PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सडक दुर्घटनाको कारण भ्रष्टाचार 



पहिलोपोस्ट

सडक दुर्घटनाको कारण भ्रष्टाचार 
२०७४ असार २५ गते सल्यानमा बस दुर्घटनाको फाइल तस्विर

  • दिपेश घिमिरे-
दशैँ मनाएर रामेछापबाट काठमाडौं फर्किँदै थिएँ। म फर्किने वीपी राजमार्गमा सिन्धुलीको खुर्कोटदेखि काभ्रेको नेपालथोकसम्म “टाइम कार्ड” दिने व्यवस्था छ। यस कार्डको अर्थ भनेको यातायातको साधन द्रुत गतिमा नदौडियोस् भन्ने हो। खुर्कोटदेखि नेपालथोकसम्मको लागि डेढ घण्टा भन्दापछि मात्रै पास गर्न दिने व्यवस्था छ। त्यसको लागि खुर्कोटको प्रहरी चौकीमा कार्डमा त्यहाँबाट पास भएको समय लेख्ने व्यवस्था छ। तर, म आउँदै गरेको गाडीभन्दा अघिल्लो गाडीका चालक अलि हतारमा देखिन्थे। बिहान झण्डै ८ बजे हामी खुर्कोटमा पुगेका थियौं। तर ती चालकले प्रहरीलाई दुई सय रुपैयाँ लुकाएर हातमा राखिदिए।

त्यसपछि प्रहरीले उनको कार्डमा ७ बजेर १० मिनेटमा त्यहाँबाट पास भएको समय उल्लेख गरिदिए। त्यो कार्ड हातमा पर्ने वित्तिकै ती चालकले आफ्नो सवारीलाई बेसुरमा दौडाउँदै अघि बढे। यही सडकमा केही दिन अगाडि मात्रै ३ वटा गाडी दुर्घटना भएर करिब आधा दर्जन व्यक्तिको निधन भएको थियो। 

हेर्दा अत्यन्तै सामान्य कुरा हो। तर यस घटनाले हरेक दशैंको आसपासमा किन धेरै दुर्घटनाका समाचार सुन्नु परिरहेको छ भन्ने कुरा बुझ्न प्रशस्त आधार दिन्छ। दशैँ आसपासमा मात्रै दर्जनौं दुर्घटना भए र दर्जनौंले जीवन गुमाउनु पर्‍यो। सयौँ घाइते भए। नेपालमा सडक दुर्घटनाका यस्ता घटनाहरु दिनदिनै बढ्दै गईरहेको छ। हरेक दिन साना ठुला दुर्घटना भइरहेका छन्। सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउन विवश छन् नागरिक।

यसरी भयावह बन्दै गइरहेको सडक दुर्घटनाको कारणबारे छानविन गर्न र सुझाव दिन सरकारले समय समयमा छानविन समितिसमेत गठन गर्ने गरेको छ। यस्ता समितिहरुले दिएका प्रतिवेदनलाई अध्ययन गर्दा सवारी चालकको लापरबाही नै प्रमुख कारण रहेको उल्लेख गरेका देखिन्छ। एउटा चालकलाई सडक दुर्घटनाको सम्पूर्ण दोष दिएर अन्य कारणतर्फ ध्यान दिन सकिएको छैन। जसले गर्दा सडक दुर्घटनाको खास कारण बुझ्न सकिएको छैन।

सडक दुर्घटनाको घटनालाई मिहिन रुपमा हेर्ने हो भने सडक दुर्घटनामा सुशासनको अभाव नै प्रमुख कारण रहेको देखिन्छ। कयौँ सडकमा दुर्घटना छिटो गतिमा सवारी चलाउँदा हुने गरेको छ। निश्चित गति भन्दा बढी गतिमा गाडी दौडाउँदा चालकलाई कारबाही नगर्ने बरु केही रुपैयाँ नजराना लिएर प्रहरीले यस्ता गलत कर्मलाई छुट दिने गरेको देखिन्छ। यसै गरी दुर्घटनाबारे प्राप्त भएका तथ्यांक तथा घटनाहरुलाई मिहिन विश्लेषण गर्ने हो भने सबैभन्दा धेरै दुर्घटना सुदुर तथा मध्यपश्चिम विकास क्षेत्रमा भएको देखिन्छ । पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रमा दुर्घटना बढी हुनुमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट मुख्य कारण रहेको छ।

पूर्वी क्षेत्रमा सिन्डिकेटको समस्या छँदै छैन भए पनि निकै कम छ। तर सुदुरपश्चिम तथा मध्यपश्चिम विकास क्षेत्रमा सिन्डिकेटको समस्या निकै बढी छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६८ मा “स्वच्छ प्रतिष्पर्धात्मक ढंगबाट यातायात व्यवसायको विकास गर्न सार्वजनिक सवारीलाई चक्रिय प्रणाली अन्तर्गत सेवा सञ्चालन गर्ने गरी इजाजत पत्र प्रदान गरिने छैन” भन्ने व्यवस्था गरिएको छ। यस ऐन लागू भएको दुई दशक वितिसक्दा पनि यो प्रावधानको व्यवहारिक कार्यान्वयन हुन नसक्दा दिनदिनै दुर्घटना बढिरहेका छन्। 

भर्खरै नेपाल सरकारले सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो। तर केही समय पनि नबित्दै दुई तिहाई बहुमतको सरकार यातायात व्यवसायीहरुको अगाडि झुक्यो। हरेक नेपालीले अन्दाज गर्न सक्छन् यस कार्यमा कति अदृश्य चलखेल भए होलान्। 

सिन्डिकेटले दुई किसिमबाट सडक दुर्घटनालाई बढाइरहेको छ। पहिलो सिन्डिकेटमा रहेका बसहरु निकै थोत्रा छन्। उकालोमा नतान्ने र ओरालोमा नथाम्ने थोत्रा गाडीहरु सञ्चालन हुदाँ दुर्घटना बढिरहेका छन्। सामान्य ब्रेक, गेयर, एक्सिलेटर पनि कन्डिसनमा नरहेका यस्ता गाडीहरुकै कारण दुर्घटना बढेको हो। 

दोस्रो भनेको सिन्डिकेटवालाहरुले प्रतिष्पर्धालाई निरुत्साहित गरेका छन्। अनि आफ्नो मनखुसीले आवश्यकता भन्दा निकै थोरै गाडीहरु महँगो भाडा लिएर चलाउने गर्दछन्। उसै त थोत्रा गाडी त्यसमा पनि क्षमता भन्दा दोब्बरभन्दा बढी यात्रु बोकेर सवारी सञ्चालन हुदाँ पनि प्रहरी केही सय रुपैयाँ नजराना लिएर सहज रुपमा सञ्चालन हुन दिइरहेका छन्। 

यसैगरी गाउँ गाउँमा सडक विस्तार भइरहेका छन् । यस्ता सडक सञ्जाल विस्तार गर्दा कुनै प्राविधिक तथा ईन्जिनियरींग मापदण्डनै पुरा नगरिकन राजनीतिक दलका स्थानीय नेताहरु तथा टाठाबाठाहरुको लहड र दबाबमा सडक खनिएका छन्। यस्ता सडकहरु इन्जिनियरिंग दृष्टिकोणले उपयुक्त र सुरक्षित छैनन्। सडक खन्न डोजरको प्रयोग गरिएको छ। डोजर चालकले जताजता चाह्यो त्यतै त्यतै बाटो खन्ने प्रवत्ति झाँगिदै जादाँ दुर्घटनाको मात्रापनि बढ्दै गईरहेको छ।

डोजरबाट बाटो खन्दा ठुलो मात्रामा कमिसनको चलखेल हुने गरेका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक भईरहेका छन्। पछिल्लो समय त जनप्रतिनिधिसमेत आफै डोजर किन्दै स्थानीय तहको बजेट दुरुपयोग गरिरहेका छन्। यसरी कमिसनको लोभमा प्राविधिक मापदण्ड विना नै खनिएका सडकमा चलिरहेका यातायातका साधनहरु दुर्घटनाको कारण बनिरहेका छन्। 

एक अध्ययनअनुसार नेपालमा करिब ६८ हजार किलोमिटर ग्रामिण सडकमध्ये करिब ४३ हजार किलोमिटर सडक गाडी चलाउन अयोग्य छ। यस्ता सडकमा बस तथा मिनिबसहरु निर्वाध रुपमा सञ्चालन भईरहेका छन्। भर्खरै ट्रयाक खुलेका, अर्को गाडीलाई साइड दिनसमेत ठाउँ नभएका, बाटोको छेउमा पर्खालसमेत नबनाईएका सडकमा निर्वाध रुपमा गाडी सञ्चालनको लागि रुट परमिट दिदाँ दुर्घटना बढिरहेका छन्। 

यसैगरी यातायात क्षेत्रमा भ्रष्टाचार बढ्दै गईरहेको छ। यातायात सञ्चालनमा लाईसेन्स दिने क्रममा भ्रष्टाचार हुने गर्दछ। यही भ्रष्टाचारको कारण सवारी तथा यातायात व्यवस्था ऐनले गरेका व्यवस्थाहरुलाईसमेत बेवास्ता गर्दै यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले सिन्डिकेटवालाहरुले चाहे र भने अनुसारकोमात्र गाडीलाई अनुमति दिँदै आएका छन्। यसैगरी, सवारी अनुमतिपत्र लिने क्रममा पनि भ्रष्टाचारका कारण ट्रायल पासै नगरेका भर्खरका किशोर तथा युवालाई सवारी चालकको अनुमतिपत्र दिईरहेको छ। यसले राम्रोसँग गाडी चलाउनसमेत नजान्ने व्यक्तिले सवारी अनुमतिपत्र पाएका छन् र कच्ची तथा कमजोर गुणस्तरको सडकमा गाडी चलाईरहेका छन्। 

यसैगरी, प्रहरी प्रशासनभित्रको भ्रष्टाचारी र घुसखोरी शैलीले थोत्रा र क्षमताभन्दा दोब्बर यात्रु बोकेका गाडी निर्वाध रुपमा सञ्चालन भईरहेका छन्। घुम्ती र चोकमा रहेका प्रहरी बिट तथा ट्राफिक कार्यालयका प्रहरीलाई घुस दिएर यस्ता गाडी सञ्चालन भईरहेका छन्। जसलाई थोरै रकम घुस पाएका ट्राफिक तथा प्रहरीले देखेको नदेख्यै गरिरहेका छन्। 
 
अन्त्यमा, सडक दुर्घटनाको खास कारण यातायात क्षेत्रमा हुर्कदै गएको खराब शासन व्यवस्था तथा भ्रष्टाचारसँग जोडिएको छ। यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागि भनेर बनेका ऐन, कानुन, नीति नियमको कार्यान्वयन गर्ने जिम्मेवारी पाएका निकायहरुका अधिकारीहरु केहि पैसाको लोभमा कानुन कार्यान्वयनलाई वेवास्ता गरिरहेका छन्। दुर्घटनामा सवारी चालक र उनीहरुको लापरवाही मात्र दोषी र जिम्मेवार छैन। बरु दिनदिनै बढ्दै गईरहेको भ्रष्टाचार तथा खराब शासन व्यवस्थाले दुर्घटनालाई पनि बढाईरहेको छ। दुर्घटनालाई घटाउन यातायात क्षेत्र तथा यसका अन्य सरोकारवाला निकायहरुमा झाँगिदै गएको अनियमितता तथा भ्रष्टाचारलाई पनि घटाउनु जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell