PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


प्रधानमन्त्री ओलीको घरमा देउसी


किशोर नेपाल

प्रधानमन्त्री ओलीको घरमा देउसी

  • किशोर नेपाल-

प्रधानमन्त्री केपी शर्मा ओली जसरी अकस्मात बिरामी भएका थिए त्यसरी नै स्वस्थ पनि भए। उनलाई विदेश लानु नपरेकोमा शुभचिन्तक र विपक्षी दुबैथरि खुसी भए। उनीहरुको खुसी देशको पैसा जोगिएकोमा थियो। विदेश लानु परेको भए सरकारी ढुकुटी घाटामा पर्ने थियो। प्रम ओलीले शिक्षण अस्पतालको मनमोहन केन्द्रमा उपचार गराएकोले यहीँका डाक्टरले जस पाए। नाम कमाउने मौका पाए। तर, प्रम ओली स्वस्थ भए पनि देशको जोस र ऊर्जा आफ्नै गतिमा फर्किएको छैन। किनभने, प्रम ओलीलाई डाक्टरहरुले काम गर्न दिएका छैनन्। अझै साता–दश दिन प्रधानमन्त्री आराम गर्नेछन्। यो बीचमा प्रम ओलीका शुभचिन्तकले देउसी गीत पनि सुनाउन पाउने छैनन्। बालकोट भए देउसी गाउन सजिलो थियो। अहिले त प्रम ओली बालुवाटारमा छन्।

धपेडी गर्नै नहुने मानिस उनी, प्रधानमन्त्री भए। प्रधानमन्त्री जस्तो महत्त्वपूर्ण पद छोड्ने कुरा आएन। प्रम ओली, बिचरा, प्रम हुनु अघिदेखि नै धपेडीमा छन्। कहिले संसदीय टिकट वितरणको धपेडी, कहिले माओवादीसँग एकताको धपेडी, कहिले के र कहिले के। पछिल्लो समय बामदेव गौतमले दिएको चिन्ताबारे सबै जानकार नै छन्। संसद्को चुनाव हारेपछि बामदेवलाई दिन कटाउनै गाह्रो भयो। उनलाई लाग्यो, जसरी भए पनि एकपटक संसदमा त उक्लिनै पर्छ। उनले विभिन्न तिकडमका बारेमा सोचे र चुनावमा बली दिनका लागि एउटा जखमले बोको तयार पारे। तर, कसो–कसो जितिसकेको चुनाव पनि हारियो। सामाजिक सञ्जाल र सक्कली पत्रकारितासँग त उनी डराएका थिएनन्। डर भयो पार्टी भित्रैको आन्तरिक द्वन्द्वको। एकदिनमा जुटेको सहमति, हेर्दाहेर्दै, एकै घण्टामा चकनाचुर भएपछि झुर भएन त?

वास्तवमा, बामदेव गौतम प्रम ओलीको चिन्ता होइनन्। उनी प्रम ओलीका समानान्तर अध्यक्ष प्रचण्डको भागमा परेका चिन्ता हुन्। प्रम ओली माओवादी नेता नारायणकाजीको चिन्तामा छन्। संसदमा उनी भएको खण्डमा प्रचण्डको पुच्छर उनैले निमोठी रहन्छन्। यता, बामदेवको शील–स्वभाव जानेका प्रम ओली उनलाई आफ्नो कब्जामा राखेर ढुक्कसँग काम गर्न सक्दछन्। अथवा, उनलाई भेरीको डाइभर्सन बनेपछि बबईमा थपिने पानीको सप्लाईका लागि आयोग गठन गरेर त्यसैमा थन्क्याउन सक्छन्। यसो भयो भने उनले किसानको नाममा प्रतिपक्षी कांग्रेसलाई थर्काउने मौका पाउनेछन्। पार्टीको उप–महासचिव भएका बेला उनले कांग्रेस र राप्रपालाई खाल्डोमा पुर्ने राम्रो योजना बनाएका थिए। तत्कालीन सरकारहरुको आयुको भरोसा हुँदैन थियो। त्यसैले नहरको निर्माण नसकिँदै सरकारको घाम डुब्यो। प्रतिपक्षीहरूलाई खाल्डोमा हाल्ने बामदेवको योजना धराशायी भयो। अहिले चाहिँ, बामदेव चुनाव लड्न चाहेको बर्दियाका जनताले नै उनको मुख नहेर्ने मन बनाएका रहेछन्। बर्दियाले घ्यू ख्वाएर पालेको नेता लुसुक्क लागेछन् प्युठानतिर। चुनाव जित्ने नियतले उनी फेरि बर्दिया फर्किन लागेको थाहा पाएपछि जनताले आफ्नो प्रतिक्रिया दिई हाले।

उहिले बामदेव गृहमन्त्री हुँदा भर्खरै विस्थापित प्रादेशिक मन्त्री केशव स्थापितसँग उनको आन्द्रा जोडिएको बताउँछन् त्यसबेलाका मानिसहरू। त्यति बेला सुन त कति आयो कति। अहिले आएका सुनमध्ये फेला परेको भनिएको ३३ किलो सुन पनि त्यत्तिकै हरायो। त्यो सुन कहाँ गयोरु न प्रम ओलीलाई थाहा छ, न भावी प्रम प्रचण्डलाई। अलिकति पक्कै थाह छ बादललाई। तर, मौसमी कारणले बादल नै कालो भएको छ। गोरे, खैरे, कैले –सुन अपराधीको नामको बिस्कुन लागे पनि अपराधी भेटिएका छैनन्। एउटा मारिए पनि अरू जीवित नै छन्।

प्रम ओलीको स्वास्थ्य अवस्था राम्रो भए पनि देशको अवस्था राम्रो छैन। बलात्कारपछि हत्या गरिएकी निर्मला काण्डमा अपराधी समात्न पुलिस असक्षम भएपछि प्रम ओलीले ठाडै भनिदिए, ती अपराधी समातिन १२ वर्ष पनि लाग्न सक्छ।

नेपाल कम्युनिस्ट पार्टीको अवस्था निश्चय पनि यसको विरोधी पार्टीको भन्दा सुगठित रहेको बताइन्छ। होला पनि। तर, चियापानको गफ सुन्दा यिनीहरु सरकारमा नभएको भए कांग्रेस झगडामा भएका बेला  यिनीहरु रगडामा हुन्थे भन्ने बुझ्न गाह्रो छैन। झगडा र रगडा शब्दका बीच कुनै सम्बन्ध भए झैँ त लाग्दैन। तर, यी दुबैथरि शब्द समानार्थी भएकोमा सन्देह छैन। कांग्रेसका सभापति तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको व्याख्या अनुसार, झगडा भुत्लाभुत्ली मात्रै हुन्छ। रगडाले रगेड्न थालेपछि मानिसको ज्यानै लिन्छ। यसको अनुभव तत्कालीन एमालेका नेताहरुलाई पक्कै थाहा छ।

हिजोआज प्रचण्डको अधिकांश समय चितवनमा बित्न थालेको बताउँछन् नेकपाका कार्यकर्ता। छोरी रेणु महानगरपालिकाकी मेयर भएकोले मात्र होइन आफैँ चितवनबाट संसदमा प्रवेश गरेकोले प्रचण्डको मोह बढेको हो। चितवनमा उनले प्रयास गर्दा धेरै विकास हुने र भरतपुर महानगर अन्ततः प्राधिकरणका रूपमा स्थापित हुने सम्भावनालाई चितवनका वुद्धिजीवीले इन्कार गरेका छैनन्। तर, प्रचण्ड यसरी आकस्मिक र नियमित रूपमा यहाँ आइरहँदा केही नेगेटिभ कुरा पनि सुनिएका छन्। खास गरेर, उनको कारकेडको अगाडि पर्ने मोटर र साइकलवालालाई समेत सुरक्षाकर्मीले कारबाही गर्न थालेका समाचार आइरहेका छन्। यस कारण पनि, भरतपुरवासीको भनाई छ, प्रचण्डले या त आफ्नो यात्रामा लगाम लगाउनु पर्दछ, या आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई बुझिने गरी सम्झाउनु पर्दछ।

प्रम ओलीको अस्वस्थ्यतापछि नेकपा नेताहरु झस्किएका छन्। ओलीले आफ्नो शारीरिक क्षमता चुकेको कुरा बताउने पहिलो नेता त प्रचण्ड नै हुन्। उता माधव नेपालजी गुर्राएका छन्। बरु, झलनाथजी ठिकै छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलको महत्वाकांक्षा चुलिएको छ। प्रम ओलीका आफ्नो चयनमा पर्ने मानिस पनि छन्। जस्तो कि, सुवास नेम्वाङ। उनी हेर्दा सरल छन्। तर, एक नम्बरका कानूनची हुन्। प्रम ओलीले सुवासका निम्ति धर्म छाडेनन् भने नेकपाको राजनीति कचल्टिनेछ। सुवास जतिसुकै चतुर भए पनि उनले पार्टीलाई अहिलेको जस्तो नेपाल कम्युनिस्ट पार्टीका रुपमा अक्षुण्ण राख्न सक्दैनन्। त्यो सक्ने प्रचण्ड नै हुन जो अहिले त्यागका प्रतिमूर्ति बनेका छन्। उनी प्रम ओलीका पाइला पछ्याउँदैछन्। बीचबीचमा उनी करेक्सन पनि गर्दैछन्। उनले अहिलेको समयलाई आफ्नो अहिलेको अवतारको विघटन र आगामी अवतारको संगठन निर्माणमा लगाएका छन्। अध्यक्ष प्रचण्डका लागि यो पहल निकै फलदायी साबित हुनेछ।

अध्यक्ष प्रचण्डको हकमा जाने धेरै कुरा यस्ता छन् जसलाई कसैले काट्न सक्दैनन्। भन्नेले उनलाई भारतको एजेन्ट, रअ’को दलाल, भारतीय विस्तारवादका पिट्ठू लगायतका शब्दहरुले विभूषित गर्दछन्। जसले जे भने पनि, प्रचण्ड यस्ता पात्र हुन् जो नेपालमा गणतन्त्र स्थापनाको निमित्त बन्यो। उनको नेतृत्वमा संगठित “¥यागट्याग” आर्मीले नेपालको सुगठित शाही सेनालाई बृहत् शान्ति सम्झौताको टेबुलमा ल्यायो।

जनयुद्धकालमा मानिस मारिए। साँचो हो। तर, कुन युद्ध र आन्दोलनमा मानिस मरेका छैनन्? खाली स्वप्नशील कुरा गरेर हुँदैन। एक दशक अगाडि, माओवादीसँग बृहत् शान्ति सम्झौता नभएको भए नेपालको हुर्मत अहिले जति पनि रहने थिएन। यो सत्य हो। अहिले देश दुनियाँबारे केही थाहा नपाएका मानिसहरू उफ्रिइरहेका छन्। जसले त्यो समयको वीभत्सतालाई नजिकबाट नियाल्यो त्यसलाई थाहा छ परिवार र आफन्त गुमाउनुको पीडा भन्दा पनि चर्को पीडा के हुन्छ?

प्रचण्ड चाहँदैनन् कि नेपाल कम्युनिस्ट पार्टीको बिचल्ली होस्। उनलाई थाहा छ, सहकार्य र सहमतिको जतिसुकै कुरा गरे पनि, कांग्रेसीहरुसँग हात मिलाउनु सजिलो छैन। आफ्नो इतिहासका कारण कांग्रेस गर्विलो छ। कम्युनिस्टहरुले भने जस्तो उसले सधैँ शासन त गरेको छैन, तर लोकतन्त्रका लागि उठाएको दुःखका कारण पनि गर्विलो छ कांग्रेस। गुटबन्दीका कारण ध्वस्त हुन आँटेको कांग्रेससँग जे–जे भए पनि इतिहासको ज्ञान भए पनि भविष्यको ‘इनसाइट’छैन। गएको चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनलाई विभिन्न गुटमा विभाजित उनका कार्यकर्ताले टेरेनन्। आजको भोलि नै कांग्रेस गुटबन्दीको चंगुलबाट मुक्त हुने सम्भावना छैन।

समय शुभ देखिन्छ प्रचण्डका लागि। तर, उनी पनि विसंगत अवस्थाबाट मुक्त छैनन्। घटनाक्रम कसरी अगाडि बढ्छ? हेर्न बाँकी नै छ। अहिलेका लागि ढुक्क छ प्रम ओली आराममा छन्। उनी अब छठसम्म आराममा हुनेछन्। देउसेहरु बालुवाटारको गेटमा समसाँझै देउसी भट्याएर फर्किएका छन्। लोडसेडिङबाट मुक्त काठमाडौं झलमलाएको छ। बाँकी देश अन्धकारमा डुबेको छ।



प्रधानमन्त्री ओलीको घरमा देउसी को लागी १ प्रतिक्रिया(हरु)

Santosh [ 2018-11-07 09:03:10 ]
गनियका पत्रकारहरु समेत यस्ता बेकम्फुसे लेखमा रमाउन थाल्छन भने अरुको त के कुरा भो र !

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट