PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चार महिना भइसक्दा पनि बक्स अफिसमा अन्यौल : कुनै फिल्मले २३ करोड कमाएको रेकर्ड, कुनैले पाएन एक दिनको पनि डाटा 



स्वेच्छा राउत

चार महिना भइसक्दा पनि बक्स अफिसमा अन्यौल : कुनै फिल्मले २३ करोड कमाएको रेकर्ड, कुनैले पाएन एक दिनको पनि डाटा 

काठमाडौं :  फिल्म 'छक्का पञ्जा ३' ले बक्स अफिसमा आफ्नै पहिलो संस्करणको रेकर्ड ब्रेक भएको खबर सार्वजनिक भयो।  कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फेसबुकमार्फत फिल्मले १७ दिनमा १६ करोडको 'ग्रस कलेक्सन' गरेको जानकारी दिए, जुन रकम फिल्मको पहिलो भागको 'लाइफ टाइम कलेक्सन' थियो। 

फिल्म रिलिज भएको एक महिना बितिसक्दा फिल्मले २३ करोड माथिको व्यापार गरेको दाबी गर्छन् वितरक गोपालकाजी कायस्थ। भन्छन्, 'बक्स अफिसको डाटा हो। तल माथि हुँदैन।' 

उनले सिंगल थिएटरमा फिल्मलाई हिन्दी र इङ्लिस फिल्मले प्रभाव नपारेका कारण कलेक्सन राम्रो भएको जनाए। 'मल्टिप्लेक्समा मात्र हो दर्शक छरिएको', उनले अझै पनि फिल्मले राम्रो व्यापार गरिरहेको दाबी गरे। 

मिडियामा आएका डाटा शतप्रतिशत ठीक होइन : बोर्ड अध्यक्ष

चलचित्र विकास बोर्डकी अध्यक्ष नीकिता पौडेल भने मिडियामा दिइएका डाटा शत प्रतिशत ठीक नभएको बताउँछिन्।

नेपाली फिल्म इन्डस्ट्रीमा बक्स अफिस लागू भएको करिब ४ महिना पुग्न लाग्यो। बक्स अफिस सञ्चालनमा आएसँगै सार्वजनिक फिल्मको निर्माण युनिटले 'यति कमायो' भन्ने दाबी कम भएको थियो। तर, केही समय यता पुन: फिल्मको करोड संकलनको समाचार सार्वजनिक हुन थालेको छ। 

संकलित रकम बारे जानकारी फिल्म निर्माण युनिट वा वितरकले दिएको जानकारीका अनुसार सार्वजनिक गरिन्छ। किनकि बक्स अफिस सञ्चालन टिम वा चलचित्र विकास बोर्डसँग संकलन सार्वजनिक गर्ने अनुमति छैन।

साउन १ गते बक्स अफिस लागू गर्नु अघि भएको सहमतिमा निर्माताले चाहेको खण्डमा मात्र बक्स अफिस कलेक्सनको जानकारी दिन पाइने उल्लेख गरेको नीकिता पौडेलले बताइन्। भनिन्, 'हामीले कलेक्सन जानकारी दिन पाउँदैनौं। केही निर्माता डाटा सार्वजनिक गर्नुहुन्न। केहीले आफ्नो तरिकाको हिसाब देखाउनु हुन्छ।' 

बक्स अफिसबाट डाटा नै आउँदैन : निर्माता

यता फिल्म निर्माता माधव वाग्ले भने आफूलाई बक्स अफिसमार्फत कुनै पनि दिनको डाटा नआएको सुनाउँछन्। भन्छन्,'मिडियालाई जानकारी दिन पनि हामीलाई डाटा आउनु पर्‍यो नि', उनले भने,' बक्स अफिस नामको मात्र छ।' 

उनको निर्माण रहेको फिल्म 'चङ्गा चेट' कार्तिक १६ गतेदेखि प्रदर्शन भइरहेको छ। तर, दुई साता बित्दा पनि कलेक्सन जानकारी सहज नभएकोमा आक्रोशित सुनिन्छन्। उनका अनुसार चङ्गा चेटले हालसम्म काठमाडौं भित्रबाट ९४ लाख १० हजार र मोफसलमा ७२ हजार कमाएको छ। 'यो बक्स अफिसले दिएको डाटा होइन', उनले थपे। 

चङ्गा चेटसँग एकै दिन सार्वजनिक भएको फिल्म 'मालिका'को पनि बक्स अफिस रिपोर्ट प्राप्त नभएको निर्देशक एवं कलाकार रेखा थापाले जानकारी दिइन्। 

डाटा कलेक्सन इमेलमार्फत् हरेक सोको एक घण्टामा उपलब्ध हुने भनिए पनि रेखाले पहिलोपोस्टसँग भनिन्,'कलेक्सन कति भयो बुझ्न बाँकी छ।'
नीकिता पौडेल भने बक्स अफिसमा कुनैपनि किसिमको प्रविधिक समस्या नदेखिएको र हरेक फिल्म निर्माता एवं वितरकलाई डाटा नियमित पठाएको दावी गर्छिन्। 

नेपालका लागि बक्स अफिस व्यवस्थापक मनिष पण्डित भने हाल अमेरिकामा छन्। यसअघि उनले हरेक फिल्मका निर्मातालाई हरेक सो पछाडिको एक घण्टामा बक्स अफिस संकलन जानकारी निर्माण युनिटलाई दिने जनाएका थिए। तर बक्स अफिस लागू भएसँगै प्रदर्शनमा आएका फिल्म भैरे, बोबीका निर्माताले भने प्रविधिक समस्या झेल्नुपर्‍यो। हालसम्म रियल टाइम कलेक्सन भने हेर्न मिल्ने भएको छैन। 

क्युएफएक्सका सिइयोका रोशन अधिगा, क्युज सिनेमाका सुमित मैनालीले भने हलहरुबाट फिल्मको संकलित डाटा चलचित्र विकास बोर्डमा पठाएको जानकारी दिए। मैनालीले भने,'विकास बोर्डले फिल्म निर्माता, वितरकलाई दिएको छ छैन। यस बारे भने यथार्थ बुझ्न आवश्यक छ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell