PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


गच्छदार बने उपसभापति, महासमिति मंसिर २८ देखि, यी हुन् कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयहरु


गच्छदार बने उपसभापति, महासमिति मंसिर २८ देखि, यी हुन् कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयहरु

काठमाडौं: नेपाली कांग्रेसले आमन्त्रित सदस्यका रुपमा रहेका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने भएको छ। आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गच्छदारलाई पार्टी उपसभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअघि मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीलाई गच्छदारले कांग्रेसमा विलय गराएका थिए। यही पार्टीका अध्यक्ष रहेका उनी पटकपटकका सरकारमा उप-प्रधानमन्त्री बनेका थिए।

निर्वाचनमा वाम गठबन्धन बनेपछि कतै नअटेका गच्छदारलाई उचित स्थान दिने भन्दै देउवाले पुरानै घर फर्काएका थिए। उनलाई उपसभापति बनाउन विधान तगारो बनेको थियो। । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गच्छदारलाई नेपाली कांग्रेसको मौजुदा विधानको बाधा अडकाउ फुकाउको प्रयोग गर्दै उपसभापति बनाएका कांग्रेसले जनाएको छ।

त्यसैगरी कांग्रेसले मंसिर ५ देखि ९ सम्म डाकेको महासमिति बैठक सारेको छ। दिपावली, नेपाल सम्बत्, छठ लगायत नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरु प्रारम्भ भइसकेको र उक्त समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न व्यवहारिक नहुने भएकोले, पार्टीको महासमिति बैठकको आवश्यक तयारीको लागि लाग्ने समय समेतलाई ध्यानमा राखी मंसिर २८ गतेदेखि पौष ३ गतेसम्म गर्ने निर्णय गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। महासमिति काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

यी हुन् कांग्रेस केन्द्रीय समितिले आज गरेका निर्णयहरु


१.    दिपावली, नेपाल सम्बत्, छठ लगायत नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरु प्रारम्भ भइसकेको र सो समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न व्यवहारिक नहुने भएकोले, पार्टीको महासमिति बैठकको आवश्यक तयारीको लागि लाग्ने समय समेतलाई ध्यानमा राखी २०७५ मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महासमितिको बैठक २०७५ मंसिर २८ गतेदेखि पौष ३ गतेसम्म गर्ने निर्णय गर्दछ। 

२.    नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष श्री विजयकुमार गच्छदारका बीच पार्टी एकताका सम्बन्धमा भएको सहमति अनुसार श्री विजयकुमार गच्छदारलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको उपसभापति पदमा मनोनयन गर्ने निर्णय गर्दछ। 
साथै, नेपाली कांग्रेसको सांगठनिक संरचनामा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ एवं शुभेच्छुक संघ संस्थाको समायोजन सम्बन्धि आवश्यक कार्य गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्न उपसभापति श्री विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गर्दछ। यस समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ।

३.    नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३८ बमोजिम गठन हुने नेपाली कांग्रेस केन्द्रीय लेखा परिक्षण समितिको संयोजकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्री श्यामकुमार घिमिरेलाई नियुक्त गर्ने निर्णय गर्दछ। 

४.    चितवन जिल्ला भरतपुर स्थित वी.पी. कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह वनाउने तयारी गरिएको कुरा प्रति नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको छ। अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनको लागि प्रयोग गर्ने गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्व रोक्न नेपाली कांग्रेस सम्बन्धित पक्षलाई सचेत गराउँदछ।  


५.    सर्लाही निर्वाचन क्षेत्र नं. ४ को रामनगर गाउँपालिका वडा नं. ४ का नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय रामविलास महतोलाई २०७५ कात्र्तिक १३ गते नेकपाका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको र गोली लागेर सोही वडाका नेपाली कांग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते भएको घटना तथा सोही घटनाको अघिल्लो दिन नेकपाका कार्यकर्ताहरुको सांघातिक आक्रमणमा परी टाउँकोमा गम्भीर चोट लागेका नेपाली कांग्रेसका विजयी वडा अध्यक्ष राम नरेश महतोलाई गम्भीर घाइते बनाएको घटनाको घोर भत्र्सना गर्दै उक्त हिंसात्मक आपराधिक घटनामा संलग्न अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कानूनी कारवाही गर्न र मृतकलाई शहीद घोषणा गरी घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस वर्तमान सरकारसँग जोडदार माग गर्दछ। 

६.    नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको दिपावली, नेपाल सम्वत् र छठ लगायत पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछ।

सम्बन्धित समाचार

गच्छदारलाई उपसभापति बनाउने देउवाको तयारी



गच्छदार बने उपसभापति, महासमिति मंसिर २८ देखि, यी हुन् कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयहरु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट