मज्जा हामीले लियौँ, शायद् माथिकाले लिन पाउँदैन थिए।'

उनले दार्शनिक रुपमा तल्लो वर्गीय र माथिल्लो वर्गीयको आफ्नै किसिमले मजा लिने फरक तरिकाको व्याख्या गरे। भने, 'विपन्नताको स्वाद खल्लो होला। तर त्योभन्दा विपरीतको स्वाद मैले पाएको छु।'

'चुल्हो दुई पल्ट बल्दैन थियो। तैपनि खानाले भोकाएको, टाल्या सुरुवालले कसैले मलाई हेपेको जस्तो मलाई अनुभव भएन। त्यो बेला गरिबीको अनुभवै गरिएन। त्यस्तो सुखिलो थियो दिन।'

अनि अहिले नि?  

'अहिले त गोजीबाट २० हजार आउला जस्तो छ', कमिजको गोजीमा हात राखेर देखाउँदै हामीलाई हँसाए। 

'कोसँग कम्ति छ पैसाको?', उनले भर्खरैको एउटा उदाहरण दिए,  'अस्ति मच्छिन्द्रबहाल गएको थिएँ। त्यहाँ माग्नेहरु बस्छन्। पैसा दिन्छु भनेर यसो पैसा झिकेँ। तर मेरो पैसा थाप्ने फूर्सदै छैन उसलाई। फोन उठाउँछ। फोन हातमा लिएर मलाई नहेरी हात थाप्यो। मलाई अचम्म लाग्यो बा।' 

'यो हिसाबले भौतिक रुपले सम्पन्न त गरिब पनि छ अहिले', उनको निश्कर्ष। 

'तर मनको कुरा गरौँ। त्यो अनुपातमा म ज्यादै दुःखी छु। त्यो बेलाको हरक्षण जीवन्त भएर बाँच्या जस्तो लाग्छ। त्यो बेलाका धेरै कुरा सम्झँदा दुःख हुँदैन थियो। दुःखै सम्झँदा पनि सुख जस्तो लाग्ने',  उनी भावुक सुनिए। 

'पैसाको खनखनको आवाज त्यो बेला थिएन। तैपनि आवाज नभएको त्यो आवाज, कस्तो मिठो आवाज !,' उनको आवाज अझ भावुक हुन थालेपछि हामीले फेरि कुराकानीलाई दशैँतिर मोड्न खोज्यौँ। 

तपाईँहरु नवरथा जानु हुन्थ्यो होला नि?

'हँ?' उनले अलि बुझेनन्।

'नवरथा जानु हुन्थ्यो?'

'किन नजानु', उनको मुहारमा फेरि मुस्कान फैलियो।
 
'टोलटोलमा हाम्रो नवरथा भन्ने त लाग्छ नि। झिसमिसेमै साथीहरु उठाउन आउँथे। नवरथामा नौ ठाउँ जाने चलन छ।' 

'तर पछि त्यसरी गइएन। हाम्रो नजिकको गंगा भनौँ वा तीर्थ भनौँ - भगवती पर्छ। त्यहाँ बेसी गइन्छ। त्यो बेलाका हामीभन्दा पाकोहरुले हामीलाई नदीमा हाम्फाल्न भन्थे। म हाम्फालिहाल्थेँ त्यस्तो चीसोमा',  यो अनुभव चाहिँ धेरै बाँड्न चाहेनन्। 'त्यो बेलाको कुरा गरिसाध्य छैन,' भन्दै बिट मारे।  
नेवारहरुको टोलमा मोहनी (दशैँ) को बेला पाया निकालिन्छ। त्यो हेर्ने उत्सुकता दशैँ आउनभन्दा धेरै अघिदेखि हुन्थ्यो उनलाई पनि। 'त्यसैले दशैँ आउनुअघि नै हामीलाई दशैँ लागिसक्या हुन्थ्यो', उनले सम्झिए। 

'पाया भनेर खड्ग लिएर आउनेहरु कामिरहेका हुन्थे। तर जिस्काउँथे उनीहरुलाई। अनि उनीहरु खेद्थे। कसैलाई त हान्थे पनि। त्यसरी खेदिँदै जानु र जिस्काउनु त्यो बेलाको दशैँ थियो हाम्रो', आफ्नो फरक दशैँ अनुभव सुनाए उनले। 

'आजकाल उमेरले गर्दा हो कि अथवा अहिले त्यो कुनै पनि चाडपर्वको रङ्गै उडिसक्या हो, मैले आफूलाई रमाउन पाएको छैन,' ८३ वर्षीय दुर्गालाल श्रेष्ठ अन्यौलमा देखिन्छन्, 'अचेल आउने कुनै चाडपर्वसँग त्यो मनोहारिता, त्यो मनोरञ्जन छ जस्तो मलाई लाग्दैन।'

उनले हामीलाई पो प्रश्न सोधे, 'अहिले कुनै पर्व, पर्व जस्तै लाग्दैन मलाई। उमेरको कारणले पनि हुने हो कि के हो यो?' 

'जमाना भनेको', जवाफ नपर्खी फेरि भन्न थाले, 'जमाना नै हो। जीवनको एउटा अंश भन्छन् नि। हैन रहेछ। जीवन लम्बिएला। त्यो लामो जीवन जम्मै जीवन हैन। त्यसभित्र जति जमानाको क्षण छ, त्यति मात्रै जीवन हो', छुट्टिने बेला उनले जीवन दर्शन सुनाए। 

 



टीका लगाउन मनै नपर्ने दुर्गालालले बिर्सन नसकेको तामाङ गाउँको त्यो झिलिमिली टीका  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट