PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रमले डिस्चार्ज गरिदिनुस् भनेर जिद्दी गर्नुभएको छैन : निजी चिकित्सक डा. दिव्या सिंह, यस्तो छ अस्पताल ल्याउँदा र अहिलेको अवस्था



सागर बुढाथोकी

प्रमले डिस्चार्ज गरिदिनुस् भनेर जिद्दी गर्नुभएको छैन : निजी चिकित्सक डा. दिव्या सिंह, यस्तो छ अस्पताल ल्याउँदा र अहिलेको अवस्था
डा. दिव्या सिंह

काठमाडौँ : सोमबार बिहानदेखि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिस्चार्ज गरिदिनुस् भनेर जिद्दी नगरेको उनकी निजी चिकित्सक डा. दिव्या सिंहले बताएकी छिन्। 

‘उहाँले स्वास्थ्यको मामिलामा हामीलाई धेरै विश्वास गर्नुहुन्छ,’ सिंहले भनिन्, ‘हामीले यहाँ राखेकोमा पोजिटिभ हुनुहुन्छ।‘

अझै एक दुई दिन अस्पतालमा राख्नुपर्ने योजनाबारे उनले भनिन्, ‘हामीले लिएर आएको बेलामा भन्दा सुधार भएको छ। ९० प्रतिशतभन्दा बढी। तर एन्टिबायोटिक्सको कोर्स सकाएर रेस्ट गराई लाने प्लान हो हाम्रो। यही स्थिति रहे एक दुई दिनमा डिस्चार्ज गर्छौँ। 

किन ल्याइयो अस्पताल?

प्रधानमन्त्री ओलीलाई गत शुक्रबार अस्पताल लग्दा डा. सिंह स्वेदशमा थिइनन्। त्यो दिन प्रधानमन्त्रीलाई अस्पतालमा आइसियुमा बेड तयार पारिए पनि बालुवाटारमै उपचार गर्ने गरी फर्काइएको थियो।  

आफू विदेशमा हुँदा पनि प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा अपडेट भएको उनले बताइन्, ‘मलाई सबै कुराको जानकारी थियो। उता (अमेरिका) बाट म उड्दा कुरा भएको थियो, राम्रो थियो।‘

तर सोमबार बिहान १ बजे काठमाडौँमा उनको जहाज ल्यान्ड हुने बित्तिकै बालुवाटारबाट फोन आयो, ‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिति अलि गम्भीर छ’ भन्दै। त्यसपछि उनी घर नगई सीधै प्रधानमन्त्री निवासतर्फ लागिन्। 

त्यसको केही घण्टामै प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगियो। 

यस्तो हतार गर्न किन आवश्यक भयो? उनका अनुसार तीन वटा कारण प्रमुख थियो।

‘उहाँले खाना नखानुभएको रहेछ। सुगरको लेभल एकदमै हाइ रहेछ। अनि सास फेर्न गाह्रो भएको रहेछ,’ त्यो दिन सम्झँदै उनले भनिन्। 

उनलाई थप रिस्क लिन मन लागेन। तत्काल अस्पताल लग्न निर्देशन दिइन्। यसका लागि प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गराइन्- यहाँभन्दा अस्पतालमा हेरविचार राम्रो हुन्छ भनेर। 

‘इन्फेक्सनले खतरनाक रुप लिनसक्ने भएकोले धेरै जोखिम नमोलिकन यता ल्याएका हौँ। उहाँ खान मन गर्नुहुन्न थियो। त्यसैले इन्जेक्सनबाट औषधी दियौँ,‘ डा. सिंहले थपिन्, ‘यता आएर राम्रो हुँदैछ। यहाँको जस्तो केयर बालुवाटारमा हुँदैन थियो। हतारिएर ल्याउनुको कारण यही हो।‘

प्रधानमन्त्रीको कन्फिडेन्स र इच्छाशक्ति निकै बलियो भएको उनी बताउँछिन्। अहिले प्रधानमन्त्रीले पत्नी राधिका शाक्यले पकाएको खाना खाने जानकारी उनले दिइन्। 

‘नर्मल ब्रेकफास्ट, ब्यालेन्स डायट खानुहुन्छ। कुनै एक्स्ट्रा खानुहुन्न’, उनले सुनाइन्। 

मिर्गौला प्रत्यारोपण गरिसकेपछिको बिरामीलाई इन्फेक्सनको खतरा सधैँ हुने तथ्य बताउँदै उनले भनिन्, 'ट्रान्सप्लान्ट गरेपछि मान्छेको लाइफ यसै भन्न सकिन्न। उहाँको इम्युनिटी पावर हाइ छ। त्यसैले किड्नीकै कारण उहाँको लाइफमा कुनै कम्प्रमाइज हुन्न।'  

‘खाना र आराममा ध्यान दिए प्रधानमन्त्री अरु सामान्य मानिसभन्दा तन्दुरुस्त हुनुहुन्छ,’ उनले भनिन्, ‘अहिले उहाँ नर्मल हुनुहुन्छ। तर त्यसो भन्दैमा हामीले केयर गर्न छाड्नु हुँदैन।‘ 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell