PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


विजया दशमीको दिन टीका नलगाई निधार खाली राख्‍ने काठमाडौँको एउटा टोल


सहयोग रञ्जित

विजया दशमीको दिन टीका नलगाई निधार खाली राख्‍ने काठमाडौँको एउटा टोल
असं पायाको फाइल फोटो: दीपेश तुलाधर

काठमाडौँ :  आज विजया दशमी। नेपालीहरुले ठूलाबडाका हातबाट टीका र जमरा ग्रहण गरे। यो क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ। काठमाडौंमा मानिसहरुको संख्या पातलिँदै गए पनि सडकमा टीका र जमरा लगाइ हिँड्ने र आफन्त कहाँ टीका लगाउन जानेहरु प्रशस्तै देखिन्छ। 

तर काठमाडौंमा प्रायः व्यस्त देखिने असनमा भने आज टीकाको त्यति धेरै चहलपहल छैन। सारा देशमा टीकाको रौनक रहेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने आज टीका लगाएनन्। 

खासगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले आज टीका नलगाएका हुन्। आज भने उनीहरुले पसल खोली व्यापार गर्दै थिए, कोही घुम्न हिँडे भने, कोही मामाघर जाने तरखरमा थिए। 

उनीहरुले आजको साटो भोलि टीका लगाउँदैछन्। यसलार्इ उनीहरुले असं चालंका रुपमा मनाउने गर्छन्। असनका स्थानीय बासिन्दा पूर्णमान डंगोलले अन्नपूर्ण मन्दिरका पा:ला:, असं बहालका शाक्य, तक्ष बहालका ब्रजाचार्य र असनकै तुलाधरहरुले दशमीका दिन नभई एकादशीका दिन टीका लगाउने बताए। उनका अनुसार अन्नपूर्ण जात्रा एकादशीमा मनाउने भएकाले टीका पनि त्यही दिन लगाउने गरिएको हो। 

असनमा दशमीका दिन टीका नलगाउनुका बारे विभिन्न कथनहरु रहेको छ। 

प्राय समाचारहरुमा असनवासी वा असनका तुलाधरहरुले मात्र टीका लगाएनन् भन्ने सुनिन्छ। तर त्यसमा सत्यता भने छैन। बाहिरबाट असनमा आएर त्यतै बसोबास गर्ने तुलाधर, शाक्य बज्राचार्यका साथै नेवार समुदायका अरु मानिसहरुले भने दशमीका दिन नै टीका लगाए। 

लाभरत्न तुलाधरको परिवार पनि असनमै बसेको धेरै भयो। तर उनीहरुले भने आजकै दिन टीका लगाए। उनीहरु पहिलादेखि नै असनमा बस्दै आएका होइनन्। उनीहरु झ्व बहालका तुलाधरहरु हुन्। 

किन एकादशीका दिन मात्र टीका?

लाभरत्नका अनुसार असं चालंका बारे बुझ्न असनको नामका बारे बुझ्न जरुरी छ। 

धाल्छिक बहालमा रहेको पुरानो शिलालेखमा यस स्थानको नाम 'अशोकमण्डप' उल्लेख थियो। 

अशोकले भारत वर्षमा शासन गरिरहेका बेला उनी स्वनिगः अर्थात् काठमाडौं उपत्यकामा आए। उनका चेलाहरुले विभिन्न स्थानमा चिबहाः र चैत्यहरु बनाए। अशोकले यस स्थानमा ती चिबहाः र चैत्यहरु बनाएका कारण यस स्थानको नाम 'अशोकमण्डप' बन्न गएको लाभरत्नले बताए। 

नेपाली समाजमा ठूलो अक्षरलार्इ सानो बनाउने प्रचलन रहेको हुँदा अशोकमण्डपको नाम असन रहन गएको उनको भनाइ छ। 

अशोकले यसलार्इ आफ्नो राज्य विस्तार गर्ने रणनीतिका रुपमा कदम चालेका थिए। तर जब उनले निग्रोथ भन्ने एक भिक्षुको शब्दहरु सुने, आफूले गल्ति गरिरहेकोमा पश्चताप गरे। राज्य विस्तारबाट मानिसहरुको मन मस्तिष्कमा बस्न सकिन्नँ भनेर उनले अशोकमण्डपमा विजया दशमीमा शस्त्र त्याग गरेको कथन रहेको लाभरत्नले बताए। 

कालान्तरमा शक्तिको उपासना गर्ने एक समुदायको वर्चश्व कायम हुँदै गर्दा उनीहरुले शक्ति प्राप्तिका लागि भारतमा दुर्गा र यहाँ तलेजु भवानीको उपासना गर्न बाध्य बनाए। उपासना गर्दा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन )को आवश्यकता हुन्थ्यो। त्यस अनुसार वध गर्नु पर्थ्यो। 

तर जब उनीहरुले विजया दशमीमा असनमा पनि वध गर्नुपर्ने बताए, तब अशोकका विचारकहरु मान्दै आएकाहरुले उनीहरुलार्इ रोके। अशोकले अस्त्र त्याग गरेको स्थानमा बलि दिन नहुने अडान लिए। सारा देशले गरेको, असनमा मात्र नमनाउने कुरा पनि त भएन। त्यसैले दुर्इ पक्षबीच दशमीको भोलिपल्ट बलि दिने सहमति भयो। यसैसँगै असनमा टीका दशमीको भोली पल्ट असं चाल का रुपमा मनाउन गरिएको उनी बताउँछन्।  
नवमीका दिन यसैसँग सम्बन्धित असनको अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको यिता चपा ( दुर्इ तल्ले डबली) मा गुठी संस्थानले बाँसमा झुण्डाएको भैरव ध्वज परिवर्तन गरेको थियो। बलि दिने भएपछि भैरवको साधना गरेर त्यसको क्षमा माग्दै भैरव ध्वज राख्ने प्रचलन रहेको छ। त्यस क्रमा त्यहाँ बोकाको बली दिइएको थियो। त्यस डबलीमा पहिला पहिला कुमार प्याखं हुने गरेको भए पनि २२ वर्ष देखि त्यो रोकिएको लाभरत्नले बताए।  

यस्तै, टीकाका दिन तुलाधरहरुले असनमा व्यापार गर्दै व्यस्त हुने भएकाले उनीहरुले दशमीको भोलिपल्ट टीका लगाउने मान्यता रहेको दीपेश तुलाधरले बताए। टीकाका दिनहरु पनि मान्छेहरुलार्इ विभिन्न सामान चाहिने हुँदा उनीहरुलार्इ दुःख नहोस भनेर आफ्ना पूर्वजहरुले टीका एकदिन पछि मनाउन सुरु गरेको उनले बताए।

खड्ग बोकेर जात्रा

टीकाका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाया निकाल्ने गरिन्छ। तर असनमा भने तुलाधरहरुले एकादशीका दिन मात्र पाया निकाल्ने गर्छन्। बांकी स्थानमा ठूलाहरु खड्ग सहित पाया बनेर निस्कन्छन् भने असनमा भने असन गुठीमा रहेका तुलाधरहरु मध्य कान्छो बालकले खड्ग जात्राको सुरुवात गर्छन्। विगत तीन वर्षदेखि दीपेश तुलाधर र शिशिली तुलाधरका छोरा सायोन अराहन्त तुलाधरले पायाको नेतृत्व गर्दै आएका छन्।  

असन गुठी अन्तर्गत १३ परिवारका पासनी सकाएका कान्छा सदस्यले हरेक वर्ष पायाको नेतृत्व गर्ने गर्छन्। सायोन पश्चात हालसम्म अरु सदस्य नभएकाले यसपटक पनि सायोनले नै थकालीका रुपमा असं पायाको नेतत्व गर्नेछन्। एकादशीका दिन असन चोकस्थति अन्नपूर्ण मन्दिरको पछाडी रहेको बाकुननी:को आगम घरबाट असं पाया निकालिन्छ।  उनीहरुले असनका भित्री भाग परिक्रमा गरि फेरी आगम घर पुगी त्यहाँ रहेको भुइँफसी (कुभिन्डो) लार्इ खड्गले मार हान्ने गर्छन्।   

नेवार समुदायले आफ्ना आगम देवतामा शस्त्रअस्त्र राख्दै पुज्दै आएका छन्। यसैको प्रतिक स्वरुप प्रत्येक वर्ष नेवार समुदायका मानिसहरुले घटस्थापनादेखि आगम घरमा रहेका शस्त्रअस्त्र निकाली पूजा गर्छन्। विजया दशमीका दिन भुइँफसी (कुभिन्डो) मा दैत्यको आकृति बनाइ त्यसलार्इ वध गर्ने गर्छन्। त्यसपछि मात्रै उनीहरुले टीका लगाउँछन्। 

बाँकी समाजमा सबैभन्दा जेठा थकाली रहे पनि असन गुठी अन्तर्गत भने सबैभन्दा कान्छोलार्इ थकाली मान्ने गरिन्छ। उनको नेतृत्वमा ४० देखि ५० जना असं पायामा सहभागी हुन्छन्। 

दीपेश भन्छन्,'परी आयो भने सानो बालकले पनि अस्त्र उठाएर आफ्नो समाज र राष्ट्रका लागि लड्नुपर्छ भन्ने मान्यताका साथ हामी कहाँ सानो बालकबाट पाया निकाल्ने संस्कार विकास भएको हो।'

आज बेलुकी काठमाडौंममा टेबहाल, कोहिटी, भद्रकाली, यट्खा, महाबौद्ध, किलागलका साथै ललितपुरका विभिन्न स्थानमा पाया निकाली असत्य माथि सत्यको जित स्वरुप भूइँफसी (कुभिन्डो) मा दानव आकृति बनाई त्यसलार्इ वध गर्ने गर्छन्। 
 



विजया दशमीको दिन टीका नलगाई निधार खाली राख्‍ने काठमाडौँको एउटा टोल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट