PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


दुई दशकअघि तयार भएको 'तिहारै आयो लौ झिलिमिली' यसरी बन्यो सदाबहार गीत


पहिलोपोस्ट

दुई दशकअघि तयार भएको 'तिहारै आयो लौ झिलिमिली' यसरी बन्यो सदाबहार गीत

'तिहारै आयो लौ झिलिमली...' यो गीत नबजेसम्म धेरैका लागि तिहारै सुरु हुँदैन। यो गीत कसरी बन्यो, यसबारे २०१७ अक्टोबर १९ मा प्रकाशित सामाग्री सान्दर्भिक भएकोले पुनः प्रकाशित गरिएको। 

फिल्मकी मुख्य पात्र सावित्री (गौरी मल्ल) आफूलाई मन परेको केटा राम (शिव श्रेष्ठ)लाई हेर्न आतुर हुन्छिन्। केही टाढा रहेको केटाको गाउँसम्म पुग्न भैलो गज्जब बहाना बन्छ। त्यस्तोमा सावित्री आफ्नो साथीहरुसँग भैलो खेल्दै खेल्दै रामको घरसम्म पुग्छिन्। साथीहरुसँग गाउँछिन् 'तिहारै आयो लौ झिलिमिली, ए सुन हजुर भैलिनी आइन् आँगन'।

सावित्रीले गाएको गीतले रामको मात्र हैन, स्रोताको मन पनि जित्यो। २० वर्ष यता यो गीत नबजी तिहार विशेष सांगीतिक कार्यक्रम पूर्ण लाग्दैन। 

यसरी बन्यो गीत

२०५४ सालमा प्रदर्शनमा आएको फिल्म 'स्वर्ग'को उक्त प्लटसँग मिल्दो गीत चाहिएको थियो। निर्देशक शम्भु प्रधानले स्क्रिप्ट सुनाएर कथा मिल्दो गीत लेख्न आग्रह गरेको सम्झन्छन् गीतकार यादव खरेल। भन्छन्,'गीतको भिडियोमा फिल्मको कथा पनि देखाउनु पर्ने थियो र गीतको शब्द सन्दर्भ मिल्दो पनि हुनपर्ने थियो। त्यस्तोमा पात्रहरुको अवस्था र तिहारलाई शब्दमा चित्रण गर्नु पर्ने भयो।' 

अहिलेको जस्तो गीत तयार राख्ने र रेडिमेड गीत निर्माता निर्देशकसँग पैसादेखि अनेक कुरा मिलेको खण्डमा बेच्ने चलन थिएन। गीतलाई साँच्चै 'कथाले माग्न' पर्थ्यो। लामो समयसम्मको गीतको लोकप्रियतालाई आधार मान्ने हो भने कथाले मागेको गीत दिन सफल भए खरेल। 
'तिहारको यो गीत त जति पुरानो भयो त्यति नै खोज्दैछन्। मेरै घरमा पनि भैलो खेल्न आउँछन्। त्यही गीत बजाउँछन्। नाच्छन्', निकै रमाइलो मानेर खरेल थप्छन्,'अहिलेको पुस्तालाई के थाहा, त्यो मैले लेखेको गीत हो भन्ने।' 

खरेलका अनुसार गीतले सांस्कृतिक महत्व बोक्छ, तिहारको माहौलको सजीव चित्रण गर्छ, फिल्मको कथासँग पनि भाव मिल्दो छ र नेपाली परम्पराहरुसँग जोडिएको संगीतको महत्वलाई पनि न्याय गरेको छ। 'त्यसैले त स्रोताको मन जित्यो। आम मान्छेलाई मन नपरी गीत सफल हुन्छ?', उनी प्रश्न गर्छन् र भन्छन्,'२० वर्ष यता आइपुग्दा यो गीत सुनेर तिहार मनाएका तीनवटा पुस्ता हुन्छन्।' 

प्रवासमा पनि गुन्जिने गीत

खरेल आफ्नो कुरा सुनाउँदै गर्दा थप खुशी त तब देखिए जब दार्जिलिङ सिक्किममा पनि 'तिहारै आयो लौ झिलिमिली' भन्ने गीत टोल-टोलमा घन्किएको सुनेँ। भानुभक्तको मूर्ति स्थापनाको लागि प्रयास भैराख्दा केही साहित्यकारसँग उनी दार्जिलिङ पुगेका थिए। त्यसरी आफ्नो गीत फैलिएको देख्दा उनले आफ्नो गीत सफल भएको स्वीकारे। 'देशभित्र बाहेक नेपाली भाषा बुझ्ने हरेक स्रोताले आफ्नो गीत रुचाउनु जति खुशी एउटा श्रष्टाको लागि अरु के हुन सक्छ?' 

हुन पनि २० वर्ष भयो गीत सार्वजनिक भएको। कुनै पनि नेपाली फिल्मको गीत यति लामो समयसम्म हरेक वर्ष खोजिन्छन् भने त्यो कि कन्यादान फिल्मको 'तीजको रहर आयो बरी लै' हो, कि स्वर्ग फिल्मको 'तिहारै आयो लौ झिलिमिली' हो। 

गीतको बीचमा एउटा लाइन छ। भैलो खेल्न आएकाहरुले भन्छन् 'टाढाका हामी धाएर आयौं, हाम्रो त घर हो गैरीगाउँ, मनका धनी रैनछन् यहाँ, हिँड है साथी फर्की जाउँ'। 

यो लाइन सुनेर खरेल सोच्छन्- यति रमाइलो गीतमा पनि यसरी गुनासोको भाव व्यक्त गरेको छु। संस्कृतिको पाटोबाट पृथक राख्न आवश्यक थियो र भन्ने लाग्छ। जवाफ गीतैमा छ। तिनै शब्दहरुले त गीतलाई आम मान्छेको भावनात्मक पाटोसँग जोड्छ। 'गीत सार्वजनिक हुनुअघिसम्म मेरो थियो। जसरी चाहन्थेँ, खेलाउन पाएँ। सार्वजनिक भएपछि त्यो गीत स्रोताको भयो। धन्न उहाँहरुले जस्तो थियो त्यस्तो नै रुचाउनु भयो।'

गीत लेख्दाको स्मृतिहरु धेरै ताजा छैन। तर उनले एक दुई बसाईमै गीत लेखेर सक्काएका थिए। गीतको लागि संगीत दिएका संगीतकार शम्भुजित बास्कोटासँग छलफल गर्दै लेखेको बताउँछन्। भन्छन्,'गीत राम्रो बनाउन मैले लेख्ने काम सक्यो भनेर छोडिनँ। शम्भुजितले मैले संगीत भर्ने त हो नि भनेर एक्लै काम गरेन। सल्लाह गर्‍यौँ। एकअर्कालाई हुन सक्ने सहयोग पनि गर्‍यौँ।'
 

संगीत यसरी सजियो

धर्म, संस्कृति, परम्परा, प्रकृति र भावनाको आवरणलाई 'भिजुलाइज' गर्ने शब्दहरु तयार गरे यादव खरेलले र संगीतकारले ती शब्दलाई सजाइदिए। संगीत भर्न भने शम्भुजित बास्कोटाले निकै मिहेनत गरे। भन्छन्,'मैले त्यो गीतका लागि निकै तल्लिन भएर काम गरें। किनकि त्यसअघि भैलो, देउसी खेलेपनि त्यसरी पूरै पर्व चित्रण गर्ने गीत लेखिएको थिएन। त्यो गीतको शब्दमात्र पढ्दा पनि यो गीत रुचाइन्छ भन्ने लागेको थियो र शब्दलाई श्रृङ्गार्न तिर लागें।'

शम्भुजित बास्कोटाले भने गीतको चर्चा हुन्छ भन्ने पहिले नै अनुमान गरेका थिए। यति लामो समयसम्म चलिरहनुले निकै आनन्द दिने बताउँछन्। गीतलाई श्रृङ्गारेका पक्कै बास्कोटाले हो। गीतको लागि मौलिक बाजाहरुको प्रयोगसहित संगीत मात्र दिएनन्। उनले गीतको बीचमा 'मेरो हजुर नजाऊ लाहुर, नेपालमा पाइन्छ जागिर' जस्ता लोकभाकाको प्रयोग गरेर थप मिठास भरे। दु:ख भट्टाएर मात्र देउसी, भैलो हुँदैन। भैलोमा खुशीको गीत पनि गाइन्छ, नाच्न पनि मिल्ने भन्ने विश्वास स्थापनामा पनि यो गीतले भूमिका निर्वाह गरेको शम्भुजित बास्कोटाको विश्वास छ। 

गीतमा स्वर लोचन भट्टराई र नूतन प्रधानले दिएका छन्। नेपाली संगीत क्षेत्रले डिजिटल प्रविधि पाउन सुरु गरेको सुरुवाती दिन थियो। त्यसैले गीतको रेकर्डिङ सहज भने रहेन। शम्भुजित भन्छन्,'उत्कृष्ट गायिका लोचन भट्टराईले गीत गाउने भएपनि सहज भने भएन। किनकी यो गीतमा टोनहरु यति चाँडो बद्लिन्छन्। एकछिनमै बिस्तारै दु:खको कुरा गर्नुपर्छ र फेरि केही छिनमै नाच्ने भाका दिनुपर्छ।' त्यतिबेला म्युजिक नेपालमा रेकर्ड गरिएको थियो। पूरै डिजिटलाइज्ड त होइन तर प्रविधिको प्रयोग सुरु भैसकेको हुनाले गीत रेकर्डिङ पछिको कामहरु गाह्रो नभएको उनको अनुभव छ। 'त्यो भन्दा केही वर्ष अघि त दिल्लीमा सबै काम सकेर नेपालमा त गीत बजाउन मात्र ल्याउने गरिन्थ्यो।' 
गीत गाउने, रेकर्ड गराउने, बजाउने विकल्पाहरु बढ्दै गए। गीतहरु पनि धेरै सार्वजनिक भए। तर तिहारै आयो लौ झिलिमिलीलाई विस्थापित गर्ने तिहार विशेष गीत सार्वजनिक भएन। 

१० रात लगाएर सुटिङ

गीतको भिडियोको छुट्टै महत्व छ। फिल्मको सिङ्गो प्लट हो 'तिहारै आयो लौ झिलिमिली'को भिडियो। जसमा सावित्री बनेकी गौरी मल्ल भैली खेल्न आफ्नो घरमा आउँदा राम बनेका शिव श्रेष्ठले आमालाई देखाउँछ। र त्यही दृश्य पछि उनीहरुको विवाह तय हुन्छ। उक्त भिडियो खिच्न ९/१० रात लागेको सुनाउँछिन् अभिनेत्री गौरी मल्ल। 'मलाई चिसोले छोइहाल्ने। जाडोको समयमा सुट गरेकोले धेरै नै चिसो हुन्थ्यो। मलाई त ज्वरो आइ हाल्यो। बिरामी अवस्थामै पनि नाचें। अहिले त्यही भिडियो हेर्दा निकै रमाइलो लाग्छ।' 



भक्तपुरको चाँगुनारायण मन्दिर जाने गाउँमा खिचिएको गीतको भिडियोसँग निकै रोचक यादहरु रहेको सम्झन्छिन् गौरी। बिहान ३/४ बजे छायाङ्कन सकाएर फर्कँदा बाटो नदेख्ने, कोही लड्ने, जाडोले कक्रने। 'फिल्म हेर्दा त राम्रो लाग्यो तर साँच्चै दु:ख गरेर खिचिएको थियो।' गीतको नृत्य निर्देशन वसन्त श्रेष्ठले गरेका हुन्। 

त्यस समय युटयुब, टिभी सहज थिएन। त्यसैले फिल्म रिलिजअघि गीत सुनिनु, गीतले फिल्मको प्रचारमा उस्तो धेरै योगदान पुर्याुउनु सम्भव थिएन। तर रेडियो नेपालमा गीत सुनेको भरमा कुन फिल्मको गीत हो भनेर स्रोताले खोजेको मल्ललाई याद छ। 'हामीले अन्य फिल्मको अन्य गीत जस्तै सामान्य ढङ्गमा तयार गर्यौं। तर दर्शक, स्रोताको लागि त तिहारको उपहार पो भएको छ। अहिलेसम्मलाई।' 

तिहारमा नाच्ने भनेपछि यही गीत प्रायले सोच्छन्। अरु कुन गीत छ त? गौरी मल्ल आफैसँग प्रश्न गर्छिन्। हास्छिन् र बोल्छिन्,'यसरी अरु गीत नआउनु त निकै खुशीको कुरा पनि हो र केही दु:खको कुरा पनि। राम्रो गीत त आइरहनु पर्छ नि होइन?' 

बन्देज बिना स्वतन्त्र भएर गीत लेख्दा निकै आनन्द आउथ्यो तर पात्र परिवेश र कथासँग गीत लिंक गर्न पर्ने बाध्यताबीच गीत लेख्नुको मज्जा 'तिहारै आयो लौ झिलिमिली' ले दियो। 

 



दुई दशकअघि तयार भएको 'तिहारै आयो लौ झिलिमिली' यसरी बन्यो सदाबहार गीत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट