PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


मिटू अभियान : चाह्यौँ उताको जस्तो आँधी, आएन दुर्व्यवहारविरुद्ध बोल्ने आँट


स्वेच्छा राउत

मिटू अभियान : चाह्यौँ उताको जस्तो आँधी, आएन दुर्व्यवहारविरुद्ध बोल्ने आँट

म ११ वर्ष जतिकी थिएँ होला। त्योभन्दा कम उमेरको हुन्थें भने यो घटना याद नहुन सक्थ्यो। हिउँदे बिदामा मामाघर गएको थिएँ। आफ्नो उमेरका सबै स्कूल जान्थे। मेरो लागि साथी भनेकै हजुरआमा, माइजुहरु वा दिउसो मामाघरमा आउने मान्छे हुन्थे। तीनै मध्येका एक थिए हीरा अंकल।

अंकल। किनकि मामाका छोराछोरीले उनलाई हीरा अंकल भन्थे। मलाई उनी भान्जी भनेर बोलाउँथे, किनकि मामा माइजुले मलाई भान्जी भन्नुहुन्थ्यो।

कसैले भनेको थियो- हीरा अंकल आर्मी हुन्। याद छैन आर्मीसँग म किन डराएँ। तर, सुरुमा म छेउ जान, बोल्न डराएकी थिएँ। पछि चकलेट लिएर आए, माया गरे, काखमा राखे, मजस्तै बच्चा भएर बोलिदिए।

सधैं आफूसँग राखेर माया गर्ने उनले एक दिन मेरो छातीमा चिमोटे। मलाई अचाक्ली दुख्यो। दुख्यो भनेर रुनुअघि उनले गालामा म्वाई खाए। म चुप लागें। केही बेरमा दुखेको बिर्सिएँ, चिमोटेको बिर्सिएँ।

कक्षा ८ मा पुगेपछि मैले फेरि एकपटक त्यो घटना सम्झें। हात नछोइ कापी नलिने, ढाडमा हात नराखी सोधेको प्रश्नको जवाफ नदिने हाम्रो साइन्स सर बारे साथी-साथीबीच कुरा भइरहँदा बुझें, हीरा अंकलले मलाई ‘ब्याड टच’ गरेका रहेछन्।

यतिन्जेल ‘यौनजन्य दुर्व्यवहार’ बारे थाहा थिएन। किनकी स्कूलको पाठ्यक्रममा यौन दुर्व्यवहार, यसको प्रतिवाद अटाउनु परको कुरा, भएको यौन तथा प्रजनन् स्वास्थ्यको पाठ पनि आफै पढ्नु भनेर छाडिदिएका थिए उनै ‘साइन्स सर’ले, जो इपिएच (वातावरण, जनसङ्ख्या र हेल्थ) पनि पढाउँथे।

उनले हापेको पाठ एकदिन केही एनजिओकर्मी आएर पढाए। उनीहरुले सिकाएको यौनजन्य दुर्व्यवहारको प्रकार र त्यसको प्रतिवाद गर्ने तरिका केही महिनामा नै काम लाग्यो।  

म कक्षा ८ मा पढ्थें। मेरी बहिनी कक्षा ७ मा। एकदिन बेलुकीको कोचिङमा हामीले कक्षा कोठा फेर्‍यौँ । बहिनीहरुको कोठामा हाम्रो पढाई हुने भयो। म बसेको बेन्चमा चेक गरेर राखिएका कापीहरुको खात थियो। बहिनीको कापी खोजें। हेर्दै जाँदा अन्तिम पानामा रातो मसीले लेखिएको कवितात्मक हरफले मेरो ध्यान तान्यो। त्यही साइन्स सरले मेरी बहिनीको आँखाले लठ्ठ बनाउने र ‘तिमीलाई मन पराउँछु’ भन्ने आशयको सन्देश दिएका रहेछन्। सुरुमा रिस उठ्यो, कम्प्लेन गर्ने बारे सोचें। तर, डर लाग्यो। पढाइराख्नु भएको तारा रेग्मी सरले मेरो ध्यान पढाईमा नहुनुको कारण सोध्दा एनजिओकर्मीले सिकाएको कुरा सम्झिएँ र सबैकुराको बेलिबिस्तार लगाएँ।

भोलिपल्ट स्कूलमा हामीलाई नराखी साइन्स सर, प्रिन्सिपल सर, तारा रेग्मी सर, प्रतिभा गौतम म्याम र मम्मीबीच मिटिङ भयो। पर्सिपल्टबाट साइन्स सर स्कूल आउनु भएन।

हामीले मिटूको त्यो आँधी त चाह्यौं तर अझै पनि आवश्यक घटना बारे बोल्ने आँट गरेनौं। सामाजिक सञ्जालमा लेखिएका आरोपहरुले पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने शक्ति बोकेको छ कि छैन, त्यस बारे सोचेनौं। हलिउडमा मिटूले पारेको प्रभावमाथि चर्चा गर्‍यौँ। उतैको घटनाक्रम र क्याम्पियनको असर हेरेर आफ्नो धारणा बनायौं। तर मिटू अभियानको मूल उद्देश्यको केन्द्रीय मुद्दालाई माथि ल्याउन सकेनौँ।
***


सामाजिक सञ्जालदेखि मिडियाहरुमा ह्यासट्याग मिटू (#MeToo) को बहस मुख्य विषय बनिरहँदा म चाहन्थेँ यी घटनाहरुमध्ये कुनैलाई मिटू क्याम्पियन अन्तर्गत सेयर गरौं। बोल्न आवश्यक थियो, यौन दुर्व्यवहारमा परेका आफूजस्तै धेरैलाई बोल्ने साहस दिन आवश्यक थियो। तर, अनुहार राम्ररी याद नभएको र थरसमेत थाहा नभएको हीरा अंकलविरुद्ध के लेखौं? प्रतिवादपछि स्कूलबाट निकालिएको सरको परिचयसहित उनीविरुद्ध फेरि लेख्नुले के र कस्तो प्रभाव पार्छ?

सम्भावित प्रभाव र असर बारे सोच्न आवश्यक थियो, किनकि ‘मिटू मुभमेन्ट’ उद्देश्यहीन होइन, जुन सामाजिक सञ्जालमा लेखिन्छ र कहीँ पुग्दैन।

आफूमाथि भएको अन्य दुर्व्यवहारका घटनाहरु बारे सोचें। आफूलाई ‘यो दुर्व्यवहार हो’ भन्ने थाहा नै नभएदेखि दुर्व्यवहारको तरिका बुझ्ने भएसम्मका घटनाहरु याद आए। धेरै अनुहारहरु सम्झिएँ जुन देखिन्छ एउटा, हुन्छ अर्कै। केही बोली सम्झिएँ जसमा शब्द एउटा, आशय अर्को हुन्थ्यो। कत्तिको आँखा सम्झिएँ जुन मेरो सामुन्ने भएर पनि मेरो शरीरको विभिन्न अङ्गमा डुलिसकेका हुन्थे। जिस्क्याउने, आँखा झिम्क्याउने, अश्लील बोल्नेहरु सबैलाई सम्झन खोजें, सम्भव भएन। किनकी हरेक दिन धेरैठाउँमा त्यस्ता भेटिन्छन्। कतिलाई बेवास्ता गरें, कतिसँग डराएँ र कतिलाई सहें।

***

मिटू अभियान अन्तर्गत् नेपालमा कोही केही नबोली रहँदा पूर्व सञ्चारकर्मी मीना कैनीले पहिलोपटक आफूमाथि भएको दुर्व्यवहारको घटना सुनाइन्। अक्टोबर १० का दिन ट्विट लेख्दै- एक सिनियर पत्रकारले आफूलाई कारमा किस गर्ने प्रयास गरेको र गुरु मान्ने व्यक्ति होटलको कोठामा आएर जान नमानेको जस्ता अनुभव सेयर गरिन्। 

त्यस्तै पत्रकार सुविना श्रेष्ठले पनि मन्त्रीले गरेको दुर्व्यवहारलाई मिटू ह्यासट्यागसहित ट्विट गरिन्।

दुबैले दुर्व्यवहार गर्नेहरुको नाम खुलाएनन्। तर आफूमाथि भएको घटनाक्रमहरु सेयर गरेर आम महिलामाथि शक्तिमा रहेकाहरुले गर्ने दुर्व्यवहार, हिंसाहरुबारे चर्चा गरे। त्यस्ताविरुद्ध बोल्ने वातावरण सिर्जना गरे।

लगत्तै बिम्मी शर्माले पीडकको नामसहित बोलिन्। यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक खगेन्द्रमणि पोखरेलविरुद्ध लेखेकी थिइन्।

रश्मिला प्रजापतिउज्ज्वला महर्जनले प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्री केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लगाए।

मिटू ह्यासट्यागसहितका यी पोस्टहरु भाइरल भए। समाचार बने। त्यसपछि के भइरहेको छ?

लागेको थियो नेपालमा पनि डर, प्रलोभन, धम्की आदिको आड लिएर महिलामाथि उत्पीडन गर्ने, एकान्त र मौनतालाई कसैको शरीर छुने अवसर ठान्ने, भिड र नशालाई महिलासँग अश्लील बोल्ने, व्यवहार गर्ने लाइसेन्स मान्नेहरुको पर्दाफास हुनेछ। प्रमोसनको लोभमा होटल बोलाउने मालिक होस् या तरकारीमा नुन चर्को भएको झोकमा हात उठाउने पतिविरुद्ध महिला बोल्नेछन्। सजायको नाममा सर्टभित्रको ब्रा तन्काएर पीडा दिने शिक्षक होस् वा जबरजस्ती यौनजन्य क्रियाकलाप गर्ने ब्वाइफ्रेन्डविरुद्ध युवती बोल्नेछन्।

जति ह्यासट्याग ‘मिटू’ लेखिए तीनलाई ‘आइ सपोर्ट यु’ मात्र भन्ने ज्यादा देखिए। चर्चा र सत्तामा रहेका केशव स्थापितविरुद्धको आरोपहरु मात्र समाचार बने।

हामीले मिटूको त्यो आँधी त चाह्यौं तर अझै पनि आवश्यक घटना बारे बोल्ने आँट गरेनौं। सामाजिक सञ्जालमा लेखिएका आरोपहरुले पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने शक्ति बोकेको छ कि छैन, त्यस बारे सोचेनौं। हलिउडमा मिटूले पारेको प्रभावमाथि चर्चा गर्‍यौँ। उतैको घटनाक्रम र क्याम्पियनको असर हेरेर आफ्नो धारणा बनायौं। तर मिटू अभियानको मूल उद्देश्यको केन्द्रीय मुद्दालाई माथि ल्याउन सकेनौँ।

एक दशक अघि ‘मिटू’ अभियान सुरु गर्ने तराना बुर्केलेसमेत विभिन्न अन्तर्वातामा भनेकी छिन्- यो सामाजिक सञ्जालको मात्र अभियान होइन। यौन हिंसामा परेकाहरुलाई न्याय दिलाउने अभियान हो। द कटसँगको अन्तर्वार्तामा उनले प्रष्ट पारेकी छिन्,’अहिले भइरहेको मिटुको चर्चाले यसको मूल मुद्दालाई छायामा पारेको छ।

उनले चाहेजस्तै सामाजिक सञ्जालमा सीमित रहेर हिंसामा परेकाहरुलाई न्याय दिलाउन सम्भव छ त?
प्रस्तावलाई नै दुर्व्यवहारको रुपमा व्याख्या गर्नु उचित हो त? यहाँ उसको प्रस्ताव व्यक्तिगत घुलमिलवा म्युचुअल अन्डरस्ट्यान्डिङ/एग्रिमेन्टका आधारमा आएको हो या लोभ, धम्की, लालचका आधारमा हो छुट्याउन सक्नुपर्छ।  नियतबुझेर प्रस्ताव अस्वीकार गरेपछि वा प्रतिकार पश्चात् पनि पटकपटक सोध्ने वा जबरजस्ती गर्ने, जिस्काइरहने, धम्क्याउनेलाई चाहिं छोड्नु हुँदैन। त्यस्तैको विरुद्ध बोल्न, बिना डर प्रतिवाद गर्ने वातावरण बनाउन मिटू मुभमेन्टको सही अभ्यासले सहयोग गर्नसक्छ।
***

क्याम्पियनलाई एउटा तहमा सफल बनाउने हलिउडको हकमा त्यसो देखिएन। निर्माता हार्वे विनस्टिनविरुद्ध यौन दुर्व्यवहारको आरोप कानुनी प्रक्रियामा उत्रिएपछि सन् २०१७ बाट मात्र अभियानले संसारभरको ध्यान खिच्यो। ८० भन्दा बढी युवती उनीविरुद्ध बोले। अनुसन्धानकै क्रममा उनी द विनस्टिन कम्पनी र एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सबाट निकालिए।  २०१८ को सेप्टेम्बर २५ यता हार्वे जेलमा छन्।

यहाँ यो प्रसङ्ग जोड्नुको कारण नेपाली सन्दर्भमा यौन हिंसा तथा उत्पीडनको आरोप किन कानुनी तहमा उत्रन सकेन भन्ने जिज्ञासा हो। किनकि प्रक्रियामा जानुले न्याय र सजायको लागि ढोका खोल्छ। हदम्याद (अपराधको प्रकृति हेरेर १ महिनादेखि १ वर्षसम्मका हदम्याद छ) नसकिएकामध्ये कोही एक पीडितले कानुनी लडाइको बाटो रोजे भोलि साथ दिने ऊजस्तै अर्को पीडित निस्केला। प्रमाण जुट्ला। एउटा पीडकले सजाय पाए भोलि ‘मिटू’लाई विश्वास गरेर बोल्नेको जमात बढ्ला।

हलिउडमा भएको पनि त्यही हो- ३० वर्षपछि एकपछि अर्को गर्दै धेरैजना बोल्नुले हार्वेको निलम्बन र जेल सजाय सम्भव भयो। यदि एउटा पीडकलाई सजाय हुँदैन थियो भने अन्य पीडितले बोल्ने साहस राख्दैन थिए।
 
दुर्व्यवहार अनुभूत गरिने कुरा हो। जसका कारण कानुनी प्रक्रियामा आवश्यक प्रमाण, सामाजिक जञ्जाल वा कुनै डिजिटलमाध्यमबाट हुने दुर्व्यवहारको मात्र रहनसक्छ। प्रमाण नभएको हकमा दुर्व्यवहार वा उत्पीडन भएन भन्ने चाहिं हुँदैन। यस्तोमा आफूमाथि भएको हिंसा बारे चाहे जसरी सुनाउन सकिन्छ है भन्ने विश्वास हामीले दिलाउनु छ। बोलेर, छोएर गरिएका यौनजन्य उत्पीडनको दोष लगाउँदा परिचयरहित बताउने र घटनाले आफूमा पारेको असरलाई आधार बनाएर सजायका लागि पहल गर्ने। दोषी ठहर भएको खण्डमा एउटा ह्यासट्याग स्टोरी सफल होला तर धेरैलाई सचेत र सतर्क बनाउँछ। जसका कारण आरोपित दोषी नठहरिएसम्म मानहानी र सामाजिक प्रतिष्ठामा आउन सक्ने आँचको पनि रिस्क हुँदैन।

आफूमाथिको दुर्व्यवहारको कथा सुनाउने क्रममा ख्याल राख्न आवश्यक देखिएको अर्को पाटो हुनसक्छ ‘अपिल’ र ‘उत्पीडन’बीचको भिन्नता। विपरीत लिंगीप्रतिको आकर्षण र सम्बन्ध पक्कै पनि अस्वभाविक होइन। त्यस्तोमा कुनै व्यक्तिले प्रेमका लागि वा कफी पिउन, साथी बन्न, सिनेमा हेर्न, यौन सम्बन्ध राख्न वा कुनै टुर जाने प्रस्ताव राख्न पाउने वा नपाउने भन्ने प्रश्न उठ्छ।

प्रस्तावलाई नै दुर्व्यवहारको रुपमा व्याख्या गर्नु उचित हो त? यहाँ उसको प्रस्ताव व्यक्तिगत घुलमिलवा म्युचुअल अन्डरस्ट्यान्डिङ/एग्रिमेन्टका आधारमा आएको हो या लोभ, धम्की, लालचका आधारमा हो छुट्याउन सक्नुपर्छ।

यसको अर्थ घुलमिलका आधारमा सीमाविहीन प्रस्ताव स्वीकार्य हुन्छन् भन्ने छैन। के मात्र भनिएको हो भने विपरीत लिंगीप्रतिको आकर्षण र त्यस आधारमा व्यक्तिगत सहमतिमा हुने सम्बन्धहरू र यौन दुर्व्यवहार वा हिंसाको सीमारेखाका बारेमा पनि ख्याल गर्नैपर्छ।
 
नियतबुझेर प्रस्ताव अस्वीकार गरेपछि वा प्रतिकार पश्चात् पनि पटकपटक सोध्ने वा जबरजस्ती गर्ने, जिस्काइरहने, धम्क्याउनेलाई चाहिं छोड्नु हुँदैन। त्यस्तैको विरुद्ध बोल्न, बिना डर प्रतिवाद गर्ने वातावरण बनाउन मिटू मुभमेन्टको सही अभ्यासले सहयोग गर्नसक्छ।

यसो हुँदा केटी मान्छेसँग बोल्नै नहुने, नजिक हुनै नहुने हो? जस्ता प्रश्न, बोल्न पनि डरै हुने भयो जस्ता धारणा पनि बद्लिन मद्दत पुग्छ। साथै, कोही महिला भएकै कारण उसले लगाएका आरोप सही र कोही पुरुष भएकै कारण उ गलत हुन्छ भन्ने मानसिकता पनि विकास हुँदैन।

***
हलिउड, बलिउडमा चलेको मिटू अभियानले नेपाली फिल्म इन्डस्ट्रीमा प्रभाव पार्‍यो। त्यसैले केही अभिनेत्री मिटू मुभमेन्टको समर्थनमा बोल्न थाले। बोल्न आवश्यक थियो किनकि उनीहरुलाई ठूलो जमातले पछ्याउँछ। उनीहरुले प्रस्तुत गरेको तर्कका आधारमा विषयमाथि धारणा बनाउँछ।  केही ढिला सही, बोल्नु पर्छ, लड्नु पर्छ भन्दै देखिए। तर दु:खको कुरा बोलेनन्। आफ्नो कथा सुनाएनन्। यथार्थमा मिटू भनेनन्।

अभिनेत्री रीमा विश्वकर्माले मिटू अभियानमा समर्थन जनाउँदै अन्तर्वाता दिइन्। जहाँ उनले भनेकी छिन्, 'म खुशी छु यो विषयबारे मान्छेहरु बोल्दैछन्। यसो हुँदा हामी पछिका पुस्ताले दुर्व्यवहार भोग्नु नपर्ला।‘
 
तर, दु:खको कुरा रीमा स्वयंले रियालिटी सो नेपाल आइडलको स्टेजमा यही विश्वव्यापी अभियानलाई हल्का मजाकको विषय बनाइन्।

मेरो एकजना साथीको रहर हिरोइन बन्नु हो। उसको दाइ म्युजिक भिडियो निर्देशक हुन्। दाइले बहिनीलाई कुनै पनि हालतमा फिल्म क्षेत्रमा लाग्न नदिने चेतावनी दिएका छन्। भविष्यमा आफूले फिल्म निर्देशन गरे त्यसैमा अभिनय गराउने आश्वासनसहित। उनी भन्छिन्,’फिल्म इन्डस्ट्रीमा ह्यारेसमेन्ट धेरै हुन्छ रे।‘

यस्तो अवस्थामा दुई दशक यही क्षेत्रमा बिताएकी रेखा थापा भन्छिन्,’मैले ह्यारेसमेन्टको अनुभव गरेको छैन। मेरो अनुभव भएको भए बोल्थें।'

रेखा थापाको बोली साँचो हो भने उनी अपवाद रहिन्। किनकि नेपाली फिल्म इन्डस्ट्री होस् वा अन्य कुनै क्षेत्र दुर्व्यवहार नभोग्ने सायदै कोही महिला छन्। अनि त्यसविरुद्ध बोल्न सक्ने, लड्न सक्ने पनि सायदै कोही। अहिले एकको साथमा अर्को आड बनेर उभिंदा, एउटाको बोलीमा अर्कोले आफ्नो आवाज मिसाउँदा यौनजन्य दुर्व्यवहार वा हिंसाका भिलेनहरुलाई अगाडि ल्याउन सकिन्छ। सामाजिक सञ्जालमा सीमित नरही इन्टरनेटको पहुँच नभएकाहरुसम्म पनि सन्देश पुर्‍याउन आवश्यक छ- 'बोले पीडकलाई सजाय हुन्छ, हामीमाथि हुने हिंसा कम हुन्छ है।'  पीडकलाई एकता र आवाजको बल चिनाउनु छ।

एकपटक रत्नपार्कबाट घर जाने बस चढेँ। छेउमा रहेको अधवैंशे व्यक्तिको छुवाइलाई सुरुमा सामान्य रुपमा लिएँ। पछि हात बाँधेर बसेको उसका औंलाहरुले कहिले मेरो पेट र कहिले छातीमा छुन खोजिरहेको प्रष्ट भयो। मैले ब्यागबाट मोबाइल निकालें। केही बेर हातमा खेलाएँ। फोटो खिचेकोजस्तो गरें। र भनें- 'मैले तपाईंको फोटो खिचें। अब भोलि पत्रिकामा फोटो आउँछ, किनेर हेर्नू।'

वरपर बसेका सबैले मेरो लागि बोलिदिए। मलाई साहस मिल्यो। त्यो मान्छेले गरेको दुर्व्यवहार बारे सुनाएँ। नेपाली बोल्न नजान्ने उसले सबैका अगाडि हिन्दी भाषामा माफी माग्यो।
 
पीडक साच्चै डराउँछन् आमसञ्चार, सामाजिक सञ्जालको शक्तिसँग। अब यी सबलाई कानुनसँग पनि तर्सने बनाउनु छ। हामीले खुलेर भन्नुछ ‘मिटू’।

 



मिटू अभियान : चाह्यौँ उताको जस्तो आँधी, आएन दुर्व्यवहारविरुद्ध बोल्ने आँट को लागी १ प्रतिक्रिया(हरु)

विपिन केसी [ 2018-11-01 01:22:13 ]
मिटु रमाइलो लाग्छ मलाई । हुँदाहुँदा प्रेमीले प्रेमिकालाई फकाएर गरेको यौनसम्बन्ध वा पतिले पत्नीसँगको यौन सम्बन्ध पनि मिटु भन्दै आउँने भए । पुरुषले बल गर्ने (शारिरिक भनिएको होइन) र महिलाले आनाकानी गर्ने बानी नै प्रकृति हो । परेवाले वरिपरि घुमेको ह्यारासमेन्ट हो ? कुखुराकी पोथी यौन पिडनमा परेकी हो ? पती पत्नीमा पनि यौनको मामलामा कति नौटकीं हुन्छ भन्ने हरेक दम्पतीलाई थाहा हुन्छ । कुन चै पत्नीले उत्तानो परेर ल आउ भन्छ ? कहिले पत्नीले कर गर्ली र उसको मन राख्दिन पतिले सम्भोग गर्ला । कहिले पतिको मन राख्दिन पत्नीले गर्ली । अनि केहि भएर सम्बन्ध बिग्रियो भने त्यसका १५ बर्ष पछि मिटु भन्दियो, सक्कियो । हेर्दा सामान्य छ तर पुरुष यति जोखिमपुर्ण कहिलै थिएन । मैले अहिलेसम्म कसैलाई केहि यौन शोषण गरिन तर यो जोखिमबाट म पर छैन । कुनै दिन मैले अफिसबाट काम नगरेकैलाले निकालेकी युवतीले मिटु भन्न थाली भने म के गरौँ ?

यो लेखमा पनि यस्ता वाइयात कुरा धेरै छन् । त्यो हिरा अंकलको बारेमा पत्ता लगाउँन सकिदैन ? नेपाली समाजमा सम्बन्ध बिनाका मान्छे त पत्तो लाग्छन्, हिरा अंकल चै पत्तो नलाग्ने ? अनि विज्ञानका गुरु ? केटा विद्यार्थीको ढाडमा हात राख्दा केहि नहुने तर केटीको ढाडमा हात पर्यो कि सकियो ? यस्ता कुराले समानताको कुरा कता पुग्ला ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट