PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पूर्वाधारमा कमजोर क्षेत्रीय अस्पताल बन्यो प्रदेश अस्पताल, विज्ञ भन्छन् : हतार गरियाे 



पी बी खड्का

पूर्वाधारमा कमजोर क्षेत्रीय अस्पताल बन्यो प्रदेश अस्पताल, विज्ञ भन्छन् : हतार गरियाे 

सुर्खेतः कर्णाली प्रदेशमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई आवश्यक पूर्वाधार विनानै प्रदेश अस्पताल नामाकरण गरिएको छ। सुर्खेतमा २०६२ मा स्थापना भएको ५० शैय्याको जिल्ला अस्पताल केही समयपछि क्षेत्रीय अस्पतालको रुपमा विकास गरिए पनि प्रभावकारी सेवा भने दिन सकेको थिएन ।

अञ्चल अस्पतालबाट क्षेत्रीय अस्पतालमा बिरामी रिफर गर्नु पर्ने भएपनि सुर्खेतमा रहेको क्षेत्रीय अस्पतालले भने नेपालगञ्जमा रहेको अञ्चल अस्पताललाई बिरामी रिफर गर्दै आएको छ। अस्पतालमा पर्याप्त आवश्यक भौतिक पूर्वाधार, दक्ष जनशक्ति, पर्याप्त स्रोत साधन नभएको भन्दै अञ्चल अस्पतालमा रिफर गर्दै आएको हो। 

तर, प्रदेश सरकारले आफू मातहतमा ल्याउने हतारमा पूर्वाधार र जनशक्ति विना ‘प्रदेश अस्पताल’ नामाकरण गरेको छ। यसरी पूर्वाधार तयार, दक्ष जनशक्ति अभाव र पर्याप्त स्रोत साधन प्रविधिको जोहो गरेर मात्रै प्रदेश अस्पतालको रुपमा विकास गरे यस क्षेत्रका नागरिकले गुणस्तरीय सेवा पाउने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक विष्णु खड्का बताउँछन्।

‘प्रदेश सरकारले अस्पताललाई आफू मातहतमा ल्याउने हतार गरेको देखिन्छ।’ उनले भने,‘अञ्चल अस्पताललाई बिरामी रिफर गर्दै आएको क्षेत्रीय अस्पतालको आवश्यक पूर्वाधार तयार गरी प्रदेश अस्पताल बनाउनु पर्ने हाे। त्यसपछि मात्रै रोग, भोकले पिल्सिएका नागरिकले गुणस्तरीय सेवा पाउने देखिन्छ।

पाँच सय शैय्याको अस्पताल

 
कर्णाली प्रदेश सरकारले अब प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्। सामाजिक विकास मन्त्री दल रावलले अव प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने प्रतिवद्धता गरेका छन्। स्वास्थ्य सेवा मात्रै प्रदान नगरेर स्वास्थ्य शिक्षा पनि प्रदान र प्रवर्द्धन गर्न प्रदेश सरकारले शिक्षण अस्पताल बनाउने बताएका छन्। 

‘अब प्रदेश अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न मैले १/२ दिनपछि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश गर्ने छु।’ उनले भने,‘अस्पतालले स्वास्थ्य सेवा मात्रै नभएर स्वास्थ्य शिक्षासमेत प्रवर्द्धन गर्नुपर्ने हुन्छ।’

अब जति सक्यो छिटो सम्भाव्यता अध्ययन गरेर ५ सय शैय्याको अस्पताल बनाउने उद्घोष गरेका छन्। अबको केही महिनाभित्रै सर्भे टोली लिएर सम्भाव्यता अध्ययन गरी विशेषज्ञ अस्पतालका रुपमा विकास गर्ने बताएका छन्। 

२० प्रतिशत कर्मचारी पठाउन केन्द्र सरकारसँग माग

कर्णाली प्रदेश सरकारले केन्द्र सरकारसँग करारका २० प्रतिशत कर्मचारी पठाउनु पर्ने माग गरेको छ। सामाजिक विकास मन्त्री रावलले अहिले कर्णालीका विभिन्न अस्पतालहरुमा स्वास्थ्य कर्मचारी अपुग रहेको भन्दै सरकारले करारमा लिने २० प्रतिशत कर्मचारी कर्णालीमा पठाउनुपर्ने बताएका छन्।

‘केन्द्र सरकारले करारमा लिने २० प्रतिशत कर्मचारी कर्णालीमा पठाउनुपर्ने माग गरेका छौ,’ उनले भने,‘कर्णालीका विभिन्न अस्पतालहरुमा अहिले स्वास्थ्यकर्मी पुगेका छैनन्,’ बिरामीको चाप बढ्दै गएपनि स्वास्थ्यकर्मीको कमी भएको हुँदा सेवा प्रभावकारी हुन नसकेको बताए। 

अक्सिजन प्लान्टदेखि सिटी स्क्यानसम्म 

अस्पतालले अहिले पर्याप्त स्रोत साधन नभएपनि आफ्नो सेवालाई प्रभावकारी बनाएको अस्पतालका सुपरिटेण्डेन डाक्टर डम्बर खड्काको दाबी छ। अन्य सरकारी अस्पतालको तुलनामा आफूहरुले गुणस्तरिय सेवा दिएको उनी बताउँछन्।

स्रोत साधन र पूर्वाधारको अभावले अञ्चल अस्पतालमा बिरामी रिफर गर्नुपर्ने बाध्यता भए पनि अहिले अस्पतालमा उपलब्ध स्रोत साधनबाट सर्वसाधारण नागरिकलाई सेवा दिइरहेको बताए। 

अहिले अस्पतालले आइसियु, एनआइसियु, डाइलसिस, सिटीस्क्यान सेवा, अस्पताल हाताभित्रै अक्सिजन प्लान्ट उत्पादन गरी सेवा प्रवाह गरिरहेको छ। अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने तरिकाले आफूहरु लागि परेको बताए। 

दरबन्दी ८८ जनाको सेवा ५६ जनाले

अहिले अस्पतालमा ८८ जनाको सरकारी दरबन्दी भए पनि ५६ जना कर्मचारीले मात्रै काम गरिरहेका छन्। अस्पतालको दरबन्दी रहेका ८ जना विशेषज्ञ डाक्टर रहेका छन् भने करार छात्रवृत्तिका ६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ जना र अन्य स्थानमा दरबन्दी भएर यहाँ काम गरिरहेका २ जना डाक्टरबाट सेवा प्रवाह भइरहेको छ। 

मेसु डाक्टर खड्काले कर्मचारी अपुग हुँदा सेवा प्रवाहमा निकै कठिनाइ भएको बताउँछन्। ‘अहिले अस्पतालमा कर्मचारी र डाक्टरको दरबन्दी अनुसार कर्मचारीनै छैनन्। जसरी भए पनि हामीले सेवा प्रवाह गरिहरेका छौँ।’ 

मंगलबार अस्पतालमा आयोजना गरी कार्यक्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पताल उद्घाटन गरेका छन्। प्रदेश अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अव गुणस्तरीय सेवा प्रभाव गर्न निर्देशन दिएका छन्। 

अब प्रदेश अस्पताल नामाकरण भइसकेकाले सेवा पनि प्रदेशस्तरिय हुनुपर्ने बताएका छन्। अस्पतालको सेवा प्रभावकारी भए कार्य क्षेत्र आफै विस्तार हुने उनले बताए। अस्पतालका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell