PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुनचाँदी पसल खचाखच : धनत्रयोदशीमा धातुका सामान भित्र्याउने परम्परा



सुवास निरौला

सुनचाँदी पसल खचाखच : धनत्रयोदशीमा धातुका सामान भित्र्याउने परम्परा

काठमाडौं : उद्यमी पशुपति मुरारकाले धनत्रयोदसीका लागि काँशको भाडाकुडा किनेका छन्। परापूर्वककालदेखि चल्दै आएको मान्यतालाई पछ्याउँदै मुरारकाले यसपाला पनि धातुका सामान भित्र्याएका हुन्।

पौराणिक मान्यताअनुसार समुन्द्र मन्थनका बेला निष्किएको अमृत धनवन्तरीले बोकेका थिए। त्यो अमृत थाप्नका लागि भाँडाकुँडा लिएर जाने चलन चलेको धार्मिक मान्यता छ। त्यसैका लागि अहिले पनि धनत्रयोदशीका दिन धातुका सामान किन्ने चलन छ।

उद्यमी राजेन्द्रकुमार खेतानले पनि धनत्रयोदशीका लागि चाँदीको कचौरा किनिसकेका छन्। धनत्रयोदशीका दिन धातुका सामान किनेर लक्ष्मी भित्र्याउनु पर्छ भन्ने धार्मिक मान्यता रहेकाले उनले यसपाली कचौरा किनेका हुन्।

धनत्रयोदशीको पूजा सोमबार साँझ सुर्यास्तबाट सुरु हुन्छ। मिष्ठान भोजन खाइन्छ। 'घरमा धातुका सामान भित्र्याउनु पर्छ भन्ने धार्मिक मान्यता चलिआएको छ,' खेतानले भने, 'धनत्रयोदशीसँगै पाँच दिनसम्म पूजाआज चल्छ।'

उद्यमी मुरारका र खेतानमात्र होइन, धनत्रयोदशीमा अधिकांश हिन्दु धर्मालम्बीहरुले धातुका सामग्री भित्र्याउने गर्छन्। धातुका सामग्री बढी पाइने राजधानीको न्यूरोडमा धनत्रयोदशीका लागि भिड बढेको छ।

धनत्रयोदशीमा द्रब्य जोडेमा लक्ष्मी प्रसन्न हुने धार्मिक विश्वासका कारण सुनचाँदी पसलमा सर्वसाधारणको भिड लागेको हो। कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात् धनत्रयोदशीमा द्रब्य जोड्नुलाई 'शुभ' मानिन्छ। धनकी देवी लक्ष्मीलाई प्रशन्न पार्न धनतेरस (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ। यही जनविश्वासका कारण सुनचाँदीको कारोबार व्यापक हुन्छ।

काठमाडौंको न्युरोडस्थित जेम्स रे ज्वेलरिमा भेटिएकी रेणु अधिकारीले यस वर्ष गणेशको मुर्ति र लक्ष्मीको प्रतिमा खरीद गरिन्। उनले हरेक धनत्रयोदशीमा धातुजन्य बस्तु खरीद गर्दै आएको बताइन्। धार्मिक परम्परा पनि मानिने र सम्पत्ति पनि जोडिने भएकाले यसै दिन किन्ने गरेको उनले बताइन्।  

अन्य दिन भन्दा धनत्रयोदशीमा सुन चाँदीको बढी व्यापार हुने गरेको छ। नेपाल रत्न तथा आभूषण संघका द्वीतीय उपाध्यक्ष एवं ऋद्धि सिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताले  सुनचाँदीको व्यापार सोचेभन्दा राम्रो हुने बताए।

यस वर्ष उनले अघिल्लो वर्षकै तुलनामा व्यापार हुने अनुमान गरेका छन्। अघिल्लो वर्ष उनले अढाइ करोड रुपैयाँको कारोबार गरेको बताए।

धनत्रयोदशीलाई लक्षित गर्दै उनले गरगहनामा उपभोक्तालाई छुट अफर दिएका छन्। सुनका गहना बनाउँदा उपभोक्ताले ज्यालामा ३० प्रतिशत छुट पाउने र हिराको गहनामा ३५ प्रतिशत छुट पाउने छन्। 


धनत्रयोदशीमा यस्ता स्किम

धनत्रयोदशीमा धेरैजसो उपभोक्ताले चाँदीको सिक्का खरीद गर्ने गरेका छन्। त्यस लगायत नौगेडी तिलहरी, बाला, मंगलसुत्र पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको गुप्ताले बताए। चाँदीमा सबैभन्दा सस्तो ७५० रुपैयाँको सिक्का र सुनमा दुई हजारको फुली तथा हिरामा २० हजारको औंठी रहेको छ। 

धनत्रयोदशीलाई लक्षित गर्दै सालिमार ज्वेलर्स न्युरोडले सुनका गहना बनाउँदा ज्यालामा ४० प्रतिशत छुट दिएको छ। सालिमारमा सुन र हिराका मात्रै गरगहना पाइने ज्वेलरीका सञ्चालक रोहित गोयलले बताए। बराह ज्वेलरीले ज्यालामा विशेष छुट दिने ज्वेलरिका प्रबन्ध निर्देशक विकास लामिछानेले बताए। 

देव कर्नर र ‍श्रीॐ ज्वेलरी न्युरोडले पनि ज्यालामा छुट दिने बताएका छन्। देव कर्नरले ज्यालामा २५ प्रतिशत र ‍श्रीॐले ३० प्रतिशत छुट दिएको जनाएको छ।    

यस वर्ष धनत्रयोदशीका दिनमा पोहोरकै हाराहारीमा सुनचाँदीको कारोबार हुने ब्यवसायीहरु बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ हाराहारीमा पुगेकाले उपभोक्ता निरुत्साहित भएको बताउँछन्।

'भाउ बढेकाले किन्ने क्षमतामा ह्रास आउँछ,' उनले भने, 'भोलि घटेपछि किनौला भन्ने पनि छन्।' 

सामान्य समयमा सुनको बिक्री दैनिक २० किलोको हाराहारीमा हुन्छ भने चाँदी २ सय ५० किलोसम्म खपत हुने गरेको छ। तर, चाडबाडका बेला ह्वात्तै बढेर सुनको माग दोब्बर हुन्छ भने चाँदीको माग तेब्बर हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell