PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

दशैंमा सुनसान हुने काठमाडौंमा कसरी थुप्रिए झन्डै आधा करोड मान्छे?



पहिलोपोस्ट

दशैंमा सुनसान हुने काठमाडौंमा कसरी थुप्रिए झन्डै आधा करोड मान्छे?

  • इ. किशोर थापा -
काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसको संख्या ४० लाखमाथि पुगिसकेको छ। अझ केही अनौपचारिक अध्ययनले यो संख्या ५० लाख नजिक रहेको अनुमान गरेको छ। तर, यतिबेला उपत्यकाका सडक, बजार, बस्ती खालीजस्तै प्रतित हुन्छ। 

केही दशकयता हरेक वर्ष दशैं-तिहारलगायतका ठूला चाड नजिकिँदै गएपछि काठमाडौं सुनसानजस्तै बन्दै जाने हामी प्रष्ट महसुस गर्दै आएका छौं। दशैंको फूलपातीदेखि टीकाको दिनसम्म पुग्दा त झन् राजधानी खालीजस्तै प्रतीत हुन्छ। यो क्रम विस्तारै तिहार हुँदै छठसम्म आइपुगेर सोपछि मात्रै काठमाडौंको चहलपहल पूरानो अवस्थामा फर्किन्छ।

यसले दुईवटा कुरालाई प्रस्ट देखाउँछ। एक, काठमाडौंमा बाहिरबाट आएर (अस्थायी रुपमा) बसेका मान्छे धेरै छन्। र दोस्रो, त्यसमध्येमा पनि दशैं मनाउने नेपाली अत्याधिक छन्। सोपछि तिहार र छठले पनि सांस्कृतिक रुपमा नेपालीहरुलाई जोडेको छ। तिहार देशैभर मनाइन्छ। छठ विशेषगरी तराईबासीको पर्व भनिँदै आएको भए पनि पछिल्ला वर्षहरुमा यो काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा उत्तिकै अपनत्वका साथ मनाउन थालिएको छ। त्यसैले यो पनि एक किसिमकले राष्ट्रिय पर्व नै बनिसकेको छ।

तर, दशैं–तिहार हुँदै छठसम्म काठमाडौंको भिड पातलिने यो अवस्था वर्षौंदेखि रहँदै आएको होइन। यसको जड निकट विगतको राजनीतिक घटनाक्रम वा कालखण्डप्रेरित हुँदै हुर्किएको हो। काठमाडौंलाई नजिकबाट नियालेका हामीले यसलाई प्रस्ट अनुभव गरेका छौं।

२०३६ को जनमतसङ्ग्रहपछि खासगरी दुईवटा वर्गले काठमाडौंमा घर बनाउने क्रम सुरु भयो। एउटा मनाङ्गे र अर्को मारवाडी। यी दुवै समुदाय पहिले घर–जग्गा किन्दैनथे, भाडामा बस्थे।

त्यतिबेला काठमाडौंको बाटो भएर गरिने हङकङ व्यापारलगायतमा मनाङ्गेहरुको ठूलो रजाइँ थियो। त्यसैको सिलसिलामा मनाङ्गेहरुले काठमाडौंमा जग्गा किन्ने, घर बनाउने वा किन्ने गर्न थाले। त्यो क्रम एकताका मनाङ्गेहरुबीच लहरजस्तै थियो।

अर्को, पुराना रैथाने मारवाडीहरुको त काठमाडौंमा आफ्नै घर थियो। तर, बाहिरबाट आएकाहरु भने धेरै वर्षसम्म भाडामै बसेका हुन्। उनीहरु पहिला घरजग्गा किन्दैनथे। यो नागरिकता र सम्पत्तिमाथि स्वामित्वसम्बन्धी कानुनलगायतका कारणले पनि थियो। तर, विस्तारै उनीहरुले पनि घर किन्न थाले, जग्गा जोड्न थाले।

२०४६ सालमा प्रजातन्त्र आएपछि बहुदलको पक्षमा लागेका धेरै राजनीतिक दलका नेता–कार्यकर्ताहरु काठमाडौं आए। प्रजातन्त्र आउनुअघि कतिपय नेताहरु भूमिगत थिए, कति गाउँगाउँमा थिए, कति भारततिर गएर बसेका थिए।

यहाँ राजनीति पनि काठमाडौंकेन्द्रित नै भएकाले प्रजातन्त्र आएपछि त्यसरी बाहिरबाहिरै बसेका थुप्रै नेताहरु सत्तानिकट हुनेगरी राजनीति गर्नका लागि काठमाडौं पसे। यसरी राजनीतिक उद्देश्यले काठमाडौं पस्ने क्रम निरन्तर बढ्दै गयो। त्यस्ता कतिपय व्यक्ति आफ्नै घरजग्गा किनेर बस्न थाले भने कति भाडामा पनि बस्दै गए। उनीहरुका परिवार पनि यतै आएर बस्न थाले। नजिकका कार्यकर्ता पनि आएर घर–जग्गा किनेर वा भाडामा भए पनि बस्न थाले।

२०४६ सालको त्यो प्रवृत्तिका कारण नै काठमाडौंको बुद्धनगर, बानेश्वर, भीमसेनगोला, गोंगबु इत्यादि क्षेत्रहरु तीव्र विस्तार भएका हुन्।

अर्को हो, २०६२/६३ सालको जनआन्दोलनपछिको अवस्था।

त्यसअघि २०४६–२०६२ को बीचको समयमा अलिक ठूला नेताहरु काठमाडौंमै घरजम गरेर बसे। अरु कार्यकर्ता, मेयर, उपमेयर, वडाध्यक्ष आदि चाहिँ उतैउतै धेरै बस्ने, कहिलेकाहिँ नेता भेट्न यता आउने गर्थे।

तर, जब २०५९ सालमा स्थानीय तह खत्तम भयो, त्यसपछि मेयर, उपमेयर, वडाध्यक्ष स्तरका नेताहरु पनि सुरक्षा लगायतका कारणले काठमाडौं आएर बस्ने क्रम अत्यधिक भयो। कपन, टोखा, नेपालटार, सीतापाइला, काँडाघारी, कटुन्जे, बागडोल, हरिसिद्धि, इमाडोल इत्यादि त्यसपछि विस्तार भएका ठाउँहरु हुन्। २०६२/६३ पछि पनि यही क्रमले बस्ती विस्तार हुने क्रम जारी रह्यो।

यीबाहेक अलिक भित्रबाट हेर्ने हो भने अन्य आर्थिक–सामाजिक कारणहरु पनि छन्, जसले काठमाडौंमा मान्छे ओइरिँदै गए।

सबै पार्टीका ठूला वा केन्द्रीयस्तरका नेताहरु काठमाडौं आएर बसेपछि शहरी पूर्वाधार विकासको काम/बजेट र प्राथमिकतामा काठमाडौंमै बढी पर्यो। २०४६ पछि निजी क्षेत्रबाट खुलेका ठूला वा राम्रा अस्पताल, स्कुल/कजेज, वायु सेवा कम्पनी, बैङ्क तथा वित्तीय संस्था दूरसञ्चारलगायतका सामाजिक पूर्वाधार, सेवा–सुविधाहरु पनि जे जति आए ती सबै काठमाडौं केन्द्रित नै भएर बसे। उच्च शिक्षाका लागि पनि काठमाडौं आउने क्रम बढ्यो, राम्रो उपचारका लागि पनि यहीँ आउनुपर्ने बाध्यता बनायो।

यसले सामाजिक दृष्टिबाट काठमाडौंमा बस्न खोज्ने अर्को कारण सिर्जना गर्यो। कर्मचारीहरुको पनि काठमाडौं मोह बढ्दै गयो। पहिला पहिला त्यस्तो थिएन। तर, विस्तारै ‘काठमाडौं सरुवा गरिदिनुपर्यो’ भनेर आउने कर्मचारीहरु धेरै हुन थाले। कसैको छोराछोरी यहाँ बसेर पढ्ने, कसैको श्रीमान्/श्रीमतीको जागिर यहाँ हुने, कसैको आफन्त, छरछिमेक वा नजिकको मान्छेको व्यापार व्यवसाय र बसाईं यतै भइसकेका आदि यसका कारण थिए।

केन्द्रिकृत राजनीतिका कारण सिर्जना भएका यी अवस्थालाई ‘वैदेशिक रोजगारी’को अर्थतन्त्रले विस्तारैविस्तारै तर गहिरो रुपमा मलजल गर्दै लग्यो। देश नै रेमिट्यान्स इकोनोमीमा चलेको छ। यसको ‘इनलेट’ र ‘आउटलेट’ दुवै काठमाडौं नै छ अहिलेसम्म पनि। पैसा कमाउन (वैदेशिक रोजगारी)का लागि विदेश जाने र उताबाट फर्किएर आउने दुवै काठमाडौंसँगै ठोक्किन्छ। एजेन्ट भेट्नदेखि पासपोर्ट बनाउन, प्लेन चढेर बाहिर आउन र उताबाट फर्किंदा पनि काठमाडौं टेक्नैपर्ने बाध्यात्मक अवस्था बन्यो। यसले वैदेशिक रोजगारीमा जानेको पनि काठमाडौंप्रतिको मोह बढ्दै गयो। त्यताबाट कमाएको पैसाले काठमाडौंमा घर/जग्गा जोड्ने, व्यापार सुरु गर्नेले स्थायी वा अस्थायी रुपमा यता बस्न आउन थाले। यो क्रम चलि नै रहेको छ।

तर, साँच्चै भन्ने हो भने जग्गाको अस्वाभाविक मूल्यवृद्धि, धुलो, धुँवा, खचाखच र कष्टकर सार्वजनिक यातायात, बाटोमा ट्राफिक जामलगायत थुप्रै समस्याका कारण बस्नका लागि काठमाडौं अब असाध्यै गाह्रो ठाउँ भइसकेको छ। तै पनि अहिलेसम्म ‘अब यहाँ बस्न सकिएन, मचाहिँ बसाईं सरेँ’ भन्ने मान्छे भेटिएको र सुनिएको छैन। यस्तो उकुसमुकुसमा पनि काठमाडौंमै बस्नुपर्ने आर्थिक आकर्षण के रहेछ यहाँ? तर, केही न केही पक्कै छ, जसले मान्छेलाई यतिसारो काठमाडौंतिरै तानिरहेको छ।

यी प्रश्नका बाबजुद सतहमा देखिएको सत्य – काठमाडौंमा शहरी जीवनको आकर्षण छ। बहुरोजगारीको अवसर छ। सामाजिक तथा राजनीतिक सम्बन्धहरुको सञ्जाल तथा बाहिरी दुनियाँको झ्याल हो, काठमाडौं। काठमाडौंमा बसियो भने चुनावका लागि टिकट, व्यापारिक ठेक्का तथा अनुमतिपत्र पाउन सहज हुन्छ र सरकारी अधिकृतलाई प्रभावमा लिन सकिन्छ भन्ने मान्यता स्थापित छ। काठमाडौंमा बस्दै आएका कथित बौद्धिक वर्ग आफूलाई श्रेष्ठतर ठान्छन्, किनकि उनीहरु जिल्लामा बस्ने आफ्ना समकक्षीभन्दा आफूलाई शक्तिकेन्द्रको निकट हुन्छन्।
(प्रोपर्टीको आर्काइभबाट) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell