PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


मुख्यमन्त्रीको चियापानमा मार्सी चामलको खिर


पूर्णबहादुर खड्का

मुख्यमन्त्रीको चियापानमा मार्सी चामलको खिर

सुर्खेत : कर्णाली प्रदेश सरकारले शुक्रवार बेलुका शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रमलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनौपचारिक सम्बोधन गर्दै यसले भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने बताए। बेलाबखतमा गरिने भेटघाट र यस्ता चियापान कार्यक्रले सम्पूर्ण नागरिकसँगको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउन सघाउने उनको धारणा थियो। 

‘खास यो चियापान त्यस्तो कुनै ठूलो केही होइन। सामान्य खाजाको व्यवस्था गरेका छौं। हामीले खानका लागि भन्दा पनि सबैको भावनात्मक सम्बन्ध जोड्न आयोजना गरेका हौं,’ उनले भने, ‘बेलाबखतमा हुने यस्ता भेटघाट तथा चियापान कार्यक्रमले सम्बन्धलाई थप बलियो बनाउँछ।’ 
सम्पूर्ण प्रदेशवासीको साथ सहयोग भएमात्र समृद्धि आउने उनले बताए। प्रदेशको भौगोलिक विकटता र अप्ठ्यारा भए पनि प्रदेशको विकासमा सरकारले कुनै कमी नगर्ने दावी गरे। 

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अहिले प्रदेशको विकास र समृद्धिका लागि सबै एक भएको बताए। विभिन्न पार्टीबाट निर्वाचित भएर आए पनि प्रदेश सरकारमा सबै एउटै भूमिकामा रहेको बताए। ‘हामी प्रदेशको विकास र समृद्धिका लागि सबै एउटै पार्टी भएका छौँ,’ उनले भने, ‘सबै एक भएर प्रदेशको विकास र समृद्धिमा लागेका छौँ। कोही कसैले पनि सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा नभए जस्तो अहिले कर्णाली प्रदेशमा भएको छ।’

कर्णाली प्रदेशमा उत्पादित तथा पछिल्लो समयमा निकै चर्चा पाएको मार्सी चामलको खिर खुवाइएको थियो, चियापानमा। मार्सी चामलको छुट्टै आफ्नो पहिचान भए पनि डाक्टर गोविन्द केसीले कर्णालीको जुम्लामा अनशन गर्दा यसको चर्चा बढेको थियो। त्यसपछि मार्सी चामलको प्रचार प्रसार र माग पनि ह्वात्तै बढेको हो। शुक्रवार मात्रै मुख्यमन्त्री शाहीले आयोजना गरेको चियापान कार्यक्रममा पनि मार्सी चामलको खिरले सबैको ध्यान तानेको थियो। मार्सी चामलको खिर, पुरी, रोटी, तरकारी, अचार सहितको खानपिनको व्यवस्था मिलाइएको थियो। 

कार्यक्रममा झण्डै पाँच सय बढीलाई निम्ता गरिएको थियो। सोही निम्तालाई स्वीकार्दै प्रतिनिधिसभाका सदस्य, प्रदेश सरकारका पदाधिकारी, प्रदेश सांसद, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारी, विभिन्न राजनीतिक दल, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो।



मुख्यमन्त्रीको चियापानमा मार्सी चामलको खिर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट