PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकी मध्यावधि निर्वाचनमा हस्तक्षेप गर्ने कोसिसमा रहेका फेसबुक एकाउन्ट बन्द



अमेरिकी मध्यावधि निर्वाचनमा हस्तक्षेप गर्ने कोसिसमा रहेका फेसबुक एकाउन्ट बन्द
फोटो :USA TODAY

सानफ्रान्सिस्को : अमेरिकी मध्यावधि निर्वाचनमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट बन्द गरिएको छ। अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका एकाउन्टमा ८५ वटा इन्स्टाग्राम एकाउन्ट समेत रहेका छन्। 

अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाले रसियालीहरुले फेसबुक मार्फत 'फेक न्यूज' फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो। अमेरिकामा मंगलवार मध्यावधि निर्वाचन हुँदैछ । 

गत साता प्रकाशित एक अध्ययन प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जाल मार्फत गलत सूचना प्रवाह भएको देखिएको छ। उक्त निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रसियालीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ। 

'आइतबार साँझ, अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिका बारेमा हामीसँग सम्पर्क राखेका थिए। उनीहरुको विचारमा ती खाताहरु विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए,' फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरले बताए। 'हामीले तत्कालै ती खाता बन्द गरिदियौं र हामी अहिले त्यसका बारेमा विस्तृत रुपमा बुझ्ने क्रममा छौं।' 

ग्लेचरको भनाइ अनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका क्रियाकलाप शंकास्पद रहेको पहिचान भएको छ। उक्त खाताहरु फ्रान्स र रसियासँग सम्बन्धित रहेको पाइएको छ। 

अमेरिकी मध्यावधि निर्वाचनमा फेसबुक मार्फत हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ। यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell