PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बैँकक भन्दै अमेरिका पुगेका मुख्यमन्त्री शेरधन राईको समाचार लेख्‍ने पत्रकार न्युयोर्कमा कुटिए, पुलिस केस फिर्ता लिन दबाब



विष्णुहरि घिमिरे

बैँकक भन्दै अमेरिका पुगेका मुख्यमन्त्री शेरधन राईको समाचार लेख्‍ने पत्रकार न्युयोर्कमा कुटिए, पुलिस केस फिर्ता लिन दबाब

न्युयाेर्क : उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका छन्। 
 
हाल न्यूयाेर्कमा रहेर पत्रकारिता गर्दै अाएका लाेकमणि राईले फेसबुक स्टाटस लेख्दै समाचार लेखेकै  विषयलाई लिएर अाफूलाई मुख्यमन्त्रीका सहयाेगीकाे साथीले कुटेको दावी गरेका छन्। 

राईले स्टाटसमा लेखेका छन्, 'नेपालकाे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकाे समाचार लेखेकाे विषयलाई लिएर उनका निकट सहयाेगी पारूहाङ राईका साेल्टी उमेश राईले अमेरिकामा मार्ने उद्देश्यले एक घण्टा अघि हमला गर्‍यो। कुन अस्पताल ल्यायाे थाहा छैन। अपराधीलाई कानुनकाे दायरामा ल्याउन सहयाेगकाे अपिल गर्दछु।'

नेपालमा रहँदा कान्तिपुर दैनिकमा कार्यरत लाेकमणि राई अहिले अमेरिकाबाट सञ्चालित बीअारटी नेपाल डट कममा सम्पादक छन्। अचानक अमेरिका अाएका मुख्यमन्त्री शेरधन राईलाई नेपाल अादिवासी जनजाति महासंघ अमेरिका र प्रवासी मन्चले न्यूयाेर्कमा स्वागत गरेका थिए। साेही विषयलाई लिएर राईले "पिएमलाई कालो झण्डा, सिएमलाई सम्मान " शीर्षकमा समाचार लेखेका थिए।

त्यसघि उनले मन्त्रिपरिषद्काे स्वीकृति बिना अमेरिका भ्रमणमा अाएकाे भन्दै अर्काे समाचार लेखेका थिए। राईले बीअारटी नेपालमा लेखेका थिए,
 

'निमित्त वाणिज्य दूत भट्टराईले प्रदेश एकका मुख्यमन्त्री राईलाई स्वागत गरेको बताए। ‘मुख्यमन्त्रीज्यू आउने भन्ने जानकारी पाएपछि स्वागत गर्न गएँ,’ उनले भने। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्डको ब्यांकक पुग्ने निर्णय मात्र भएको छ। ‘निजी भ्रमण भए पनि मुख्यमन्त्रीजस्तो मान्छे क्याबिनेटको निर्णय बिना अन्य देश जान मिल्दैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘यसरी बिना निर्णय अर्को देश भ्रमण गर्नु कूटनीतिक आचारसंहिता विपरीत छ।’

तर मुख्यमन्त्रीको सचिवालयले भने मन्त्रिपरिषद्को स्वीकृति बमोजिम जर्मनी हुँदै अमेरिका पुगेको दावी गरेको थियो। 



राईले बिहीबार राति तिहारकाे देउसी भैलाे कार्यक्रमकाे समाचार संकलन गर्न गएकाे बेला आफूमाथि उमेश राईले हातपात गरेकाे बताए।

'नेपाल किरात राइ एसाेसिएशन अमेरिकाले देउसी भैलाे कार्यक्रम राखेकाे थियाे। त्यसैकाे समाचार संकलनका लागि गएकाे थिएँ। हल बाहिर निस्किएकाे बेलामा खाेटाङ लिकुवा स्थायी घर भएका उमेशले जे पायाे त्यही समाचार लेख्ने भन्दै मुक्का हाने। त्यसपछि मैले पुलिस बाेलाएँ', उनले भने। 

न्युयाेर्कमा रहेका विभिन्न व्यक्तिहरूले अहिले अाफूलाई पुलिस केस फिर्ता लिन दबाब दिएकाे पनि राईले बताएका छन्।

'म भर्खर अस्पतालबाट घरतिर जाँदैछु, तर केही अगुवाले अस्पतालमा नै अाएर केस फिर्ता लिन दबाब दिएका छन्। अलि तनावमा छुु', उनले भने। 
स्थानीय प्रहरीले कुटपिट भएको पुष्टि गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell