PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


डाक्टर दासको बालुवाटारमा दोस्रो इन्ट्री : प्रम ओलीअघि पनि गरेका थिए अर्का प्रधानमन्त्रीको उपचार


सागर बुढाथोकी

डाक्टर दासको बालुवाटारमा दोस्रो इन्ट्री : प्रम ओलीअघि पनि गरेका थिए अर्का प्रधानमन्त्रीको उपचार

गत ८ गते डाक्टर सन्तकुमार दास शिक्षण अस्पतालमै व्यस्त थिए। त्यही बेला मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटाको फोन आयो।

'प्रधानमन्त्री ओली बिरामी छन्, तपाईँ बालुवाटार पुग्नुपर्‍यो। मैलै सबै कुरा व्यवस्था गरेको छु,' बास्कोटाले भने।

डाक्टर दासको लागि अप्रत्याशित अवसर थियो यो। मनमनै खुशी भए तर डर बढी। 'के भएछ त प्रधानमन्त्रीलाई?' मनमा डर बोकेर उत्सुक हुँदै उनी बालुवाटार पुगे।

बालुवाटारमा अर्का चिकित्सक डाक्टर दिलीप शर्मा पनि थिए। दासले स्वास्थ्य अवस्थाबारे जानकारी लिए। त्यसपछि जाँच गर्दा प्रम ओली स्वस्थ देखिए। सामान्य रुघाखोकी मात्रै थियो, उनमा।

स्वास्थ्यको ख्याल राख्न निर्देशन दिएर उनी फर्के। भाइरल 'इन्फेक्सन' भएकाले डराउनुपर्ने स्थिति थिएन। तै पनि, उनले अर्को दिन अस्पताल आएर एक्सरे गर्न निर्देशन दिए। 'रिस्क'बाट बच्न बाठो कदम थियो उनको त्यो।

भोलिपल्ट अपरान्ह ५ बजेतिर प्रम ओली अस्पताल पुगे। अस्पताल पुग्दा रुघाखोकी कम भएको थिएन। एक्सरे गरियो। रिपोर्ट देखियो - छातीमा 'इन्फेक्सन' छ। र, 'ओरल एन्टिबायोटिक्स'  खुवाएर बालुवाटार नै फर्काइयो। बालुवाटारमै उपचार गर्ने सल्लाह भएको थियो त्यति बेला।

आइतवार दिउँसो १ बजे डाक्टर दासलाई फेरि फोन आयो। उनी बालुवाटार पुगे। त्यतिबेला प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य थिएन। खोकी बढेको थियो, ज्वरो पनि त्यस्तै। घ्यार… घ्यार… भएर सास फेर्न गाह्रो भइसकेको थियो। तै पनि, बालुवाटारमै उपचार भयो।

समय घर्किँदै गएपछि प्रम ओलीको स्वास्थ्य थप बिग्रँदै गयो। रातको ११ बजेपछि बालुवाटारमा राखेर हुन्न भन्ने दासले बुझे। उनले त्यतिबेला मनमोहन सेन्टर महाराजगञ्ज लैजाने निर्णय गरे। मनमोहन सेन्टरका डाक्टर अरुण सायमिलाई बेड तयारी अवस्थामा राख्न फोन गरे। सायमि यता शिक्षण अस्पतालमा खटिए। उनले अस्पतालमा सबै बन्दोबस्त मिलाए।

त्यतिबेला निजी चिकित्सक डाक्टर दिव्या सिंह नेपालमा थिइनन्। प्रम ओलीको फोक्सोमा संक्रमण भएको कारण सबै जिम्मा दासको थाप्लोमा थियो। दासले भने, 'पहिलोपटक उहाँको उपचार गर्दै थिएँ। निजी चिकित्सक हुनुहुन्न्थ्यो। वास्तबमै म अत्तालिएको थिएँ। एउटा मात्रै रोग भएको मान्छे नभएकाले मलाई डर बढेको थियो।'

रातको १ बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएकी डाक्टर दिव्या सिंह सिधै बालुवाटार पुगिन्। डाक्टर दासले दिव्यालाई प्रम ओलीको स्वास्थ्य अवस्थाको बारेमा 'ब्रिफिङ' गरे। लगत्तै दिव्याले पनि अस्पताल लैजान सुझाइन्। साढे २ नबज्दै प्रम ओलीलाई मनमोहन सेन्टरमा पुर्याइयो। त्यसपछि दास ढुक्क भए।

प्रम ओलीलाई अस्पताल पुर्याउनुअघि नै फोक्सोमा संक्रमण भएको थियो। ज्वरो बढेको र खोकी लगातार चलेको थियो। मिर्गौला प्रत्यारोपण गरेका बिरामी भएकाले पनि दास डराएका थिए। डाक्टर दिव्या आएपछि भने उनले केही राहत महसुस गरेका थिए।

***

पाँच दिनको अस्पताल बसाईपछि प्रम ओली 'डिस्चार्ज' भइसकेका छन्। तर, दासले ओलीको रमाइलो मिजास भुल्न सकेका छैनन्। 

'बाहिर समाचार र सोसल मिडियामा चर्चा गरेको जस्तो हुनुहुन्न रै'छ उहाँ,' दास सम्झिन्छन्, 'एकदम पोजेटिभ 'एटिट्युड' भएको मान्छे, अस्पतालमा बस्दा नि देशको बारेमा कुरा गरिरहने।' 

दासका अनुसार एउटै रोग भएको मान्छेलाई धेरै रोग हुँदा उपचार गर्न गाह्रो हुन्छ। एउटा रोगको औषधिले अर्को रोगको औषधिलाई 'साइइफेक्ट' गर्छ। त्यसैले बिरामी र आफन्तको सहयोगबिना खुलेर उपचार गर्न नसकिने उनको कथन छ। भन्छन्, 'प्रम ओलीको सानो रोग हुँदै होइन तर उहाँहरुले हामीलाई नै विश्वास गरेर उपचार गराउनुभयो। बाहिर लान्छौ भनेर प्रेसर दिनुभएन। सोही कारण हामीले खुलेर उपचार गर्‍यौ।'

त्यसैले पनि उपचार गर्न सजिलो भएको दासको कथन छ। प्रम ओलीको उपचार गर्ने अवसर पाएर 'पोजेटिभ एटिट्युड' विकास भएको सुनाउँछन्। जस्तोसुकै गम्भीर अवस्थामा पनि हिम्मत नहार्ने बानीले प्रवाभित भएका छन्, उनी। भन्छन्, 'सामान्य मानिसले हाम्रो 'ट्रिटमेन्टमा' र अस्पतालमा प्रश्न गरिरहेको अवस्थामा उहाँले त्यसको जवाफ दिनु'भो।'
    
प्रम ओलीको स्वास्थ्य उपचार पहिलोपटक गरेका हुन् दासले। चारवर्षअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि उनको डाक्टरको टिममा थिए।  बालुवाटारमै गएर उपचार गरेका थिए कोइरालाको। त्यतिबेला अहिलेजस्तो मुख्य भूमिका थिएन। उनी आफैले 'डिसिजन' गर्नु पर्दैनथ्यो।  छातीको 'इन्फेक्सन' एक्सरे लगायतको रिपोर्ट हेर्ने जिम्मा उनकै थियो।  दासले भने,  'दुईजना प्रधानमन्त्रीको उपचार गरियो। दुवै जना एकदमै आत्मविश्वासी। पोजेटिभ एटिट्युड भएका र हामी डाक्टरहरुलाई विश्वास गर्ने।'

***

दास सामान्य परिवारमा जन्मिएका हुन्। गाउँकै सरकारी स्कुलबाट एसएलसी दिए। जिल्लाकै 'सेकण्ड टपर' भएका उनको हेल्थ असिटेन्ट पढ्ने चाहना थियो। चाहना पूरा गर्न काठमाडौं आए। तर, त्यही बेला हेल्थ एसिटेन्ट'को कोर्स बन्द भयो। निराश भएर अमृत साइन्स क्याम्पसमा भर्ना भए।

कोठा खोज्न एकदमै गाह्रो थियो, त्यतिखेर। जहाँ जाँदा पनि 'मर्सिया' लाई कोठा नदिने भन्थे। फोहोर र हल्ला गर्छ भन्दै कोठा दिन इन्कार गर्थे। मधेशीलाई हेर्ने दृष्टिकोण राम्रो थिएन। त्यतातिर ध्यान नदिइकन पढे उनले।

अहिले त्यो दृष्टिकोण बदलिएको महसुस गरेका छन् उनले।

साथीको संगत, नयाँ ठाँउ पहिलो वर्ष राम्रो पढ्न सकेनन्। रिजल्ट बिग्रियो। दासका बाले थर्काउँदै भने, 'तिमी साइन्स पढ्न नसक्ने रै'छौँ। अब आर्टस् पढ।'

बुवाको त्यो भनाइले उनलाई बिझायो। इख लिएर पढे। अर्को साल बुवाले थर्काउनै परेन। लगत्तै चिकित्साशास्त्र अध्ययन संस्थानको 'इन्ट्रान्स'को तयारी गरे। पहिलो पटकमै नाम निक्ल्यो। आइओएमबाटै एमबिबिएस सकाए। 

यो २०५२ सालको कुरा हो।

एमबिबिएस सक्नासाथ लोकसेवाको पास गरेर कोशी अञ्चल अस्पतालमा जागिरे भए। जागिर खाएको १६ महिना नबित्दै एमडी पढ्न 'इन्ट्रान्स'मा नाम निक्ल्यो। २ वर्ष नपुगी अध्ययन बिदा लिन नपाइने। पढ्न राजीनामा दिए।

सरकारी जागिरको 'क्रेज' छुट्टै थियो, त्यो बेला। त्यसमाथि डाक्टर। उनले सरकारी जागिर त्याग्ने 'दुस्साहस' गरे। उनको निर्णय धेरैले मन पराएका थिएनन्।

'डाक्टर पढ्ने हैसियत नभएको मान्छे छात्रवृत्तीमै एमबिबीएस सकाएका थिए। एमडी पनि छात्रवृतिमा पढ्न पाउँदा किन जागिर नत्याग्नु?'  त्यतिबेला उनको निर्णय मन नपराउनेलाई यस्तै जवाफ फर्काउँथे।

एमडी पढ्दापढ्दै फेरि लोकसेवा पास भए। भक्तपुर अस्पतालमा पोष्टिङ थियो। दुई दिन हाजिर गर्नासाथ शिक्षण अस्पतालमै काम गर्ने अफर आयो। उनले दोस्रो पटक फेरि सरकारी जागिरबाट राजीनामा दिए।

'मलाई डाक्टर बनाएकै आइओएमले हो, यहाँबाट अफर आउँदा म नाइँ कसरी भन्न सक्थेँ?,' उनले भने, 'भावनात्मक सम्बन्ध थियो आइओएमसँग। त्यसैले सरकारी जागिर त्यागेर आएँ।'

यो २०६४ सालको कुरा थियो।

मेडिसिन डिपार्टमेण्टमा लेक्चरको रुपमा काम गर्न थाले दास। विद्यार्थीलाई पढाउनुको साथै अस्पतालमा पनि काम गर्थे। छाती रोग विशेषज्ञ भए पनि छुट्टै विभाग थिएन। सुरुवाती चरणमा बाधाहरु धेरै थिए।

अहिले छुट्टै विभाग बनेको छ। रेस्पी मेडिसिन विभागको प्रमुख भएका छन्, उनी। छातीरोग विशेषज्ञ डाक्टरको रुपमा नामी छन्। उनको सँगसँगै अस्पतालको पनि 'ग्रोथ' भइरहेको छ। नयाँ नयाँ प्रविधि भित्रिएको छ। विपन्न वर्गका नागरिकलाई सेवा गर्न पाएका छन्। यसमै खुशी छन् उनी।

यो अवस्थामा आइपुग्नु आइओएमकै देन ठान्छन्। आइओएम नभएको भए डाक्टर बन्ने सपना पूरा नहुने सुनाउँछन्। 

***

दास छाती रोगको छुट्टै अस्पताल खोल्न चाहन्छन्। त्यो सपनाले निदाउन दिँदैन कहिलेकाहीँ। मुटु रोगको गंगालाल। मृर्गौलाको मानव अंग प्रत्यारोपण जस्तै छातीको पनि त्यस्तै अस्पताल भए धेरै मानिस अकालमै मर्नबाट बच्ने उनको कथन छ। भन्छन्, 'अहिले मुटुको भन्दा बढी छातीको बिरामी छन्। छुट्टै अस्पताल भए समस्या समाधान हुन्थ्यो।' 

नेताहरुले खुराफाती नगरेको भए त्यो सपना पूरा भइसक्थ्यो। नेताको स्वार्थकै कारण काठमाडौंमा बन्न लागेको छाती रोग अस्पतालको प्रोजेक्ट काठमाडौं बाहिर पुग्यो। काठमाडौंमा बनेको भए विशेषज्ञ डाक्टर हुन्थे। छाती रोगको केन्द्र बन्थ्यो। तर, अहिले एउटा हेल्थपोष्टको अवस्थामा लथालिंग भएको सुनाउँछन् उनी।

भन्छन्, 'छाती केन्द्रको आवश्यकता महसुस त सबैलाई भइसक्यो। अब त सरकारले केही गर्ला कि?'



डाक्टर दासको बालुवाटारमा दोस्रो इन्ट्री : प्रम ओलीअघि पनि गरेका थिए अर्का प्रधानमन्त्रीको उपचार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट