PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नक्कली नोट प्रकरणः जलाएको भनिएको नोट जलाएको देखिएन, कहाँ गए एक लाख २० हजार नक्कली नोट?



नक्कली नोट प्रकरणः जलाएको भनिएको नोट जलाएको देखिएन, कहाँ गए एक लाख २० हजार नक्कली नोट?

काठमाडौं: प्रहरीले नक्कली नेपाली नोटसहित आइतवार पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। प्रहरी नियन्त्रणमा रहेका उनीहरुले पाँच लाख नक्कली नोट छापेको प्रहरीमा बयान दिएका छन्। तर प्रहरीले भने उनीहरुको साथबाट तयारी अवस्थामा रहेको ३ लाख ७० हजार रुपैयाँको नक्कली नोट मात्र बरामद गरेको छ। बाँकी १ लाख ३० हजारको नक्कली नोट कहाँ गयो त? 

गत शुक्रवार विकास दोर्चे र उनका साथी चावहिलको चाँदनी रेष्टुरेष्ट एण्ड वारमा गएका थिए। वारमा तिरेको ९ हजार रुपैयाँ नक्कली भएको फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले तिरेको नक्कली नोट पनि पाँच लाख मध्येकै भएको प्रहरीको दावी छ। बाँकी १ लाख २० हजार बजारमा गएको देखिन्छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति कीर्तिपुर नगरपालिका मच्छेगाँउ ४ बाट पक्राउ परेका मुख्य योजनाकार इन्द्रबहादुर श्रेष्ठ ६० हजार रुपैयाँ बराबरको नक्कली नोट जलाएको प्रहरीमा बयान दिएका थिए। आइतवार प्रहरी श्रेष्ठले नोट जलाएको ठाँउ हर्ने पुगेको थियो। कीर्तिपुरमा नोट जलाएको बताए पनि कहीकतै नोट जलाएको नभेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी बताउँछन्। डिएसपी बोगटी भन्छन्, 'उसले जलाएको भनिएको ठाँउमा गएर प्रहरीले हेर्‍यो। तर कतै पनि जलाएको भेटिएन।'

यसरी छापिएको पैसा उनीहरुले होटल रेष्टुराँ, किराना पसल, फुटपाथ पसल र सक्कली पैसामा मिसाएर बजारमा पुर्याउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। बाँकी नक्कली नोट नभेटिनुले बजारमा नोट गएको हुनसक्ने प्रहरीको अनुमान छ। बजारमा नक्कली नोट गएको हुन सक्ने भएकाले सबै जना नोटको कारोवार गर्दा ध्यान दिन परिसरका प्रमुख एसएसपी बसन्त लामाको सुझाव छ। एसएसपी लामा भन्छन्, 'बजारमा नक्कली नोट हुन सक्छ। कारोवार गर्दा ध्यान दिनुहोला। कुनै पनि नोटमा शंका लागेमा प्रहरीसँग सम्पर्क गर्नुहोला।'

प्रहरीले मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ, २५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापा, २८ वर्षीय राज श्रेष्ठ र २९ वर्षीय विकास दोचेलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। उनीहरुले पहिलोपटक नक्कली नोट छापेको बताइरहेका छन्। नक्कली नोट बनाएको प्रमाणित भएमा मुलुकी अपराध संहिता अनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। 

सम्वन्धित समचार

रेस्टुराँमा तिरेको नक्कली नोटले भेटियो जालोः यसरी छापिन्थ्यो पैसा, समाचार पढेर नोट छाप्न सिके



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell