PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


कविता ‘मृत्युबोध’


पहिलोपोस्ट

कविता ‘मृत्युबोध’

  • निमेषराज सापकोटा 


बदलिरहेको छ जीवन

जसरी हराइरहेको छ जीवनको नवजात स्मृति

जस्तो कि यो आकासको शान्त समुन्द्रमा

चल्मलाइरहेको विचारको यो बादल,
 

आँखा अघिको परिवेश उजाड बनिदिन्छ,

फेरि अर्को यामको लहर यसरी फैलन्छ

कि आशाकौ सुनौलो लहर बोकेर उम्रन्छ परिवेश, 
 

म हरेक परिवर्तनको मध्यस्थता बिच

सक्किरहेको छु,

प्रत्येक नयाँ परिवर्तन सँगै

म पुरानो अवशेष जस्तो

विलिन भइरहेको छु

यस संसारको इतिहाँस बाट,

 

म सँगै सक्किरहेको छ मेरो क्रोध

म सँगै रित्तिरहेको छ मेरो अहंकार

 

अब त, मेरो साथमा उभिएर

हरेक गल्तिहरुमा ढाडस प्रदान गर्ने

ति स्वरहरुको लय पनि भङ्ग भइरहेको छ,

 

यस्तो लाग्दै छ,

म मेरो जीवनको अन्तिम पल बाँचिरहेको छु,

 

खै किन,

मैले हिँड्ने हर यात्रा अन्तिम यात्रा जस्तो लागिरहेछ

मेरो अगाडी अभिभर्त वर्तमान अन्तिम घडि जस्तो लागिरहेछ

मैले हर सपनामा सुन्ने मेरो अधुरो प्रेमको लय

अन्तिय लय जस्तो लागिरहेछ,

 

मेरो यो अभिप्सा

मेरो अनुराग

म भित्रको यो जलन

यो हतासी

यो वेचैनी

टुट्दै गइरहेको छ मभित्रबाट,

म बस् यसको अन्तिम रुप नियालीरहेको छु,

 

म मृत्युबोधले यसरी भरिएको छु

एक्लोपन अँगालिरहेको छु आफुभित्र,

रित्तोपन नियालीरहेछु आफुभित्र,

यस्तो लागिदिन्छ,

म शुन्य सिवाय केहि होइन

म बाटो बिर्सिएकौ बटुवा जस्तु भट्किरहेको छु

जीवन विनियमका यि बजारहरुमा,

 

दिनानुदिन

आफैँसँगको मेरो प्रेम, मेरो तादात्म टुट्दै गइरहेको छ

कुनै आह्लादित पुरानो संरचना जस्तो

म भंग भैरहेछु आफ्नै जग भित्रबाट,

 

म यात्रामा विनाहोस छुटेका अनेक दृश्यहरु जस्तो

छुट्दै गइरहेछु

आफ्नै स्मृतिका श्रृङ्खलाभित्रहरुबाट,

 

अब मलाई सपना रुचिकर लाग्न छौडिसकेको छ

म आफ्नै सम्बन्धका श्रृङ्खलाहरुबाट विनिर्माण भइरहैको छु

खै किन हो,

चिसो सिरेटो जस्तो मा...थि डाँडाबाट जस्तै कतैबाट

हृदयसम्म आएर गुज्रने तिम्रोयादको सिरेटोले पनि

अब मलाई डाम्न छौडिसकेको छ,

 

म आफ्नै मनोविज्ञानले निर्माण गरैको

सौन्दर्यचिन्तनकौ भर्याङबाट ओर्लिरहैको छु,

 

मलाई भारी भैरहेको छ

मेरो अनुहारमा टाँगिएको यो मुकुन्डो,

मलाई सकस भैरहेको छ

मेरो चेतनामा टाँगिएको यो मानविय मान्यता,

मलाई अतिविघ्न घौचिरहेको छ आफ्नै नामले

मलाई थिचिरहैको छ आफ्नै परिचयले

म पौडनै सकिरहेको छैन यो भाषाको तलाउमा

म नशा जस्तो उत्रिरहेको छु

यस जीवनजगतले सिकाएको संस्कार

र मान्यताहरुको हुलबाट
 

यस्तो लाग्दैछ,

म सँग कत्तिपनि यात्रा बाँकी छैन

म सँग कत्तिपनि भावना बाँकी छैन

म सँग कत्तिपनि एक्लोपनको उदासी बाँकी छैन

म सँग कत्तिपनि बिचार÷मनोलाप बाँकी छैन

म रित्तिँदै गइरहेछु

प्रत्येक पलसँगै...

यस्तो लाग्दैछ अब स्वयं ‘म’ बिलाउँदै छ

मेरो चेतनाको महासागरबाट। 

फोटो: इशा फाउन्डेसन

 



कविता ‘मृत्युबोध’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट