PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

डा केसीको अबको तारो : शिक्षामन्त्रीबाट पोखरेललाई हटाउन हिर्काउँदै अनशनको झटारो!



सागर बुढाथोकी

डा केसीको अबको तारो : शिक्षामन्त्रीबाट पोखरेललाई हटाउन हिर्काउँदै अनशनको झटारो!

असोजको दोस्रो साता डा गोविन्द केसीले पत्रकार सम्मेलन गरेर भने, 'सरकारले मसँग गरेका सम्झौता कार्यन्वयन गरेन। म जुनसुकै बेला जहाँ गएर नि अनशन बस्छु।'

२७ दिनको अनशन तोडेपश्चात पाचौँ पत्रकार सम्मेलन थियो डा. केसीको। त्यसअघि पनि तत्काल सम्झौता कार्यन्वयन नगरे अनशन बस्ने अभिव्यक्ति दिएका थिए।

डा. केसीले २७ दिने अनशन तोड्दा सरकारसँग भएको सहमति हेर्न यहाँ क्लिक गर्नुस्

तर, डा. केसीको अभिव्यक्तिलाई कसैले वास्ता गरेन। संसदको दोस्रो अधिवेशन त्यतिकै सकियो। चिकित्सा शिक्षा विधेयक फेरि पनि अलपत्र पर्‍यो। उनले फेरि पत्रकार सम्मेलन गरेर भने, 'शिक्षामन्त्री गिरिराजमणि पोखरेल माफियाको मतियार हुन्। उनकै 'ब्ल्याकमेलिङ'का कारण मेरो माग पुरा भएन।'

पढ्नुस्: शिक्षामन्त्रीको तर्फबाट डा. केसीलाई आएको त्यो कल जसका कारण चिकित्सा शिक्षा विधेयक पारित भएन

उनको यो अभिव्यक्तिले पनि खासै केही असर गरेन।  शिक्षा मन्त्री पोखरेलले उल्टै भनिदिए, 'डा केसीकै कारण उनको माग पुरा नभएको हो। उनी छलफलमा नआएका हुन्।'

आरोप प्रत्यारोप त्यतिकै सेलायो। गएका एक महिना डा.केसी मौन बसे। न उनी आफैले भनेजस्तै अनशन बसे न त सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्न अग्रसरता देखायो।

 

दशैँ सकियो, के गर्लान् अब ?

विगत हेर्ने हो भने उनी चुप बस्दैनन्। दशैँको मुखमा होस या देशमा प्राकृतिक विपत्ती आएको बेला। आफ्नो माग कार्यान्वयन नभएको भन्दै उनी अनशन बसेका उदाहरण धेरै छन्। यो पटक उनी त्यही इतिहास दोहोर्‍याउने मुडमा छन्। कारण पुरानै छ— चिकित्सा शिक्षा विधेयक पारित नहुनु।

चिकित्सा शिक्षा विधेयक पारित नभए अहिलेसम्मका अनशनका उपलब्धि सकिने उनी आफै बताउँछन्। अहिलेसम्मका उपलब्धि जोगाउन पनि अनशन बस्नुपर्ने उनको तर्क छ। त्यस्तै गौरी बहादुर कार्की आयोगले दोषी ठहर्‍याइएका त्रिभुवन विश्वविद्यालय पधाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने माग पनि छाडेका छैनन्।

यिनै कारण पनि डा. केसी १६ औ अनशनको तयारी गर्दैछन्। १५ औ अनशन २७ दिनमा टुंग्याउदाँ भएको सम्झौता सरकारले पुरा नगर्ने बुझिसकेका छन्। शिक्षा मन्त्री पोखरेलले नै 'भिलेन'को रोल खेलेको आरोप छ उनको। शिक्षामन्त्री पोखरेलले नर्सिङ र अरू प्राविधिक विषयलाई सम्बन्धन दिन चलखेल गर्नकै लागि संसदको दोस्रो अधिवेशनबाट विधेयक पारित नगराएको उनी बताउँछन्। शिक्षामन्त्री पोखरेल पदमा बस्न उपयुक्त नभएको भन्दै राजीनामाको मागसमेत गरेका छन्।

दशैं सकियो। शिक्षामन्त्री पोखरेलले राजीनामा दिएनन्। बर्खास्तीको माग राखेका त्रिभुवन विश्वविद्यालयका पधाधिकारीले राष्ट्रपतिबाट सम्मान पाइसके। सरकारले उनीसँग गरेका सम्झौता एउटै पनि कार्यन्वयन गरेन। यो अवस्थामा उनी चुप बस्ने पक्षमा छैनन्। अनशन बस्ने तयारी गरेको बताउँछन्।  पुरानै कुरा दोहोर्‍याउँछन्, 'म जुनसुकै बेला जहाँ पनि अनशन बस्छु।'

***

चिकित्सा शिक्षा विधेयकमा विवाद भएको लामो समय बितिसकेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारबाट हट्दै गर्दा डा. केसीले भने बमोजिम नै अध्यादेश जारी गरेको थियो। अध्यादेश प्रतिस्थापन नभएपछि वर्तमान सरकारले पुनः वैशाख १३ मा त्यसैको निरन्तरताका लागि अध्यादेश नै जारी गरेको थियो। तर, प्रतिस्थापन विधेयक भने सरकारले फरक गरी ल्यायो। अध्यादेशका धेरै व्यवस्था प्रतिस्थापन विधेयकमा अटेनन्।

लगत्तै निजी मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने व्यवस्था राखिएको विधेयक संसदमा दर्ता भयो। डा.केसी अनशन बस्न जुम्ला हिँडे। केसी जुम्लामा अनशन बसिरहँदा 'कोही अनशन बस्दैमा सरकार डराउँदैन, मेडिकल कलेज खोल्न रोकिन्न'  भन्ने अभिव्यक्ति दिँदै शिक्षामन्त्री पोखरेल हिँडिरहे।

तर, केसीको अनशनको अगाडि सरकार झुक्यो। अनशनको २७ दिनपछि उनकै माग अनुसार सरकारले सम्झौता गर्‍यो। केसी सम्झौता कार्यान्वयन हुने आशामा बसे।

प्रधानमन्त्रीसँग भेट गर्दै सम्झौता चाँडै कार्यान्वयन गर्न आग्रह गरे। तर, चिकित्सा शिक्षा विधेयक पारित भएन।  डा केसीले शिक्षामन्त्री पोखरेललाई पहिलेको झैँ आरोप लगाए, 'शिक्षामन्त्री पोखरेल माफियाको मतियार हुन्। उनी शिक्षामन्त्री रहुन्जेल चिकित्सा शिक्षा विधेयक पास हुन्न।'

डा केसीले यो अभिव्यक्ति दिएको १ महिना बितिसकेको छ। यो बिचमा उनी अनशन बसेनन्। उनको अभिव्क्तिले शिक्षामन्त्रीलाई खासै असर गरेन। सोही कारण डा केसी आक्रोशित बनेका छन्। उनको अडान नै शिक्षामन्त्रीको राजीनामा छ। शिक्षामन्त्री पोखरेल हुन्जेल आफ्नो माग पुरा नहुने बारम्बार दोहोर्‍याउँछन्। भन्छन्, 'अबको पहिलो मिसन नै शिक्षामन्त्रीको राजीनामा हो। उनी हटेपछि चिकित्सा शिक्षा विधेयक पारित हुने सम्भावना बढ्छ।'

यसअघि डा केसीले अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीको राजीनामादेखि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्ती गर्नसमेत माग गरेका थिए।

पढ्नुस्: डा. केसी भर्सेज शिक्षामन्त्री पोखरेल: जुहारी कहिलेसम्म?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell