PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


बदलिँदो समाजमा बसोबास : कस्तो घर बनाउनु उपयुक्त?


पहिलोपोस्ट

बदलिँदो समाजमा बसोबास : कस्तो घर बनाउनु उपयुक्त?

  • इ. किशोर थापा-
हरेक परिवारको अनिवार्य आवश्यकता हो, आवास जुन पूरा गर्न जो कसैले आफ्नो जीवनको सम्पूर्ण साधन र स्रोत खर्चिनुपर्ने हुनसक्छ। जग्गा, पूर्वाधार तथा निर्माण सामग्री र ज्यालाको आकाशिँदो मूल्यसँगै घर निर्माणको काम अत्यन्त  महँगो हुनेगर्छ। 

धेरै देशमा नागरिकका लागि उनीहरूको हैसियत र आवश्यकता अनुसारको आवास उपलब्ध गराउने जिम्मा सरकारले लिएको हुन्छ। सरकारले नै आवासीय क्षेत्रको विकास गरेर सहुलियत दरमा नागरिकको आयअनुसारको आवास इकाइ उपलब्ध गराउँछ। यस्ता इकाइ बहुतले अपार्टमेण्ट अथवा छुट्टै घर दुवै हुनसक्छ। निम्न आयवर्गका लागि अपार्टमेण्ट र मध्यम तथा उच्च आय वर्गका लागि छुट्टै घरको व्यवस्था गर्ने प्रचलन छ। 

ठूला शहरमा बस्ने सबैले आफ्नै स्वामित्वको आवासको व्यवस्था गर्न सक्दैनन्। यसैले उनीहरु अरुले बनाइदिएको घर वा अपार्टमेण्टमा बहालमा बस्छन्। त्यसो गर्दा उनीहरुलाई शुरुमा नै आर्थिक भार पर्दैन भने आफ्नो रोजगारी रहेको स्थान नजिक बस्न खोज्छन्। 

नेपालमा आवासको व्यवस्था राज्यको दायित्वभित्र पर्दैन। यो व्यक्तिको दायित्वभित्र पर्ने भएकाले हरेकका लागि घर बनाउने विषय आफ्नो दीर्घकालीन सपना बन्छ।

यो आलेखको उद्देश्य परिवारको अवस्थामा परिवर्तन आउँदा कसरी आवासको आवश्यकता बदलिन्छ र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नु हो।

नेपालको शहरी क्षेत्रको सन्दर्भमा सामान्यतयाः एउटा व्यक्तिले घर बनाउने उमेर ४५ वर्ष वा सोभन्दा माथि हो। सामान्य आय भएको मध्यम वर्गीय परिवार करीब २० वर्षको कमाइपछि मात्र जग्गा किन्न र घर बनाउन सक्ने अवस्थामा पुग्छ। घर निर्माणको काम पनि उसले एकैपल्ट पूरा गर्न सक्दैन र चरणवद्ध रुपमा बनाउनुपर्ने अवस्थामा पुग्छ। घरको निर्माण पूरा गर्ने काम ५ देखि १० वर्षसम्म चल्न सक्छ। यो अवधिमा घरमूलीका साथै पूरै परिवार ठूलो  तनाव र चरम आर्थिक संकटबाट गुज्रिन्छ। 

सहुलियत आवास कर्जा उपलब्ध नहुने र बैंकको कर्जा प्रवाह प्रक्रिया पनि झन्झटिलो रहेकाले पारिवारिक बचत, नाता कुटुम्वको भरथेग, कर्मचारी भए सञ्चय कोषबाट प्राप्त हुने सापटीबाट नै निर्माण खर्च जुटाउनुपर्ने बाध्यता हुन्छ। कतिपयले घरको तला थप्दै लगेर निर्माणाधीन घर वा फ्ल्याट भाडामा दिएर पनि घर बनाउने खर्च जुटाउँछन्।

घर निमार्णसँगै परिवारको अवस्थामा पनि फेरबदल भइरहन्छ। साना केटाकेटी हुर्कन्छन् र उच्च शिक्षाका लागि घर छोडेर पनि जान्छन्। त्यो अवस्थामा बाबुआमाका लागि घर ठूलो हुनजान्छ र त्यसलाई कसरी सम्हाल्ने भन्ने चिन्ता हुन थाल्छ। यसको विकल्प स्वरुप घर भाडामा लगाउनुपर्ने हुन्छ। केही वर्षपछि केटाकेटीहरु पढाइ सकेर फर्केपछि उनीहरुको बिहाबारी गर्ने बेला हुन्छ र फेरि त्यो घर सानो हुन थाल्छ। भाडामा बसेका अर्को परिवारलाई हटाउनुपर्ने अवस्था आउन सक्छ। कालान्तरमा केटाकेटीका पनि बच्चा जन्मिन्छन् र उनीहरुले छुट्टै घर खोज्छन्। त्यो अवस्थामा घर पुनःखाली हुन्छ र वृद्ध बाबुआमाका लागि बोझ बन्न जान्छ। 

छोराछोरीले बाबुआमालाई छोडेर विदेश गए भने अवस्था निकै दर्दनाक हुन्छ। ठूलो कम्पाउण्डमा बनेको घर बेचेर अपार्टमेण्ट वा बृद्धाश्रममा बस्नुपर्ने अवस्था आउँछ। कतिपय अवस्थामा खाली घर कुर्नकै लागि पैसा तिरेर मान्छे राख्नुपर्ने हुन्छ।

नेपालमा बन्ने प्रायजसो घरको सामाजिक आयु २५ देखि ३० वर्ष हो। यद्यपि, प्राविधिकहरुले पक्की घरको आयु ५० वर्ष भन्ने गर्छन्। घरको भौतिक संरचनाको आयु लामो भएता पनि २५ देखि ३० वर्षको अवधिमा त्यो परिवारको अवस्थामा ठूलो परिवर्तन आउँछ, नयाँ पुस्ता तयार हुन्छ। २५ वर्षअघि जन्मेको बच्चा वयस्क वा विवाहित भइसकेको अवस्थामा उसलाई त्यो घरको डिजाइन, सेवा सुविधा पुरानो (आउटडेटेड) लाग्न सक्छ र उसले त्यहाँ बस्दा असहज महसुस गर्छ।

परिवारको आकार तथा आयमा हुने घटबढ, परिवारका सदस्यको कार्यक्षेत्र परिवर्तन, घर छिमेकको अवस्थामा बदलाव, बसाइसराई इत्यादिले परिवारको अवस्थामा परिवर्तन आउँछ। समय र परिस्थितिले गर्दा कहिले आफ्नो घर अरुलाई भाडामा दिनुपर्ने हुन्छ, कहिले आफैं अरुको घरमा भाडामा बस्नुपर्ने अवस्था आउँछ। कहिले अंशबण्डा गरेर घर भाग लगाउनु पर्ने वा भएको जग्गा काटेर बेच्नुपर्ने अवस्था पनि आउँछ।

यी सबै परिस्थितिको सामना गर्दै जाँदा एउटा परिवारलाई आफ्नो घर कहिले ठूलो त कहिले सानो हुन्छ। घर कहिले आफ्नो मान–प्रतिष्ठाको सूचक बन्छ त कहिले त्यही घर घाँडो हुन्छ।

त्यसो भएबदलिँदो परिस्थितिसँग तालमेल मिल्ने गरी घर कसरी बनाउने त?

जहिले पनि घरको डिजाइन गर्दा नै आफ्नो वर्तमान अवस्था र आगामी १०/१५ वर्षको सम्भावित अवस्थाको आँकलन गरेर कोठाको संख्या, आकार आदि व्यवस्था गर्नुपर्छ। आफ्नो वर्तमान आर्थिक अवस्था अनुसार घरको लागत अनुमान तयार गर्नु उपयुक्त हुन्छ। आर्थिक अवस्थाले धान्न नसक्ने गरी लहडमा र अर्काको देखासिकी गरेर घर बनाउँदा पछि ठूलो आर्थिक संकटमा पर्ने संभावना हुन्छ। किनकि आफ्नो सारा श्रीसम्पत्ति घरमा खन्याउँदा परिवारका लागि अत्यावश्यक जस्तै खाना, शिक्षा, स्वास्थ्य र आपतकालीन खर्च जुटाउन सकिन्न।

प्राविधिक दृष्टिकोणले घरको निर्माण चरणवद्ध रुपमा गर्नु उपयुक्त हुन्छ। जस्तै, सुरुमा आफ्नो तत्कालीन आवश्यकता पूरा गर्नेगरी एकतला र थोरै कोठा भएको घर बनाउने। परिवार बढदै जाँदा क्रमशः कोठा वा तला थप्ने काम गर्दा एकैपल्ट आर्थिक भार पर्दैन र निर्मित संरचनाको प्रभावकारी उपयोग गर्न सकिन्छ।

त्यसैगरी, कतिपय अवस्थामा फिनिसिङको काम पनि चरणवद्ध रुपमा गर्न सकिन्छ। बाथरुम, भित्री र बाहिरी सजावटका काम पनि विस्तारै गर्दा फरक पर्दैन। आफ्नो आर्थिक अवस्था सुधार हुँदै गएपछि क्रमशः ती काम धक फुकाएर गर्नु राम्रो हुन्छ। तर कुनै पनि काम गर्दा त्यसलाई पछि भत्काउन वा दोहोर्याएर गर्नु नपरोस् र साधन–स्रोत खेर नजाओस् भन्नेतर्फ पनि सचेत हुनुपर्छ। 

यसका लागि शौचालय, सिंढी र मूलढोकाको पोजिसनको विशेष ख्याल गर्नुपर्छ ता कि पछि कोठा वा अर्को तला थप्दा कुनै भित्ता फोड्न नपरोस् र कोठा वा तला थपेकै कारण घर कुरुप नहोस्, कसैलाई असुविधा नहोस्। यसका लागि प्राविधिकसँग गहन छलफल गरी सुरुमै घरको पूर्णरुपको डिजाइन तयार गरेर निर्माण कार्य चाहिँ प्राथमिकताका आधारमा क्रमशः गर्दै जान सकिन्छ।

नेपाली मान्यताको घर

नेपालीहरुका लागि घर भनेको खाने, बस्ने, पूजा आजा गर्ने र घरेलु काम गर्ने थलो हो। नेपाली घरमा परिवारका लागि बस्ने कोठा चोटा, आफूले मान्ने देवदेवीका लागि कोठा र आफ्नो पेशा व्यवसाय चलाउन ज्यासल वा कार्य कक्ष, ग्रामीण क्षेत्रमा हो भने वस्तुभाउ राख्ने ठाँउ, अन्नबाली थन्क्याउने ठाँउ आदिको आवश्यकता पर्छ। 

शहरी क्षेत्रमा आफ्ना धार्मिक, साँस्कृतिक कर्म गर्न अहिले पार्टी प्यालेस उपलब्ध छन्। तर ग्रामीण क्षेत्रमा त्यसका लागि आफ्नै आँगन र चोकको व्यवस्था गर्नुपर्ने बाध्यता छ। शहरीकरण तीब्र गतिमा भए ता पनि नेपाली समाज पूरै शहरीकृत भइसकेको छैन। शहरमा बस्ने अधिकांश बासिन्दाको उद्गमस्थल गाँउ नै हो। त्यही गाँउले संस्कार बोकेर उनीहरु शहर पसेका हुन्छन्। जसले गर्दा उनीहरुको बसाइ शहरमा भए ता पनि संस्कार ग्रामीण नै हुन्छ। यसैले घर पनि त्यो संस्कारसँग मिल्दो बनाउने प्रयास गर्छन् जुन शहरका लागि अव्यवहारिक हुने सम्भावना हुन्छ। शहर पसेको पहिलो पुस्ताले अलमलमै जिन्दगी गुजार्छ तर उसको अर्को पुस्ता शहरमा नै जन्मी–हुर्की सकेपछि शहरी संस्कृतिलाई सजिलै आत्मसात गर्न सक्छन्।

(प्रोपर्टी मासिकबाट)



बदलिँदो समाजमा बसोबास : कस्तो घर बनाउनु उपयुक्त? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट